close

नेपालमा कर्मचारी नै खटाएर निर्वाचनसम्बन्धी सामग्रीको अनुगमन गर्दै मेटा

टेकपाना टेकपाना

कात्तिक ४, २०७९ ७:४२

नेपालमा कर्मचारी नै खटाएर निर्वाचनसम्बन्धी सामग्रीको अनुगमन गर्दै मेटा

काठमाडाैं । आम निर्वाचनलाई विशेष महत्त्व दिँदै फेसबुकको मातृसंस्था मेटाले नेपालमै कर्मचारी खटाएर पहिलो पटक निर्वाचनसम्बन्धी सामग्रीको अनुगमन गर्ने भएको छ । सामाजिक सञ्जाल फेसबुकमा निर्वाचनसम्बन्धी मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति फैलाउने जोसुकैलाई निर्वाचन आयोग र मेटाले कडा अनुगमन गरी कारबाही गर्ने जनाइएको छ । 

यसअघि नेपालमा फेसबुकमार्फत गलत सूचना सम्प्रेषण हुने गरेको र नेपालमै फेसबुक, युट्युब, ट्विटरलगायतका सामाजिक सञ्जाल दर्ता हुनुपर्ने कुराले निकै चर्चा पाएको थियो ।

प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनका सन्दर्भमा सामाजिक सञ्जाल फेसबुकको मातृसंस्था मेटा र निर्वाचन आयोगले बिहीबार सञ्चारकर्मीलाई लक्षित गरेर संयुक्त रूपमा आयोजना गरिएको भर्चुअल तालिम ‘सेफ्टी ट्रेनिङ फर जर्नालिस्ट’मा मेटाका प्रतिनिधिले निर्वाचनपछि पनि मेटाले नेपालका सामग्रीलाई अनुगमन गर्ने र फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपलाई अझै व्यवस्थित गर्ने जनाएका छन् । 

मेटाका दक्षिण एसिया निर्देशक सरिम अजिजले फेसबुकमा रहेका सामग्रीलाई सत्यतथ्य, सभ्य, द्वेषरहित र पठनीय बनाउन आफूहरू लागिपरेको बताए । उनले भने, “हाम्रो टोलीले नेपालको निर्वाचनलाई नजिकबाट हेरिरहेको छ। मेटाअन्तर्गत सञ्चालित फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपमा सेयर हुने सामग्रीलाई अझै गुणस्तरीय र पठनीय बनाउन हामी यहाँ आएका हौँ ।”

उनले पत्रकारले विशेष गरी फेसबुक चलाउँदा ध्यान दिनुपर्ने, असामाजिक र मिथ्या सूचना रोक्न पहल गर्नुपर्ने बताए ।

“कसैले आचारसंहिताविपरीत फेसबुकबाट निर्वाचनसम्बन्धी प्रचारप्रसार ग‍र्याे भने जोसुकैले रिपोर्ट गर्न सक्छन् । कुनै पनि गलत कुरा रिपोर्ट गरेपछि के हो भनेर हाम्रो आर्टिफिसियल इन्टेलिजेन्सले पहिचान गर्छ । त्यसपछि पनि चित्त नबुझेमा हाम्रो टिमले सो कुराको गहन रूपमा अध्ययन गरेर थप प्रक्रिया अघि बढाउँछ,” उनले भने । 

कार्यक्रममा मेटाका प्रतिनिधिले निर्वाचन प्रक्रियाको समयमा फेसबुकमार्फत हुने तथ्यहीन, भ्रामक एवं घृणायुक्त सामग्री रोक्न पत्रकार, नागरिक समाज, राजनीतिक दल र सबै सरोकारवाला पक्षसँग आग्रह गरेका छन् । उनीहरूले फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपमा देखिने नकारात्मक सामग्रीको स्क्रिन सट गरेर वा पोस्ट, कमेन्ट वा सेयर गरेका सामग्री रिपोर्ट (उजुरी) गर्न आग्रह गरेका छन् । 

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सामाजिक सञ्जाल प्रयोगकर्तालाई निर्वाचनलाई प्रभावित पार्ने खालका सामग्री सम्प्रेषण नगर्न सञ्चारकर्मी र सञ्चारमाध्यमलाई आग्रह गरे । उनले सञ्चारमाध्यम स्वनियमन र स्वनियन्त्रित हुनुपर्नेमा आयोगले जोड दिँदै आएको उल्लेख गरे । 

निर्वाचनको समयमा राजनीतिक दल, उम्मेदवार र आम मतदाताले सामाजिक सञ्जालको भरपूर उपयोग गरी सुसूचित हुन, संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको अभ्यास अझै सबल पार्न आयोग र मेटाले आग्रह गरेको छ ।

-गोरखापत्रबाट 

पछिल्लो अध्यावधिक: कात्तिक ४, २०७९ ८:८