close

ह्वावे नेपालको ‘सिड्स फर द फ्युचर २०२२’ सम्पन्न

टेकपाना टेकपाना

कात्तिक १, २०७९ १७:४७

ह्वावे नेपालको ‘सिड्स फर द फ्युचर २०२२’ सम्पन्न

काठमाडाैं । ह्यावे नेपालकाे ‘सिड्स फर द फ्युचर २०२२’ सम्‍पन्न भएकाे छ । मंगलबार राजधानीमा एक कार्यकम गर्दै ह्यावे नेपालले याे कार्यक्रम औपचारिक रूपमा सम्पन्न भएको जानकारी दिएको हो ।

ह्यावेकाे काेर्पाेरेट साेसल रेस्पाेन्सिबिलिटी (सीएसआर) अन्तर्गत आयाेजना भएकाे यस कार्यक्रमका लागि देशभरबाट २५६ जना विद्यार्थीले आवेदन दिएका थिए । यसमध्ये सात विद्यार्थीलाई छनाेट गरिएकाे थियाे ।

छनाेट समितिमा त्रिभुवन विश्वविद्यालयका इन्जिनियरिङ अध्ययन संस्थानका डीन प्राडा. शशीधरराम जोशी, प्रा. सुवर्ण शाक्य, प्रा. तिमिला यमी र काठमाडौं विश्वविद्यालयका इन्जिनियरिङ अध्ययन संस्थानका डीन प्राडा. मनिष पोखरेल रहेका थिए ।

छनाेट भएका विद्यार्थीहरु सिड्स फर द फ्युचर कार्यक्रमका लागि थाइल्याण्ड भ्रमणमा गएका थिए । उनीहरुले थाइल्याण्डमा मेटाभर्स एक्स्पाे, दीगाे विकासकाे छलफल आदिमा सहभागी जनाए । यसबाहेक विभिन्न सांस्कृतिक सम्पदा, विश्वविद्यालय र ह्यावेकाे इनाेभेसन सेन्टरकाे भ्रमण गरेका थिए ।

त्यस्तै टेक फर गुड कार्यक्रमका लागि १६ देशका २४ टाेलीबीच प्रतियाेगितामा शीर्ष सातमा परेर उनीहरु सिङ्गापुर गएका थिए । उक्त प्रतियाेगितामा उनीहरुकाे ‘अद्वैत’ प्राेजेक्ट विजयी भएकाे थियाे ।

यसबाहेक उनीहरु एक्सेलेरेसन क्याम्पमा सहभागी भएका थिए । त्यस्तै उनीहरुले नेपालमा एन्‍सेलकाे डेटा सेन्टर भ्रमण, युनिसेफ नेपालसँग छलफल लगायत अन्‍य कार्यक्रममा सहभागी भएकाे ह्वावेले जनाएकाे छ ।

छनाेट भएका विद्यार्थीहरुमा काठमाडौं विश्वविद्यालयका प्रज्ञा मल्लिक, निर्माण खड्का र ख्वपः इन्जिनियरिङ कलेजका जतिन भुसाल थिए । त्यस्तै पुल्चोक क्याम्पसका रीया वैद्य, नदिका पौडेल, मदन भण्डारी मेमोरियल कलेजका वंशज पौडेल र अमृत साइन्स क्याम्पस अजु तामाङ पनि छनाेट भएका थिए ।

विजयी भएकाे प्राेजेक्ट

सिङ्गागापुरमा भएकाे टेक फर गुड प्रतियाेगितामा विजेता भएकाे प्राेजेक्ट ‘अद्वैत’ हाे । याे ब्लकचेन र एआईमा आधारित एप हाे, जसले औषधिमा हुने ठगी नियन्त्रण गर्ने लक्ष्य राखेकाे छ ।

समापन कार्यक्रममा बाेल्दै एप निर्माण टाेलीका सदस्य जतिन भुसालले औषधि दुरुपयाेगका कारण विश्वमा मृत्यु हुनेहरुमा १२ प्रतिशत रहेकाे बताए । यसकारण औषधिमा हुने लापरवाही राेक्न प्रविधिले काम गर्ने पनि उनले बताए । उनका अनुसार यस खालका लापरवाही राेक्न औषधिकाे फाइल अथवा डिब्बामा क्यूआर काेड राखिने छ ।

यसमा ग्राहकहरुले स्क्यान गरे भने उत्पादन मिति, म्याद समाप्तिकाे मिति, मूल्य, आधिकारिक वितरकबाट औषधि आएकाे हाे या हाेइन लगायत आदि कुराबारे जानकारी प्राप्‍त हुने उनले प्रस्तुतिमा बताए । त्यस्तै स्मार्टफाेन प्रयाेग नगर्ने प्रयाेगकर्ताले उपलब्ध गराइएकाे नम्बरमा औषधिकाे सिरियल नम्बर टाइप गरेर पठाए भने उक्त जानकारी प्राप्त गर्ने पनि उनले जानकारी दिए ।

ह्यावेले सिड्स फर द फ्युचर कार्यक्रम सन् २००८ बाट सञ्चालन गर्न थालेकाे हाे । नेपालमा भने याे कार्यक्रम सन् २०२१ बाट सुरु गरेकाे हाे । यस कार्यक्रमकाे समापन कार्यक्रम ह्यावे नेपालकाे प्रमुख विलियम झाङकाे सभापतित्वमा भएकाे थियाे ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिलकुमार दत्त, ई-गभर्नेन्सका सीईओ दिपेश विष्ट आदि उपस्थित थिए । कार्यक्रममा बाेल्दै वक्ताहरुले विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिएका थिए । साथै उनीहरुले विद्यार्थीहरुले राेजगार गर्नेभन्दा पनि राेजगार सिर्जना गर्नुपर्नेमा जाेड दिए ।

पछिल्लो अध्यावधिक: कात्तिक १, २०७९ १७:४७