काठमाडौं । कोभिड–१९ को महामारीका कारण सन् २०२१ मा सुरु भएको विश्वव्यापी घटनाले कार्यशैलीलाई नै परिवर्तन गरेको छ । उच्च तलब, राम्रो सुविधा र अन्य अवसरहरू साथै काम र जीवन सन्तुलनको साथमा, कर्मचारीहरूको हित सहित कम्पनी सञ्चालन गर्नु कुनै पनि कम्पनीको दायित्व हो र धेरैले यसलाई प्राथमिकतामा पनि राखेको हुन्छ ।
यस्तै विभिन्न व्यवस्थालाई आधार मानेर फोर्ब्सले विश्वकै उत्कृष्ट रोजगारदाताको सूची तयार पारेको छ । कर्पोरेट प्रभाव र कम्पनीको छवि, प्रतिभा विकास, लैङ्गिक समानता र सामाजिक उत्तरदायित्त्वमा उत्कृष्ट रहेका बहुराष्ट्रिय कम्पनी र संस्थाहरूमा काम गर्ने ५७ देशका एक लाख ५० हजार कर्मचारीबीच फोर्ब्सले स्टाटिस्टाले गरेको सर्वेक्षणको आधारमा रिपोर्ट तयार गरेको छ ।
फोर्ब्सले सर्वेक्षण गरिएको कम्पनीमध्ये सबैभन्दा उत्कृष्ट सातसय कम्पनीहरूको सूची तयार पारेको छ । उक्त सूचीमा उत्कृष्ट पाँच शीर्ष कम्पनीहरूमा सबै प्रविधि कम्पनीहरू रहेका छन् । सबैभन्दा शीर्ष स्थानमा दक्षिण कोरियाको सामसङ इलेक्ट्रोनिक्स रहेको छ ।
सामसङ इलेक्ट्रोनिकले हाल सेमिकन्डक्टर, इलेक्ट्रोनिक्स, इलेक्ट्रिकल इन्जिनियरिङ, टेक्नोलोजी, हार्डवेयर तथा इक्विपमेन्ट लगायतका क्षेत्रहरूमा काम गरिरहेको छ । कम्पनीले हाल दुई लाख ६६ हजार छ सय ७३ जनालाई रोजगारी दिइरहेको छ ।
यसैगरी दोस्रो स्थानमा अमेरिकाको माइक्रोसफ्ट रहेको छ । माइक्रोसफ्टले आईडी, इन्टरनेट, सफ्टवेयर लगायतका क्षेत्रमा काम गर्छ । हाल यो कम्पनीमा दुई लाख २१ हजार कर्मचारी आवद्ध छन् । तेस्रो स्थानमा भने आईबीएम कम्पनी रहेको छ । यो कम्पनीले पनि सेमिकन्डक्टर, इलेक्ट्रोनिक्स, इलेक्ट्रिकल इन्जिनियरिङ लगायतको क्षेत्रमा काम गर्छ । आईबीएमले दुई लाख ५० हजार कर्मचारीलाई रोजगारी दिइरहेको छ ।
चौथौं र पाचौं स्थानमा भने क्रमश: अल्फाबेट र एप्पल रहको छ । एक लाख ५६ हजार पाँच सय कर्मचारी भएको अल्फाबेट आईटी, इन्टरनेट सफ्टवेयर लगायतको क्षेत्रमा काम गर्दछ भने सेमिकन्डक्टर, इलेक्ट्रोनिक, इलेक्ट्रिकल इन्जिनिरयरिङ लगायतको क्षेत्रमा काम गर्ने एप्पलको भने एक लाख ५४ हजार कर्मचारी छन् ।