close

कति समयसम्म टिक्छ विश्वकपमा खेलाइने फुटबलको ब्याट्री ?

टेकपाना टेकपाना

मंसिर २१, २०७९ १५:३३

कति समयसम्म टिक्छ विश्वकपमा खेलाइने फुटबलको ब्याट्री ?

काठमाडौं । जारी फिफा विश्वकपमा अहिलेसम्मकै उन्नत फुटबल प्रयोग गरिएको छ । मोसन सेन्सर भएको उक्त  'एएल रिह्ला बल' आडिडासले निर्माण गरेको हो । विश्वकपमा प्रयोग भएको यो फुटबल हरेक खेलअघि चार्ज गर्नुपर्ने हुन्छ । यसलाई चार्ज गर्न राखेको फोटो भाइरल नै भएको थियो ।

एएल रिह्ला बलमा हाइ टेक मोसन सेन्सर रहेकाले उक्त सेन्सर चार्ज गरी रहनुपर्छ । उक्त सेन्सर सानो ब्याट्रीद्वारा सञ्चालित छ, जुन फुल चार्ज हुँदा प्रयोग गरिरहेको अवस्थामा छ घण्टा र प्रयोग नगर्दा १८ दिनसम्म टिकाउ हुने कम्पनीको भनाइ छ । यस सेन्सरले वास्तविक समयमा बल ट्रयाक गर्छ ।

स्टेडियममा भएका क्यामेरासँग सहकार्य गर्दै यस सेन्सरले रेफ्रीलाई अफसाइड भए/नभएको जानकारी दिन्छ । बललाई गाेडाले हान्दा, हेडिङ गर्दा वा थ्रो गर्दा उक्त सिस्टमले त्यहाँबाट प्रति सेकेन्ड ५०० डेटा भीएआर (Virtual Assistant refree) रूममा पठाउँछ ।

सेन्सरबाट रियल टाइम (वास्तविक समय) मा लोकल पोजेसिनिङ सिस्टम (एलपीएस) मा डेटा पठाइन्छ, जसमा स्टेडियमको वरपर स्थापित नेटवर्क एन्टेनाहरूको सेटअप समावेश हुन्छ । यसले डेटालाई तत्काल प्रयोगका लागि स्टोर गर्ने गर्छ ।

यदि खेल्दाखेल्दै कुनै बल बाहिर गयो र नयाँ बल प्रयोग गर्नुपर्यो भने नयाँ बलको सेन्सर स्वतः एक्टिभेट हुन्छ र ब्याकइन्ड सिस्टममा कनेक्ट हुन्छ ।

गत सोमबार पोर्चुगल र उरुग्गेबीचको खेलमा एउटा गोल क्रिस्टियानाे रोनाल्डोले हेडिङ गर्दा भएको भन्ने कुरा आएको थियो । तर, तत्काल बलकै सेन्सरका कारण उक्त बल रोनाल्डोले हेड नगरेको पुष्टि भएको थियो ।

स्लो मोसनमा भिडिओ प्ले गर्दा पनि उक्त गोल रोनाल्डोको हेडिङले भएको हो/होइन भन्ने कुरा छुट्याउनै मुस्किल परेको थियो । 

पछिल्लो अध्यावधिक: मंसिर २३, २०७९ १८:३६