close

रोबोटले मानव जनशक्ति विस्थापित गर्छ कि त्यसको अभाव पूर्ति ?

टेकपाना टेकपाना

भदौ २७, २०७९ ११:५९

रोबोटले मानव जनशक्ति विस्थापित गर्छ कि त्यसको अभाव पूर्ति ?

रूचिर शर्मा/-
केही समयअगाडि मात्र रोबोटको उदयले मानिसहरू बेरोजगार हुने अनुमान गरिएको थियो । यो विषयमा धेरै बहस र छलफल पनि चलिरहेको छ ।

यद्यपि सरोकारवालाहरू भने अहिले आएर विश्वको अर्थतन्त्रलाई जोगाउन रोबोटको उत्पादन छिटो छिटो गर्नुपर्ने तर्क राख्छन् ।

फाइनान्सियल टाइम्सम प्रकाशित एक लेख अनुसार अहिले विश्वभर कामदारको अभाव छ । बढ्दो कर्मचारीको अभावलाई सम्बोधन गर्न आधुनिक रोबोटहरूको आविष्कार गर्न आवश्यक रहेको उक्त लेखमा उल्लेख छ ।

यहाँ आएर रोबोटले मानव कामदारलाई विस्थापित गर्ने भन्दा पनि कामदारको अभाव भएकोले रोबोटको धेरै आवश्यक भएको लेखमा उल्लेख छ । विशेषगरी अमेरिका र बेलायतमा कामदारको अभाव इतिहासकै भन्दा उच्च रहेको छ ।

अमेरिकामा एक करोड १२ लाखको संख्यामा रोजगारी खुलाइएकोमा आवेदन दिने भने ५६ लाख मात्रै छन् । सन् १९५० पछिको यो सबैभन्दा ठूलो अन्तर हो ।

कोरोना महामारीको समयमा जागिर छोडेका लाखौं मानिसहरू अझै पनि काममा फर्किएका छैनन् । यो समस्या दिनानुदिन बढ्ने क्रममा छ । संसारमा १५ देखि ६४ वर्षको उमेरका मानिसहरूको संख्या कम हुँदा पनि कामदारको कमी भएको लेखमा उल्लेख छ ।

केही दशकदेखि थोरै ढिला बच्चा पाउने तथा थोरै बालबच्चा पाउने प्रवित्तिका कारण आजको दिनमा कामदारको कमी हुन गएको हो । काम गर्ने उमेरका मानिसको संख्या सबैभन्दा बढी चीन, जापान, जर्मनी र दक्षिण कोरियामा कम भएको देखिन्छ ।

यसले गर्दा अब रोबोटले मानिसलाई विस्थापित गर्नेभन्दा पनि मानिसको संसारको अर्थतन्त्र जोगाउन र कामदारको बजारलाई चलायमान बनाउन रोबोटको आवश्यकता हुने विश्वास लिइएको छ । अझ यिनै देशहरूले कामको लागि धेरै रोबोटहरू प्रयोग गर्न सुरु गरिसकेका छन् ।

जापानमा १० हजार कामदारलाई सहयोग गर्न ४०० रोबोट खटाउने गरिन्छ । चीनले रोबोट उत्पादन गर्ने कम्पनीहरूलाई सहुलियत दिएको छ र यो सहुलियत सन् २०३० सम्ममा २० प्रतिशतले बढाउने योजना पनि बनाइरहेको छ ।

यति गर्दागर्दै पनि केही अनुसन्धानकर्मीहरूले मानिसलाई रोबोट कामदारले कहिले पनि विस्थापित गर्न नसक्ने दाबी गरेको छ । सरकारले कामदारको संख्या बढाउन अन्य वैकल्पिक उपायहरू अपनाउन सक्छन् ।

जस्तो कि महिलालाई काममा फर्कन प्रोत्साहन गर्ने, एकभन्दा बढी जन्माउन प्रोत्साहन गर्ने, अन्य देशबाट कामदार ल्याउने लगायत अन्य उपायहरू छन् । तर यो सबै उपायले लामो समय लिनसक्छ । अथवा दिगो नहुन पनि सक्छ ।

यस्तोमा विद्यमान रोबोटले केही रोजगारीहरू साँच्चै नै विस्थापित गरिरहेको छ भने यसले केही नयाँ रोजगारी पनि उत्पादन गरको छ । जस्तै इन्धन सवारीले घोडसवार गर्ने चालको रोजगारी त विस्थापन गरिदियो, तर ट्याक्सी ड्राइभरको जागिर पैदा गर्यो ।

यसरी नै भोलिको दिनमा रोबोटले मानव कामदारलाई विस्थापित गर्ने भन्दा पनि नयाँ काम उत्पादन गर्न सक्छ । रोबोटले प्रत्यक्ष रुपमा प्रभाव पार्ने समूह भनेको मजदुरको समूह हो ।

तीनजना अथवा सो भन्दा बढीको मजदुरको समूहलाई एउटा रोबोटले विस्थापन गर्न सक्छ । तर यो धेरै पुरानो समयदेखि गरिँदै आएको अनुमान हो । विकासको गति कस्तो छ भन्ने कुराले पनि यस्ता अनुमानहरूलाई प्रभाव गर्दछ ।

सन् १९५० मा नै केही विज्ञहरूले तत्कालीन समयको २० वर्षपछि पूर्ण विकसित एआई कामदारहरू आउने अनुमान गरिसकेको थियो । यद्यपि अहिलेसम्म पनि विज्ञानले यसको परीक्षण नै गरिरहेको छ ।

विश्वमा घटिरहेको जन्मदरलाई आधार मान्ने हो भने आउने दिनहरूमा कामदारको भने निकै कमि हुनेवाला छ, जसले निम्त्याउने काम र कामदारबीचको अन्तरलाई रोबोटले मेटाउन सक्छ ।

(फाइनान्सियल टाइम्सबाट साभार)

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३