close

चन्द्रमामाथि भारतले रचेको इतिहासबाट नेपालले के सिक्ने ?

भदौ १३, २०८० १७:५१

चन्द्रमामाथि भारतले रचेको इतिहासबाट नेपालले के सिक्ने ?

 

डा रविन्द्र ढकाल


चन्द्रयान-३ को सफलताले भारतसँगै वैज्ञानिक जगत बधाईका पात्र बनेका छन् । मुख्य भूमिकामा भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (इसरो) भए पनि ६० वर्ष अघि विक्रम साराभाइको सपनाले भारतलाई यो सफलता दिलाएको हो । 

चन्द्रयान-३ र नेपालबारे थप कुरा गर्नु अघि भारतको सफलता पछाडिको कारण चर्चा गरौं ।

 

असफलता नै सफलताको आधार

भारतले चन्द्रयान परियोजना सन् २००३ बाट सुरु गर्‍यो । सन् २००८ मा प्रक्षेपण भएको चन्द्रयान-१ ले चन्द्रमामा पानीको सम्भावना भएको देखायो । तत्पश्चात् भारत चन्द्रयान-२ परियोजनामा लाग्यो ।

तर त्यो सफल हुन सकेन । यद्यपि भारतीय वैज्ञानिकहरूले उक्त परियोजनाबाट चन्द्रयान-३ लाई सफल अवतरण गराउने उपायहरू थाहा पाए । किनकी चन्द्रमासम्म यान पुगिसकेको थियो । 

केवल अवतरणमा समस्या थियो । अवतरणमा सफलता पाउन त्यही अनुसारको प्रविधि भारतले विकास गर्‍यो । हिजोको असफलता नै भारतको लागि बलियो पक्ष बन्यो  । 

 

राजनीतिक नेतृत्वको सहयोग

भारतले चन्द्रयान-३ मा सफलता पाउन प्रधानमन्त्री नरेन्द्र मोदीको वचन तथा सहयोग पनि महत्त्वपूर्ण छ । विज्ञानमा कोही मान्छे असफल भन्ने हुँदैन । ‍प्रयास गर्ने हो । 

त्यो प्रयास कुनै बेलामा खेर जान्छ । कुनै बेलामा सफल हुन्छ । सफल हुनुको अर्थ निरन्तर प्रयास गर्नु भन्ने हो । प्रधानमन्त्री मोदीले चन्द्रयान-२ असफल हुँदा वैज्ञानिकहरूलाई ढाडस दिए । हौसला दिए । 

प्रयास गर्न प्रोत्साहन गरे । कहिलेकाहीं असफल भएको बेला नेतृत्व तहबाट सहयोग आउँदा सफलता प्राप्त गर्न भूमिका खेल्दो रहेछ । 

 

लगानी

अहिले भारतमा सबैभन्दा सस्तो लगानीमा रकेट उडाउने गरिन्छ । अध्ययन तथा अनुसन्धान (आरएन्डडी) मा सबैभन्दा बढी लगानी गर्ने सूचिमा विश्वको चौथो राष्ट्र भारत बनेको छ । भारतले ६० को दशकदेखि हालसम्म यस क्षेत्रमा गरेको लगानीले सफलता हात पार्न भूमिका खेलेको हो ।

 

अन्तर्राष्ट्रिय सहकार्य

भारतले आफ्नो अन्तरिक्ष अभियानमा अमेरिकाको नासा, जापानको ज्याक्सा र रुसको रोजकोस्मोससँग सहकार्य गरेको छ । इसरोका धेरै वैज्ञानिकहरू नासा र ज्याक्सामा काम गरेका छन् । 

त्यहाँ प्राप्त गरेको ज्ञानलाई आफ्नो देशमा प्रयोग गरिरहेका छन् । ज्ञान भनेको अरूलाई दिंदा झन् बढ्ने कुरा हो । तर जापान अहिलेसम्म चन्द्रमा पुगेको छैन । 

यसको अर्थ भारतले आफ्नो प्रविधिमा घमन्ड गरेको छैन । विज्ञान तथा प्रविधिमा सहकार्य महत्त्वपूर्ण हुन्छ । यसबाट आफ्नो कमजोरी सुधार गर्न सकिन्छ । 

भारतको यो कदमले पनि चन्द्रयान-३ सफल पार्न भूमिका खेलेको छ । भारतको अभ्यासले अब्बल र विकसित देशसँग विज्ञानमा साझेदारी गर्नु पर्छ भन्ने देखाउँछ । 

 

विश्वविद्यालय र वैज्ञानिक संस्थाको स्थापना

भारतले विज्ञान तथा प्रविधिमा छलाङ मार्न थालेको आईआईटीको स्थापना पश्चात् हो । थेसिस गरेर थन्काएर मात्र हुँदैन भन्ने लागेर भारतले काउन्सिल अफ साइन्टिफिक एन्ड इन्डस्ट्रियल रिसर्च (सीएसआईआर), इन्डिया नेसनल साइन्स एकाडेमी (इन्सा) जस्ता संस्था बनायो । 

जसले उद्योगमा जोड्नु भन्दा पहिले पाइलटिङ गर्ने ठाउँ दियो । अध्ययन तथा अनुसन्धान कार्य भारतभर फैलियो । त्यहींबाट भारतको रूपान्तरण सुरु भएको हो । 

चन्द्रयान-३ को सफलतापछि भारतको उक्त कदम महत्त्वपूर्ण साबित भयो । अब चन्द्रयान-३ ले देखाएको भारतको अवस्थाबारे चर्चा गरौं;

अहिले भारत ’ब्रेन ड्रेन’बाट ‘ब्रेन गेन’को बाटोमा जाँदै छ । यसले भारतको आर एन्ड डी लगानी बढ्ने र वैज्ञानिकहरूले स्रोत पाउने अवस्था बन्छ । तर चन्द्रयान-३ बाट प्राप्त गर्ने वैज्ञानिक सफलता भारतको मात्र हुँदैन । 

त्यो सारा वैज्ञानिक र जगतका लागि हुन्छ । चन्द्रमा अझै पनि रहस्यमयी नै छ । त्यहाँ बहुमूल्य खनिज पदार्थ पाइन सक्छ । 

यसैले भारत लगायतका अन्य राष्ट्रहरू अन्तरिक्ष तर्फ मोडिएका हुन् । यसैका लागि भारतले चन्द्रयान-३ मा केमिकल कम्पोजिसन एनालाइसिस गर्ने डिभाइसहरू राखेर पठाइएको छ । अहिले भारतले अन्तरग्रह अभियान समेत थाल्न खोजिरहेको छ । 

भारतको लागि यो काम अन्वेषणात्मक तथा साहसिक छ । विज्ञानमा जसले पहिलो पटक सफलता पाउँछ, उसलाई मात्र पुरस्कृत गरिन्छ । कवितामा चौथो हुनेलाई सान्त्वना दिए जस्तो विज्ञानमा हुँदैन । जुन सफलता भारतले यस पटक प्राप्त गर्‍यो । 

 

नास्ट र इसरो

स्थापना भएको ४० वर्ष भइसके पनि नास्टले हालसम्म कूल मिलाएर तीन अर्ब ९७ करोड रुपैयाँ मात्र बजेट पाएको छ । इसरोको वार्षिक बजेट नै दुई खर्ब १९ अर्ब रुपैयाँभन्दा बढी छ । त्यस्तै इसरो र नास्टको एउटा साझा उद्देश्य अन्तरिक्ष मात्र हो । 

तर नास्टलाई त्यो मात्र गर्नु छैन । हामी चन्द्रमा मात्रै ताकेर बसेका छैनौं । हामीले नेपालभर अनुसन्धान गर्ने, नेपाली विश्वविद्यालयमा पढेकाहरूलाई सहयोग गर्ने, अनुसन्धान गर्न ठाउँ दिने जस्तो काम पनि गर्नु छ । 

४० वर्षको कूल बजेट त्यति भनेता पनि गत १० वर्षको मात्रै ५५ प्रतिशत हो । पछिल्लो १० वर्षदेखि नेपालले आर एन्ड डीमा लगानी बढाउँदै लगेको छ । पहिले अनुसन्धानका लागि एक हजार थियो । 

अहिले कुनैमा लाख, कुनैमा करोड छ । अहिलेको वर्ष नास्टसँग ४६ करोडको बजेट छ । तर अनुसन्धानमा गर्ने खर्च पनि बढ्दै छ । देश भित्रका आविष्कारकलाई सहयोग गर्न पाँच करोड रुपैयाँ पनि दिइएको छ । ‍कोरोना कालमा तीन करोड रुपैयाँ प्रयोग गर्दा ३१ ओटा उत्पादन बनेका थिए । 

अहिले नास्टले अभिरुचि सहितको लगानीको माग गरेको हो । भारतको सफलताले पनि‍ विज्ञानमा लगानी नगरेसम्म सफलता पाइँदैन भन्ने देखाएको छ । हाल विज्ञान तथा प्रविधिमा नेपालले आफ्नो कूल बजेटको ०.३५ प्रतिशत लगानी गरिरहेको छ । हामीले एक प्रतिशत मागेका छौं । यसको अर्थ विज्ञानमा लगानी पुगेन भन्ने नै हो ।

त्यस्तै लगानी दिएर वैज्ञानिकलाई स्वतन्त्र ढङ्गले काम गर्न दिऔं भन्ने नास्टको माग छ । यस्तो लगानीले मात्र प्रतिफल दिन सक्छ । 

 

नेपालको अन्तरिक्ष गतिविधि

नेपालले डेढ करोड रुपैयाँ लगानीमा ‘स्याट वन’ उडायो । यसको अर्थ डेढ करोडले जतिपनि स्याटलाइट बन्छ भन्ने होइन । स्याटलाइट बनाउन पूर्वाधार, जनशक्ति, नीति र लगानी चाहिन्छ । 

यी सबै विकासका लागि आवश्यक इकोसिस्टम अर्थात् पारिस्थितिक प्रणाली हुन् । जसका लागि लगानी, जनशक्ति र पूर्वाधारको थ्रेसहोल्ड निर्धारण गर्न आवश्यक छ ।

यसका लागि योजना बनाउने, सपना देख्ने र लक्ष्य निर्धारण गर्ने काम गर्नुपर्छ । हामीले उक्त थ्रेसहोल्ड पूरा नगरेसम्म ठ्याक्कै रूपान्तरण देख्न सक्दैनौं । 

रोलरकोस्टरमा निश्चित बल लगाए मात्र यात्रा पूरा हुन्छ ।‍ नत्र त एकै ठाउँमा मात्र अड्किएर बस्नु पर्छ । 

नास्टले राज्यसँग एकै पटक खर्बौं रुपैयाँ पनि मागेको होइन । त्यो सबै खर्च गर्नै सकिंदैन । तर राज्यले उद्देश्य तोक्नु पर्छ । यदि त्यसो गर्न नसके वैज्ञानिक कहाँ आउनु पर्छ । 

यदि त्यसो पनि गर्न नसके तिमीले केही पनि दिएनौं भनेर खारेज नै गरिदिए पनि हुन्छ । राज्यले त्यो पनि गरिरहेको छैन । किनकी देशलाई हरेक क्षेत्रको जनशक्ति आवश्यक पर्छ ।  

नास्टले भूउपग्रह निर्माण गर्दा दुई जना विद्यार्थीलाई विद्यावारिधि गरायो । उहाँहरूले विश्वविद्यालयको छात्रवृत्ति समेत पाउनु भयो । अहिले उहाँहरू नेपाल आएर थुप्रै जनशक्ति समेत उत्पादन गर्नु भएको छ । 

नेपालले पहिलो स्याटलाइटमा गरेको लगनीको कयौं गुणा फिर्ता पाएको छ । अब नेपालले चाँडै डाँफे र मुनाल नामक स्याटलाइट उडाउने छ ।  मुनाललाई सतिश धावन स्पेश सेन्टर (एसडीएससी) मा पुर्‍याइसकेका छौं । 

त्यसलाई भारतले निःशुल्क उडाइदिने भनेको छ । परीक्षणको सबै काम सकिएको छ । तर यो कुरो नेपालले पहिलो स्याटलाइट उडाएपछि मात्र आएको हो । त्यस्तै डाँफेका लागि पेलोड विकास गरिरहेका छौं । त्यसमा पनि अन्य देशसँग सहकार्य हुनेछ । यसकारण नास्ट सहयोग तथा सहकार्य चाहन्छ ।

नास्टमा विज्ञान र प्रविधि गरी दुई सङ्काय छन् । तर हामीले नास्टभित्र नै स्पेस रिसर्च सेन्टर ‍बनाइसकेका छौं । पर्याप्त जनशक्ति वा बजेट हुँदा मात्र यसले एउटा स्वतन्त्र निकायको रूपमा काम गर्न सक्छ । त्यसका लागि पनि हामी तयारी गर्दै छौं । 

राज्यले नास्टलाई प्राथमिकता निर्धारण गरेर यो यो काम पनि भनेको छैन । यहाँ हुनु भएका वैज्ञानिकहरूले आआफ्नो क्षेत्रमा काम गरिरहनु भएको छ । भविष्यमा उहाँहरूले आफ्नो अनुसन्धानको क्षेत्रलाई विभाग बनाउनु सक्नुहुन्छ । 

विभाग मात्र नभएर छुट्टै संस्था पनि बनाउन सक्नुहुन्छ । यसकारण प्राप्त बजेटको राम्रो कामका लागि सक्दो सदुपयोग गर्ने प्रयासमा नास्ट छ ।

अहिले नेपालको प्राथमिकता धुलो बाटोमा पिच गर्ने, खाद्यान्न पुर्‍याउने, सिचाइको व्यवस्था गर्ने जस्ता आधारभूत कुरा छन् । स्याटलाइट नै चाहिन्छ भन्ने जमात नेपालमा कति नै छ र ? जब भारतले उडायो, तब मात्र हाम्रो खोइ ‍भन्ने कुरा आयो । त्यसकारण ‘यो यो विकास भएको हेर्न पाऔं’ भन्ने जनता चाहिन्छन् । यसमा राजनीतिज्ञलाई मात्र आरोप लगाएर पन्छिन मिल्दैन । 

 

छिमेकीको सफलतामा नेपाल

नेपालको सीमा जोडिएका छिमेकी देशहरूले अन्तरिक्षमा सफलता पाइसकेका छन् । उनीहरूसँग सहकार्य गरेर नेपालले जनशक्ति विकास गर्न सक्छ । तर नेपालले आफैंले विज्ञानमा लगानी नगर्ने हो भने ‍अन्य राष्ट्रले सहयोग पनि गर्दैनन् । 

संसारले फड्को मार्दै जाँदा खरिद गरेका प्रविधि मात्रै प्रयोग गर्ने सोच बनायौं भने नेपालले न जनशक्ति विकास गर्न सक्छ, न ती प्रविधि प्रयोग गर्न सक्ने खुबी प्राप्त गर्छ । यसकारण ती प्रविधिमा अभ्यस्त र अपडेट हुन, विदेशी वैज्ञानिकसँग सहकार्य र सामीप्यता राख्न नेपाल स्वयंले त्यहीअनुसार पूर्वाधार विकास गर्नुपर्छ ।

कतिपयले भारतको सफलतापछि नेपालले किन केही गरिरहेको छैन भन्ने प्रश्न पनि सतहमा ल्याए । यसको उत्तर पाउन संसारको मानचित्रमा अर्थतन्त्र, विकास, विज्ञान, प्रविधिको कसिमा नेपालको अवस्था ‍हेर्नुपर्ने हुन्छ । जम्मा चार देशले मात्र चन्द्रमामा सफलता पाउन सकेका छन् । 

अझै १९६ देश चन्द्रमा पुगेका छैनन् । त्यसो हुँदा नेपाललाई के को हतार ? त्यस्तै १२ देशमा मात्र रकेट लञ्चिङ स्टेसन छन् । त्यसको अर्थ १८८ देशसँग छैन । रकेट लञ्च गर्न ती १२ देश रहेको स्थानमा जानै पर्छ । 

काठमाडौंबाट धरान जानु छ भने गाडी भन्दा पनि गाडीको टिकट किनिन्छ । हामीले गर्ने गतिविधि पनि त्यस्तै हुन् । तर हाम्रो राष्ट्रिय प्राथमिकता रकेट उडाउनु छ भने नसकिने भन्ने छैन । 

अनेकन् उपाय लगाएर भए पनि सकिन्छ । तर अहिलेको समयमा त्यसो गर्नु उपयुक्त हुँदैन 

 

अन्तरिक्ष र नेपालको प्राथमिकता

नेपालको अहिलेको प्राथमिकता अन्तरिक्ष होइन भनेर पनि ‍भन्न सकिन्न । आफ्नै स्याटलाइट बनाउने यात्रा चार वर्ष अघि नै सुरु भएको हो । नेपालले अहिले ब्रोडकास्टिङका लागि १/२ अर्ब रुपैयाँ वार्षिक रूपमा स्याटलाइटको पैसा तिर्छ । 

सरकारले गत वर्ष स्याटलाइटमा काम गर्न एक करोड बजेट दिएको थियो । अहिले नास्टसँग अन्तरिक्ष सम्बन्धी काम गर्न ५० लाख जति बजेट छ । जुन अन्य प्रयोगशालाको भन्दा बढी बजेट हो । मौसम पूर्वानुमान गर्न, ब्रोडकास्टिङको काम गर्न नेपाललाई आफ्नै भूउपग्रह चाहिन्छ । 

सरकारी सहयोग थप आयो भने यो काम झन् छिटो सकिन्छ । यसका लागि हामीले विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरूसँग सहकार्य गरिरहेका छौं । अहिले भारतको सफलताबाट नेपाल जस्तो विकासोन्मुख देश हर्षित हुनु पर्छ । उनीहरूको यात्राबाट केही सिक्नु पर्छ । 

त्यसपछि लक्ष्य निर्धारण गरेर माहोल बनाउनु पर्छ । यसरी निरन्तर लागिरह्यौं भने अवश्य सफल भइन्छ । तर अहिले अन्तरिक्षमा जानु मात्र ठूलो विषय होइन । त्यसबाट नेपालको समस्या समाधान गर्ने, स्रोत सदुपयोग गर्ने, नागरिकलाई सेवा दिने जस्ता एप्लिकेसन केन्द्रित स्याटलाइटमा काम गर्नुपर्छ ।  

 

(नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान-नास्टका सचिव तथा  निवर्तमान प्रविधि सङ्काय प्रमुख डा ढकालसँगको कुराकानीमा आधारित आलेख ।)

पछिल्लो अध्यावधिक: भदौ १३, २०८० १७:५१