काठमाडौं । डिजिटल युगमा अनलाइनमा डेटा सुरक्षित राख्ने काम गाह्रो बन्दै गएको छ । सामाजिक सञ्जालका अकाउन्ट तपाईँले सुरक्षित राख्न खोज्दा खोज्दै पनि कतिबेला ह्याकरको कब्जामा पर्छ भन्ने कुरा फेला पार्न मुस्किल नै पर्छ ।
त्यसैले हरेक समय इन्टरनेटमा यस्ता विविध विषयबारे सचेत हुनु आवश्यक छ । आज हामी त्यस्ता संकेतको बारेमा जानकारी दिँदैछौँ । जसले गर्दा अकाउन्ट ह्याक भएको छ वा छैन भन्ने कुरा अनुमान लगाउन सकिन्छ ।
-पासवर्ड परिवर्तन भएको हुनसक्छ
फेसबुक अकाउन्ट ह्याक भएको अनुमान गर्न सकिने पहिलो संकेत हो, पासवर्ड परिवर्तन । तपाईँलाई झुक्काएर अकाउन्ट ह्याक गरेर, उसले उक्त अकाउन्ट प्रयोग गरिरहेको हुनसक्छ । यदि सबै डिभाइसबाट लगआउट गरिएको छैन भने तपाईँले नयाँ पासवर्ड नराख्दा पनि अकाउन्ट चलिरहेको हुन्छ ।
यदि अकाउन्ट ह्याक भएको छ भन्ने लाग्यो भने लगआउट गरेर पुनः लगइन गर्नुहोस् । लगइन गर्दा पहिले राखेको पासवर्ड मिलेन भने अकाउन्ट ह्याक भएको अनुमान गर्न सकिन्छ ।
-तपाईँको प्रोफाइलबाट अनावश्यक पोस्ट अपलोड
कसैको अकाउन्ट ह्याक गर्नका लागि ह्याकरसँग आफ्नै कारणहरू हुन सक्छन् । कतिपय ह्याकरले आफ्ना विविध सामाग्री प्रचारका लागि ह्याक गर्छन् । कतिले ठगी गर्न । केहीले ब्ल्याकमेल गर्नका लागि ह्याक गरेका हुनसक्छन् भने केहीले तपाईँको सेक्रेट थाहा पाउन ।
ह्याकरको आवश्यकता अनुसार यस्ता विविध कारण हुनसक्छन् । यदि तपाईँको फेसबुक अकाउन्ट वा पेजबाट अनावश्यक पोस्ट भइरहेका छन् भने अकाउन्ट ह्याक भएको अनुमान गर्न सकिन्छ । यदि यस्तो पाइएमा सेटिङमा रहेको प्राइभेसी अप्सनमा गएर अनावश्यक डिभाइसबाट अकाउन्ट लगआउट गर्न सकिन्छ ।
-तपाईको अकाउन्टबाट अस्वभाविक मेसेज
ह्याकरले आफ्नो आवश्यकता अनुसार विभिन्न कामका लागि अकाउन्ट ह्याक गरेका हुनसक्छन् । त्यसमध्ये एक हो प्रयोगकर्ताको आफन्तलाई ठगी । ह्याकरले अकाउन्ट ह्याक गरिसकेपछि तपाईँ कुन व्यक्तिसँग नजिक हुनुहुन्छ भन्ने कुरा पत्ता लगाउँछन् ।
त्यसपछि विभिन्न बहानामा पैसा सहयोग माग्छन् । तपाईँलाई कोही साथीले फोन गरेर रकम माग गरेको कुरा खुलाएमा अकाउन्ट ह्याक भएको अनुमान लगाउन सकिन्छ ।
-विभिन्न ठाउँका डिभाइसबाट अकाउन्ट लगइन
तपाईँको अकाउन्ट ह्याक भएर अन्य विभिन्न डिभाइसमा लगइन भएको हुनसक्छ । उदाहरणका लागि तपाईँले एउटा कम्प्युटर र फोनमा अकाउन्ट लगइन गर्नु भएको छ । तर, फेसबुक अकाउन्ट लगइन डिटेलमा अन्य डिभाइसमा पनि अकाउन्ट लगइन भएको देखाएको छ भने अकाउन्ट ह्याक भएको अनुमान लगाउन सकिन्छ ।
अनावश्यक डिभाइसमा कुनै पनि अकाउन्ट लगइन भएको थाहा पाएमा तुरुन्त हटाउनुहोस् ।
-फलोअर वा साथीमा अस्वाभाविक वृद्धि
तपाईँ सामान्य फेसबुक प्रयोगकर्ता हो भने साधारणतःः साथीको सङ्ख्या पनि थोरै हुन्छ । यदि तपाईँको अकाउन्टमा अस्वभाविक फलओअर बढे वा तपाईँले पेन्डिङमा राखेका रिक्वेस्ट एसेप्ट भएमा अकाउन्ट ह्याक भएको हुनसक्छ । वा, ह्याकरले तपाईँको अकाउन्टबाट अस्वभाविक गतिविधि गरेर फलोअर बढाइदिएका हुनसक्छन् ।
यदि अस्वभाविक रूपमा फलोअरको सङ्ख्या बढेका छन् भने अकाउन्ट ह्याक भएको अनुमान गर्न सकिन्छ ।
-तपाईँको फेसबुक ग्रप वा पेजमा शंकास्पद गतिविधि
यदि तपाईँ राम्रो सङ्ख्यामा फलोअर तथा मेम्बर भएका फेसबुक पेज वा पेज चलाउनु हुन्छ भने तपाईँको अकाउन्टमा ह्याकरको नजर हुन्छ । यदि तपाईँको फेसबुक पेज वा ग्रुपबाट शंकास्पद सामग्री पोस्ट भएका छन् भने अकाउन्ट ह्याक भएको अनुमान गर्न सकिन्छ ।
-अनाधिकारिक एक्सेसको बारेमा नोटिफिकेसन
यदि तपाईँले फेसबुकमा टु-फ्याक्टर अथेन्टिकेसन अन गर्नु भएको छ भने अन्य डिभाइसमा लगइन हुँदा नोटिफिकेसन जान्छ । यदि तपाईँले फेसबुक प्रयोग गर्दा अनाधिकिक लगइन भएको नोटिफिकेसन पाउनु भयो भने तत्कालै उक्त डिभाइस हटाउनुहोस् ।
तपाईँले इमेल वा फेसबुक एप तथा ब्राउजरमा पनि अन्य डिभाइसमा लगइन भएको नोटिफिकेसन पाउन सक्नुहुन्छ । यसरी अनाधिकारिक डिभाइसमा लगइन हुँदा सचेत हुनुहोस् । त्यस्तै तपाईँको इमेलमा ओटीपी कोड पनि आएको हुनसक्छ । त्यस्ता ओटीपी कोड कसैलाई नदिनुहोस् ।
सामाजिक सञ्जालका अकाउन्ट किन ह्याक हुन्छन् र यस्ता ह्याकिङबाट कसरी बच्ने ?
-यदि तपाईँले असुरक्षित वेबसाइट तथा एपमा फेसबुक अकाउन्ट प्रयोग गर्नु
-सामाजिक सञ्जालका अकाउन्टका लागि कमजोर पासवर्ड प्रयोग गर्नु र ब्राउजरमा लगइन डिटेल सेभ गर्नु
-सार्वजनिक वाईफाईमा कनेक्ट गर्नु र त्यही वाईफाईले सामाजिक सञ्जाल प्रयोग गर्नु
-इन्बक्समा आएका शंकास्पद लिङ्क क्लिक गर्नु
-सार्वजनिक कम्प्युटरमा सामाजिक सञ्जालको अकाउन्ट लगइन गरेर त्यत्तिकै छाड्नु
यदि तपाईँले माथि उल्लेखित गतिविध गर्नु भएको छ भने तपाईँको अकाउन्ट ह्याक भएको हुनसक्छ । त्यसबाट सुरक्षित हुन सबैभन्दा ८ देखि १२ अक्षरको कडा पासवर्ड राख्नुहोस् । र, आफ्नो अकाउन्टमा टु-फ्याक्टर अथेन्टिकेसन अन राख्नुहोस् । थप सुरक्षाका उपाय थाहा पाउन यहाँ क्लिक गर्नुहोस् ।