काठमाडौं । एप्पलले आफ्नो नयाँ सिरिजको स्मार्टफोन आईफोन १४ बाट स्याटलाइट फिचर उपलब्ध गराएको थियो । यो फिचरले पहिलो प्रयोगकर्ताको ज्यान जोगाएको छ । स्याटलाइट फिचर भएको आईफोन १४ सिरिजका फोनहरू हाल अमेरिका र क्यानडामा मात्र उपलब्ध छ ।
अलास्का जंगलको निम्युक पोइन्ट भन्ने ठाउँमा हराएका एक व्यक्तिले आईफोनको यही फिचर प्रयोग गरेर आफ्नो ज्यान जोगाएका छन् । बिहीबार स्थानीय समय अनुसार १ देखि २ बजेको बीचमा ती व्यक्तिले मोबाइलको इमर्जेन्सी एसओएस फिचर एक्टिभ गरेका थिए ।
सोही फिचरको आधारमा सुरक्षाकर्मीहरूले उनको खोजी गरी उद्धार गरेका थिए । उनको मेसेजको आधारमा एप्पलको इमर्जेन्सी रेस्पोन्स सेन्टरका अधिकारीहरू सहितको उद्दार टोलीले ती व्यक्तिको जीपीएस ट्रयाक गरेर उनी भएको स्थानमा पुगेका थिए ।
चारजना भोलियन्टर सहितको टोली उनको उद्धारको लागि खटाइएको थियो । यो फिचरको विषयमा धेरै विवाद चलिरहेको छ । यद्यपि यसले भने पहिलो पटक प्रभावकारी रुपमा काम गरेको कम्पनीको भनाइ छ ।
हाल अमेरिका र क्यानडामा मात्र उपलब्ध यो फिचर चाँडै नै फ्रान्स, जर्मनी, आयरल्यान्ड र बेलायतमा पनि उपलब्ध गराउने कम्पनीले जनाएको छ ।