close

दक्षिण कोरियाका भाइरल खेलाडी, जसलाई बिहेका हजाराैं प्रस्ताव आएपछि फोन अफ गर्नुपर्‍यो

टेकपाना टेकपाना

मंसिर १८, २०७९ ११:४३

दक्षिण कोरियाका भाइरल खेलाडी, जसलाई बिहेका हजाराैं प्रस्ताव आएपछि फोन अफ गर्नुपर्‍यो

काठमाडौं । जारी फिफा विश्वकप २०२२ मा अहिले नकआउट चरणको खेल भइरहेको छ । मंसिर ४ गतेबाट सुरु भएको यो खेल १५ औँ दिनसम्म आउँदा रोमाञ्चक बन्दै गएको छ । विशेषगरी नयाँ खेलाडीले विश्वकप खेल्दा पाएको चर्चाले खेललाई थप आकर्षक बनाएको छ । अघिल्लो साता सर्बिया विरुद्ध गोल गर्ने ब्राजिलियन खेलाडी रिचार्लिसनको इन्स्टाग्राममा एक ‍रातमै ४० लाख फलोअर बढेका थिए ।

यसपटक भने दक्षिण कोरियाका अर्का स्टाइकर चर्चामा आएका छन् । यसो त दक्षिण कोरियाले यस वर्ष विश्वकपमा राम्रो प्रभाव जमाएको छ । अर्कोतर्फ उक्त टिमका स्टाइकर चो गुए-सङको छुट्टै चर्चा छ । सङले गत सोमबार घाना विरुद्धको खेलमा दुई गोल गरेका थिए । तर, उनको चर्चा गोलले भन्दा पनि उनको लुक्सले गर्दा भइरहेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार पप-स्टार जस्तो लुक भएका गुए-सङ अहिले ह्याण्डसम फुटबलरका रूपमा इन्टरनेटमा चर्चित बन्दै गइरहेका छन् ।

यही चर्चाका कारण उनलाई दैनिक हजारौं बिहेका प्रस्ताव आउन थालेपछि फोन नै अफ गर्नुपर्ने अवस्था आएको छ । विश्वकप सुरु हुनुअघि सङको इन्स्टाग्राममा २० हजार हाराहारीमा फलोअर रहेका थिए । यो समाचार तयार पार्दासम्म उनको अकाउन्टमा २१ लाख फलोअर भइसकेका छन् ।

उनलाई मेन्सन गर्दै ट्वीटरमा कैयौंले बिहेको प्रस्ताव राखेका छन् । एक ट्वीटर प्रयोगकर्ता लेख्छिन्, "जब मैले सबैभन्दा पहिले उनको अकाउन्ट देखेको थिएँ त्यसमा ४० हजार फलोअर थिए । रातारात उनले लाखौं फलोअर पाएका छन् । चो-गुए-सङ, तिमीले राम्रो गोल गर्दै इतिहास बनायौं । अब मेरो बिहेको प्रस्ताव स्वीकार गर ।"

उनले लगाउने जर्सी (जर्सी नं. ९), उनको नाम अहिले सामाजिक सञ्जाल टिकटकमा समेत भाइरल छ । उनको नामको ह्याश्ट्यागमा १९ करोड ३० लाख बढी भ्युज छ । दक्षिण कोरियाली पत्रकार यिम ह्युन-सुले ट्वीटरमा चो गुए-सङ बसेको भिडिओ अपलोड गरेका थिए । उक्त भिडिओमा चो हात बाँधेर बसिरहेको र हातले गाला मुसारिरहेको देखिन्छन् । यिमले पहिले नै सङले राम्रो सङ्ख्यामा फलोअर पाउने विश्लेषण गरेका थिए । उनको विश्लेषण सही सावित भएको छ ।

यिमले अपलोड गरेको क्लिप पनि ७० लाख बढि पटक हेरिएको छ । उनको नाम इन्टरनेटका विभिन्न प्लेटफर्ममा ट्रेण्डिङमा छ । गुगलमा उनको नाम सर्च गर्दा ‘चो' लाई मनपर्ने महिलाहरू, ‘चो' को डेटिङ, ‘चो' को बिबाह जस्ता जिज्ञासा बढी खोजेको देखिन्छ । उनलाई समर्थकले विभिन्न कोरियाली कलाकारसँग पनि तुलना गरेका छन् ।

पछिल्लो अध्यावधिक: मंसिर १८, २०७९ ११:४३