close

ठूलो सङ्ख्यामा वैज्ञानिक, प्राविधिक र विद्यार्थीलाई अनुदान तथा फेलोशिप दिँदै नास्ट, कसरी दिने आवेदन ?

टेकपाना टेकपाना

असोज ९, २०७९ २०:२७

ठूलो सङ्ख्यामा वैज्ञानिक, प्राविधिक र विद्यार्थीलाई अनुदान तथा फेलोशिप दिँदै नास्ट, कसरी दिने आवेदन ?

 

काठमाडाैं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले विद्यावारिधि शाेधवृत्ति, छात्रवृत्ति अनुदान र अनुसन्धान वृत्ति उपलब्ध गराउने भएको छ । नास्टले एक सूचना प्रकाशित गर्दै फेलोशिप र अनुदानका लागि आवेदन आव्हान गरेकाे हो ।

नास्टले विद्यावारिधि शाेधवृत्ति, अनुसन्धान अनुदान, स्नातकाेत्तर  शाेध कार्य अनुसन्धान अनुदान लगायत अन्य ८ प्रकारका वृत्ति प्रदान गरिने जनाएको छ । उक्त वृत्तिका लागि आवेदन दिनेहरू मध्येबाट उत्कृष्टलाई छनौट गरिने बताइएको छ । 

विद्यावारिधी शोधवृत्ति

विद्यावारिधी शोधवृत्तिका लागि नेपालका विश्वविद्यालयमा विज्ञान तथा प्रविधिको क्षेत्रमा विद्यावारिधि गर्न नाम दर्ता गराई शोधकार्य गरिरहेका शोधार्थीहरूले प्रस्ताव सहित आवदेन दिन सक्नेछन् । आवेदक पुरुषका लागि ४२ वर्ष र महिलाका लागि ४५ वर्ष उमेर ननाघेको हुनुपर्नेछ ।

छनौट भएका उम्मेदवारलाई नास्टको कार्यविधि अनुसार शोधवृत्ति छात्रवृत्तिको रूपमा प्रदान गरिनेछ । विद्यावारिधि शोध कार्य अनिवार्य ३ वर्षभित्र सम्पन्न गर्नुपर्ने नास्टको सर्त छ ।

अनुसन्धान अनुदान (Research Grant)

सामान्य अनुदान (Small Grant) को रूपमा अनुसन्धान अनुदान उपलब्ध गराइने उल्लेख छ । अनुसन्धान अनुदानका लागि विज्ञान तथा प्रविधि क्षेत्रको अनुसन्धानमा लागेका वा कार्यरत व्यक्ति, विभागीय वा संस्थागत निकायहरूले प्रस्ताव दिन सक्ने नास्टले बताएको छ ।

अनुसन्धान प्रस्ताव नतिजामुखी हुनुपर्नेछ । चालु आर्थिक वर्ष २०७९/०८० को जेठसम्म सम्पन्न गर्नेगरी पेश हुन आउने प्रस्तावहरूलाई प्राथमिकता दिइने बताइएको छ । यसका लागि आवेदकको न्युनतम योग्यता कुनै एक विषयमा एमएससी तथा मास्टर्स अफ इन्जिनियरिङ गरेको हुनुपर्नेछ । छनौट भएका प्रस्तावका लागि अनुदान रकम बढीमा दुई किस्तामा दुई लाख रूपैयाँसम्म प्रदान गरिनेछ ।

स्नातकोत्तर शोध कार्य अनुदान (Master Thesis Grant)

त्यस्तै कृषि, जैविक प्रविधि, वनस्पतिशास्त्र, रसायन शास्त्र, ऊर्जा, वातावरण, इन्जिनियरिङ, वन विज्ञान, भूगर्वशास्त्र, सूचना तथा सञ्चार प्रविधि, गणित, चिकित्साशास्त्र, सूक्ष्म जीव विज्ञान, जलवायु विज्ञान, भौतिकशास्त्र, एष्ट्रोनोमी, प्राणीशास्त्र, खाद्य प्रविधि, जनस्वास्थ्य, आयुर्वेद विज्ञान, सहरी विकास योजना विषयमा स्नातकोत्तर शोध (मास्टर थेसिस) सुरु गरेका तथा २०७९/०८० को जेठ मसान्तसम्म सम्पन्न गर्ने शोधकर्ताहरूले स्नातकोत्तर शोध कार्य अनुसन्धानका लागि आवेदन दिन सक्नेछन् ।

त्यसका लागि आफ्नो शोधको शीर्षक, सुपरीवेक्षकको नाम र सम्बन्धित क्याम्पस वा विभागको सिफारिस सहित आवेदन पेश गर्नुपर्नेछ । यसमा छनौट भएका शोध प्रस्तावलाई दुई किस्तामा जनही ४० हजार रुपैयाँ प्रदान गरिनेछ ।

नास्टको प्रयोगशालामा गरिने स्नातकोत्तर शोध कार्य​

नास्टमा भइरहेका अनुसन्धानसँग सम्बन्धित र त्यहाँ कार्यरत वैज्ञानिक एवम् प्राविधिज्ञको संयुक्त सुपरीवेक्षणको आधारमा स्नातकोत्तर शोध कार्य गर्न इच्छुक शोधार्थीहरूले आफ्नो विश्वविद्यालय वा विभाग स्थित सुपरीवेक्षकको सिफारिस तथा सहमतिपत्र सहित आवेदन दिनुपर्नेछ ।  छनौट भएका शोध प्रस्तावलाई जनही बढीमा २५ हजार रुपैयाँसम्म प्रदान गरिनेछ ।

फेलोशिप तथा असिस्टेन्ट फेलोशिप

यति मात्र नभएर नास्टले बोटानी, बायोटेक्नोलोजी, केमेस्ट्री, वातावरण विज्ञान, माइक्रो बायोलोजी र फिजिक्स विषयमा स्नातकोत्तर वा सो सरह प्रथम श्रेणी उत्तीर्ण गरेका अनुसन्धानमा गहिरो अभिरूचि भएका प्रतिभाहरूलाई विज्ञान संकाय अन्तर्गतका अनुसन्धान कार्यमा संलग्न गराउनेछ ।

यस बाहेक वातावरण तथा ऊर्जा इन्जिनियरिङ र भौतिक विज्ञान तथा इन्जिनियरिङ विषयमा स्नातकोत्तर वा सो सरह उत्तीर्ण गरेका अनुसन्धान तथा प्रविधि विकासमा गहिरो अभिरुचि भएका प्रतिभाहरूलाई प्रविधि संकाय अन्तर्गतको अनुसन्धान तथा प्रविधि विकास कार्यमा फेलोशिप प्रदान गरिनेछ ।

यस्तो वृत्तिका लागि समेत नास्टले आवेदन माग गरेको छ । त्यस्तै बायोटेक्नोलोजी, केमेस्ट्री, वातावरण विज्ञान र माइक्रोबायोलोजी विषयमा स्नातकोत्तर वा सोसरह प्रथम श्रेणीमा उत्तीर्ण गरेका प्रतिभाहरूलाई विज्ञान संकाय अन्तर्गतको अनुसन्धानमा संलग्न गराइनेछ ।

यो वृत्तिका लागि समेत आवेदन आह्वान गरिएको छ । यसका साथै मेकानिकल इन्जिनियरिङ, अटोमोबाइल इन्जिनियरिङ, केमिकल इन्जिनियरिङ, इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ र आईसीटी तथा कम्प्युटर इन्जिनियरिङमा स्नातक वा सोसरह उत्तीर्ण गरेका प्रतिभाहरूलाई प्रविधि संकाय अन्तर्गत अनुसन्धान तथा प्रविधि विकास सम्बन्धी कार्यमा संलग्न गराइनेछ । यी वृत्तिका लागि इच्छुक प्रतिभाहरूले २०८० असार मसान्तसम्मका लागि प्रदान गरिने वृत्तिका लागि आवेदन दिन सक्नेछन् ।

वैज्ञानिक सहकार्य कार्यक्रम

त्यस्तै इच्छुक विज्ञान तथा प्रविधिसँग सम्बन्धित सरकारी, गैरसरकारी, पेशागत सङ्घ संस्था, शैक्षिक तथा व्यवसायिक सङ्घ संस्थाबाट नास्टले सहकार्यका आधारमा सञ्चालन गर्न सकिने नवप्रवर्तन, वैज्ञानिक अनुसन्धानात्मक एवम् प्रवर्द्धनात्मक कार्यक्रमहरूको प्रस्ताव समेत माग गरेको छ ।

विशेष प्रतिभा प्रवर्द्धन कार्यक्रम

साथै प्रविधि विकासको क्षेत्रमा क्रियाशील औपचारिक शैक्षिक योग्यता हासिल गर्न नसकेका वा औपचारिक शिक्षाबाट बञ्चित फरक क्षमता भएका वा कक्षा १२ सम्मको अध्ययन सम्पन्न गरेका र ४० वर्ष उमेर ननाघेका युवा प्रतिभाको प्रतिभा प्रवर्द्धन गर्ने कार्यक्रम समेत नास्टले ल्याएको छ ।

यसका लागि सञ्चालित विशेष प्रतिभा प्रवर्द्धन कार्यक्रमका लागि आफूले विकास गर्दै गरेका वा गर्न चाहेका जन-जीवन उपयोगी प्रविधि विकास सम्बन्धी प्रस्ताव पेश गर्न समेत आह्वान गरिएको छ । छनौट भएका प्रस्तावलाई बढीमा एक लाख रुपैयाँसम्म अनुदान प्रदान गरिनेछ । यसका लागि २०७९/०८० को जेठ मसान्तभित्र सम्पन्न गरिने प्रस्तावहरूलाई प्राथमिकता दिइने उल्लेख छ ।

ब्रेन पुलिङ कार्यक्रम

नास्टले "ब्रेन पुलिङ नेपाल कार्यक्रम" अन्तर्गत रहेर योगदान पुर्‍याउन इच्छुक वैज्ञानिक तथा प्राविधिज्ञहरूबाट बढीमा एक वर्षको अवधिभित्र सम्पन्न हुने नतिजामुलक अनुसन्धान आह्वान गरिएको छ । अनुन्धान प्रस्ताव पेश गर्दा नास्टको प्रयोगशालामा रहेर अनुसन्धान गर्ने वा अन्य वैज्ञानिक निकायमा रहेर अनुसन्धान गर्ने भन्ने कुरा स्पष्ट खुलाउनु पर्नेछ ।

नास्टमा रहेर कार्य गर्ने वैज्ञानिक तथा प्राविधिकलाई प्रस्ताव स्वीकृत भएअनुसार वृत्ति प्रदान गरी अनुसन्धान कार्यमा संलग्न गराइनेछ । अन्य निकायमा रहेर अनुसन्धान गर्न स्वीकृत प्रस्तावकलाई भने कार्यविधि अनुसारको अनुदान उपलब्ध गराइने नास्टले जनाएको छ । 

वृत्ति बारे थप जानकारीका लागि यहाँ र आवेदन दिनका लागि फारम डाउनलाेड गर्न यहाँ क्लिक गर्नुहोस् ।

 

पछिल्लो अध्यावधिक: असोज १०, २०७९ १६:१८