close

लाइभ बसेर 'गिफ्ट' माग्ने प्रयोगकर्ता, नाफा कमाउने टिकटक

टेकपाना टेकपाना

असोज २७, २०७९ ८:२५

लाइभ बसेर 'गिफ्ट' माग्ने प्रयोगकर्ता, नाफा कमाउने टिकटक

काठमाडौं । सामाजिक सञ्जालको दुनियाँमा टिकटक अहिले चर्चित नाम हो । नयाँ आकर्षक फिचर, प्रयोग गर्न सहज युजर इन्टरफेस र कतिपयका लागि आम्दानीको स्रोत पनि भएकाले यसप्रति प्रयोगकर्ताको झुकाव बढी छ ।

यसो त टिकटकमा भिडिओ हालेको भरमा टिकटकबाट कुनै पनि आम्दानी गर्न सकिँदैन । उदाहरणका लागि युट्युबमा भिडिओ राख्दा त्यसमा विज्ञापन (एडसेन्स) लगाए बापत आम्दानी गर्न सकिन्छ । त्यस्तै फेसबुकले पनि क्रियटरलाई लक्षित गर्दै विज्ञापनबाट आम्दानी गर्न सकिने सुविधा ल्याएको छ । तर, टिकटक भने यी प्लेटफर्मभन्दा भिन्नै छ ।

क्रियटरले हालेको कन्टेन्ट जतिसुकै धेरै प्रयोगकर्तामाझ पुगेपनि क्रियटरले टिकटकबाट प्रत्यक्ष रूपमा आम्दानी गर्न सक्दैनन् । यसैलाई लक्षित गर्दै टिकटकले लाइभस्ट्रिममार्फत क्रियटरले आम्दानी गर्ने फिचर सार्वजनिक गरेको थियो ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यम बीबीसीले गरेको एक अनुसन्धान अनुसार टिकटकले प्रयोगकर्ताले टिकटकबाट गरेको आम्दानीको ७० प्रतिशत रकम आफूसँग राख्ने गरेको पाइएको छ । नेपालमा पनि टिकटकमा लाइभ बसेर रकम सहयोग (गिफ्ट) माग्नेको सङ्ख्या धेरै छ ।

विभिन्न देशमा रहेका शरणार्थी बालबालिकाहरू डिजिटल गिफ्ट पाउन घण्टौं लाइभस्ट्रिम गर्ने गर्छन् । जसलाई पछि क्याशमा परिणत गर्न सकिन्छ । बीबीसीले गरेको खोजी अनुसार उक्त प्लेटफर्ममा एक घण्टा लाइभ बस्दा ती बालबालिकाले घण्टामा १००० डलर (करिब एक लाख ३१ हजार ६७० रुपैयाँ) बराबरको गिफ्ट पाउने गर्छन् । तर, उनीहरूलाई त्यसको थोरै मात्र भाग जाने गर्छ ।

टिकटकले यसरी गिफ्ट माग्नेहरू विरुद्ध विभिन्न कार्य गरिरहेको बताएको छ । टिकटक भन्छ, "हाम्रो प्लेटफर्ममा यस्ता कन्टेन्ट बनाएर गिफ्ट माग्न अनुमति दिइएको छैन ।"

त्यस्तै टिकटकले आफूले डिजिटल गिफ्टबाट ७० प्रतिशतभन्दा कम कमिसन शुल्क लिने बताएको छ । यद्यपि टिकटकले कमिसनका रूपमा कति रकम लिन्छ भन्ने कुरा प्रस्ट छैन । यस वर्षको सुरुवातबाट नै टिकटक प्रयोगकर्ताले आफ्नो फिडमा सिरियन क्याम्पका विभिन्न परिवारले टिकटक लाइभमा दर्शकबाट सहयोग मागिरहेका कन्टेन्ट देखिरहेका छन् । जो पछिल्लो समय बढिरहेका छन् ।

दक्षिण-पश्चिम सिरियामा यसरी टिकटकमा लाइभ बसेर गिफ्ट माग्ने गिरोह नै रहेको बीबीसीले पत्ता लगाएको छ ।

आफूलाई 'टिकटक मिडलम्यान'का रूपमा परिचित रहेका गिरोहले विभिन्न परिवारलाई स्मार्टफोन र लाइभ बस्न आवश्यक पर्ने उपकरण दिँदै लाइभ बस्न प्रोत्साहन गरेको पाइएको छ । यहाँ मिडलम्यान भन्नाले एजेन्टलाई जनाइएको छ ।

ती एजेन्टहरूले आफू चीन र मध्यपूर्वमा रहेको टिकटकका मातहतको एजेन्सीसँग काम गर्ने गरेको बताएका छन् । यी एजेन्सीहरू लाइभस्ट्रिमलाई बढवा दिन र प्रयोगकर्तालाई टिकटकमा लामो समयसम्म संलग्न गराई राख्ने टिकटकको विश्वव्यापी रणनीतिमा आवद्ध छन् ।

टिकटकको एल्गोरिदमले प्रयोगकर्ताको नम्बरलाई आधार बनाई भौगोलिक रूपमा उनीहरूलाई उपयुक्त कन्टेन्ट सजेस्ट गर्ने गर्छ । त्यसैले ती एजेन्ट ब्रिटिश सिमकार्ड प्रयोग गर्न रुचाउँछन् ।

उनीहरूका अनुसार बेलायतका प्रयोगकर्ता उदार उपहारदाता भएकाले बेलायती सिम उनीहरूको रोजाइमा बढी पर्छ । मोना आलि अल-करिम आफ्ना छ जना छोरीहरूसँग सधैँजसो लाइभ जाने गर्छिन् । उनको दैनिकी भनेको नै टेन्टबाहिर वरपर छोरीहरू राखेर घण्टौंसम्म लाइभ बस्ने रहेको छ ।

उनी लाइभ बसेपछि केही थोरै अङ्ग्रेजी वाक्यांश बोल्ने गर्छन् । उनीहरू लगातार प्लिज लाइक, प्लिज शेयर, प्लिज गिफ्ट जस्ता वाक्य बोलिरहन्छन् ।

मोनाका पति हवाई आक्रमणमा मारिएका थिए । उनी टिकटकमा लाइभ बसेर दृष्टिविहीन छोरी शारिफाको अप्रेसनका लागि पैसा संकलन गर्ने गर्छिन् । भर्चुअल रूपमा अडियन्सले पठाउने गिफ्टका लागि उनीहरूले पनि टिकटकबाट गिफ्ट खरिद गरेको हुनुपर्छ ।

लाइभस्ट्रिममा अडियन्सले भर्चुअल गिफ्ट गुलाफ, चस्मा, हवाइ जहाज, सिंहका रूपमा पठाउने गर्छन्, जसमा भर्चुअल सिंहको मूल्य ५०० डलर (करिब ६५ हजार रुपैयाँ) पर्ने गर्छ ।

बीबीसीले यो अनुसन्धान गर्नका लागि करिब पाँच महिनासम्म ३० टिकटक प्रयोगकर्तालाई पछ्याएको थियो । जसले सिरियन क्याम्पबाट लाइभ गरिरहेका थिए । यसबाट कतिपय प्रयोगकर्ताले हरेक अकाउन्टलाई एक घण्टामा करिब १००० डलर बराबरको गिफ्ट पठाउने गरेको पाइएको थियो ।

उनीहरूले टिकटकमा गिफ्टका रूपमा त्यतिका रकम पाए पनि उनीहरूको हातमा त्यसको सानो अंश मात्र क्याशका रूपमा हातमा पर्ने गरेको बताएका छन् । टिकटकले यकिन रुपमा गिफ्टबाट कति रकम कमिसन लिन्छ भन्ने कुरा नखुलाएपछि बीबीसी आफैंले परीक्षण गर्ने निर्णय गर्‍यो ।

सिरियामा भएका बीबीसीका एक संवाददाताले टिकटकको माताहतको एजेन्सीलाई सम्पर्क गरेर आफू क्याम्पमा बस्ने गरेको कुरा बताए । उनलाई त्यो एजेन्सीले टिकटक अकाउन्ट उपलब्ध गरायो । उनलाई लन्डनमा रहेका बीबीसीका एक स्टाफले १०६ डलर बराबरको गिफ्ट पठाए ।

त्यसको अन्त्यमा संवाददाताको अकाउन्टमा जम्मा ३३ डलर मात्र रहेको थियो । यसबाट टिकटकले ६९ प्रतिशत गिफ्ट भ्यालु कमिसनका रूपमा आफूले राखेको पाइयो । त्यसमा पनि उक्त अकाउन्ट तथा डिभाइस उपलब्ध गराउने एजेन्टले ३३ प्रतिशत लिने रहेछन् ।

अन्तमा लाइभ बस्नेले जम्मा १९ डलर क्याशका रूपमा निकाल्न सक्ने रहेछन् । एक एजेन्ट हमिडले बीबीसीलाई बताए अनुसार उनले आफ्ना वस्तुभाउ बेचेर विभिन्न परिवारका लागि मोबाइल फोन, सिम कार्ड, वाई-फाई आदि उपलब्ध गराउने रहेछन् ।

अहिले हमिडले १२ परिवारलाई टिकटकमा लाइभ बसाउने गर्छन् । अन्य एजेन्ट जस्तो हमिडलाई पनि ति एजेन्सीले सहयोग गर्ने रहेछन् ।

उनी भन्छन्, "यदि एपमा केही समस्या आयो भने उनीहरू हामीलाई सहयोग गर्छन् । उनीहरू विशेषगरी ब्लक भएका अकाउन्ट अनब्लक गरेर हामीलाई सहयोग गर्छन् । हामी उनीहरूलाई पेजको नाम, प्रोफाइल फोटो उपलब्ध गराउँछौँ । त्यसपछि ती एजेन्सीले टिकटक अकाउन्ट बनाइदिने गर्छन् ।"

यस्ता एजेन्सीहरू विश्वभर नै फैलिएका छन्, जसले टिकटकसँग विभिन्न सर्तमा सम्झौता गरेका हुन्छन् । उनीहरूले नै लाइभस्ट्रिम गर्न आह्वान गर्ने तथा क्रियटर उत्पादन गर्न सहयोग गरेका हुन्छन् । त्यसो गरेबापत टिकटकले ति क्रियटरलाई कमिसन दिने गर्छ ।

टिकटकले भन्नलाई लाइभ गर्न न्यूनतम १००० फलोअर आवश्यक पर्ने बताएको छ । र अडियन्सबाट सोझै गिफ्ट नमाग्न अनुरोध गरेको बताएको छ । तर, बीबीसीले निगरानी गरेका ३० ओटा अकाउन्टमा बालबालिकाले पूर्ण रूपमा गिफ्ट मागिरहेका थिए ।

यसमा टिकटकले कुनै पनि नीति उलङ्घन गरेको आरोप लगाएको देखिँदैन । बीबीसीले यसबारे प्रतिक्रिया बुझ्न खोज्दा टिकटकले ती ३० ओटै अकाउन्टमा प्रतिबन्ध लगाएको थियो ।

पछिल्लो अध्यावधिक: असोज २७, २०७९ ८:२५