close

मिडिया हब भन्छः शुल्क लिन नपाउने भए नेपालमा विश्वकप फुटबलको लाइभ आउँदैन

टेकपाना टेकपाना

कात्तिक २४, २०७९ १९:७

मिडिया हब भन्छः शुल्क लिन नपाउने भए नेपालमा विश्वकप फुटबलको लाइभ आउँदैन

काठमाडौं । विश्वकप फुटबल सुरु हुनै लाग्दा नेपालमा भने त्यसको प्रत्यक्ष प्रसारण अन्यौलमा परेको छ । ग्राहकबाट थप शुल्क लिने कार्य नगर्न भन्दै अदालतले अल्पकालीन आदेश दिएपछि मंसिर ४ देखि सुरु हुने विश्वकपको लाइभ दुविधामा परेको हो । 

अधिवक्ता किशोर पौडेल समेतले दायर गरेको रिट निवेदनमा विश्वकप २०२२ हेर्नका लागि हरेक सेटअप बक्स प्रयोगकर्ताले पाँच सय रुपैयाँ तिर्नुपर्ने गरी भएको सम्झौता राष्ट्रिय प्रसारण नियमावली विपरीत भएकोले सो सम्बन्धमा भएका सम्पूर्ण कार्य बदर गर्नुपर्ने माग गरिएको छ । साथै भारतको भियाकम १८ मिडिया प्रालि र मिडिया हब प्रालिबीचको सम्झौतासमेत राष्ट्रिय प्रसारण नियमावली विपरीत भएको जिकीर गरिएको छ । 

सर्वोच्चले अन्तरिम आदेशका लागि कात्तिक ३० गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । तर आफूहरूलाई सुनुवाइको मौका नै नदिइएको भन्दै मिडिया हबले उक्त अल्पकालीन अन्तरिम आदेश खारेज गर्न माग गरेको छ ।

कम्पनीले उक्त माग सहित बिहीबार सर्वोच्चमा निवेदन दिएको हो । मिडिया हबका कार्यकारी निर्देशक सोम धितालले विश्वकप सुरु हुनुभन्दा चार दिन अघि मात्रै यस विषयको निर्क्यौल गर्नेगरी छलफलमा बोलाइएकोमा प्रत्यक्ष प्रसारणका लागि आवश्यक तयारी अपुग हुने बताए ।

“हामीले यो विषयलाई अग्राधिकार दिइ सकेसम्म भोलि वा पर्सिसम्म टुङ्ग्याउन आग्रह गरेका छौँ,” उनले भने, “अन्यथा नेपालमा विश्वकप फुटबलको प्रत्यक्ष प्रसारणमा समस्या आउन सक्छ ।”  

उक्त अल्पकालीन अन्तरिम आदेश कायम रहेको अवस्थामा निवेदक कम्पनीहरूलाई अपुरणीय क्षति पुग्नुका साथै नेपालमा फुटबल हेर्न नपाउने अवस्था विद्यमान रहने दाबी निवेदनमा गरिएको छ । "शुल्क लिने कार्य नगर्नु भनी अल्पकालीन अन्तरिम आदेश जारी भएपश्चात मिडिया हब प्रालिले विश्वकप फुटबल २०२२ को प्रसारण गर्न गराउन असमर्थ रहन्छ," निवेदनमा भनिएको छ, "उक्त अन्तरिम आदेशको कारणबाट निवेदक हामी कम्पनीले उपकरण आयात गर्ने, वित्तीय तथा बजार व्यवस्थापन गर्ने, टिभी च्यानलसँग सम्झौता गर्ने, विज्ञापन गर्ने, सब्सक्रिप्सन वितरण गर्ने लगायतका प्राविधिक तथा व्यवस्थापकीय काम कारबाही प्रत्यक्ष प्रभावित भइ विश्वकप फुटबलको प्रसारण समेत गर्न नसक्ने अवस्था सिर्जना भएको छ ।" 

हाल विश्वकप प्रसारण हुने च्यानल बापत रकम लिएको यो पहिलो पटक नभएको भन्दै कम्पनीले विभिन्न सेवाप्रदायकले प्रदान गर्ने चलचित्र, गीत लगायतका च्यानलमा यसरी अतिरिक्त शुल्क लिनुका साथै २०२१ मा डिशहोमले दुई हजार शुल्क तोकि स्पेनिस लालिगा लिगको प्रसारण गरेको दृष्टान्त समेत दिएको छ ।

दक्षिण एसिया क्षेत्रमा विश्वकपको प्रत्यक्ष प्रसारण गर्ने अधिकार पाएको भारतीय कम्पनी भियाकम १८ मिडिया प्रालिसँग आफूले १५ लाख अमेरिकी डलरमा (झण्डै २५ करोड रुपैयाँ) मा नेपालका लागि एकाधिकार खरिद गरेको मिडिया हबको भनाई छ । मिडिया हबले हिमालयन प्रिमियम टिभी च्यानलमार्फत विश्वकप फुटबलको प्रत्यक्ष प्रसारण गर्ने योजना बनाएको छ । 

नेपालका लागि एकाधिकारको लागत अत्याधिक बढी रहेको र हालको व्यापार व्यवसायमा रहेको आर्थिक मन्दीका कारण विज्ञापनबाट मात्र उक्त लागत रकम प्राप्त गर्न नसकिने धितालको तर्क छ । "भारतीय कम्पनीसँग सम्झौतामा 'जियो लक' सहितको एकाधिकार मिडियाहबले प्राप्त गरेको छ," टेकपानासँगको कुराकानीमा उनले भने, "यस्तोमा मिडिया हब बाहेकले नेपालमा विश्वकप फुटबलको प्रसारण गर्न सक्ने अवस्था रहँदैन ।” 

मिडिया हबले एनआईटिभी स्ट्रिम्ज प्रालि र भायानेट कम्युनिकेसन प्रालिले आफ्ना सेटअप-बक्समा आईपीटीभी सब्सक्राइब गरेका ग्राहकलाई हिमालयन प्रिमियम टिभी च्यानलमार्फत विश्वकपको लाइभ देखाउने व्यवस्था मिलाइएको छ । हालसम्म दुवै कम्पनीबाट तीन हजार भन्दा बढी ग्राहकले सब्सक्रिप्सन खरिद गरेकोमा त्यसबाट छ लाख रुपैयाँ भन्दा बढी रकम संकलन भइसकेको उल्लेख छ ।

त्यस्तै लाइभ प्रसारणमा बजाउने विज्ञापनका लागि एडप्याड एक्युजिसन प्रालिले १० भन्दा बढी व्यापार व्यवसायसँग सम्झौता गरिसकेको छ । व्यापारिक संस्थाले गरेको लगानीको संरक्षण अदालतबाट हुनेमा आफू विश्वस्त रहेको भन्दै धितालले शुल्क नै नलिई नेपालमा विश्वकप फुटबलको प्रत्यक्ष प्रसारण सम्भव नरहेको दाबी गरे ।

पछिल्लो अध्यावधिक: कात्तिक २४, २०७९ २०:४५