close

दैनिक १२ घण्टा काम गर्न परेपछि टिकटकका कर्मचारीले छोडे मासिक ३ करोडको जागिर

टेकपाना टेकपाना

पुस १०, २०७९ १७:३८

दैनिक १२ घण्टा काम गर्न परेपछि टिकटकका कर्मचारीले छोडे मासिक ३ करोडको जागिर

काठमाडौं । हप्तामा छ दिन दैनिक १२ घण्टा काम गर्न परेपछि टिकटकका एक कर्मचारीले मासिक दुई लाख २० हजार डलर (करिब दुई करोड ९१ लाख रुपैयाँ) को जागिरबाट राजीनामा दिएको घटना अहिले चर्चामा आएको छ । ​टिकटकको उच्च तहमा रहेर काम गर्ने अमेरिकी कर्मचारीले सार्वजनिक रूपमा कम्पनीको आलोचना गर्दै राजीनामा दिएपछि उक्त घटनाले चर्चा पाएको हो ।

न्यू योर्कमा बस्ने प्याबेल मार्टिनेज २०२१ फेब्रुअरीमा मेटाको तीन वर्षे जागिर छोडेर टिकटकमा आबद्ध भएका थिए । एक अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई अन्तर्वार्तामा दिँदै मार्टिनेजले टिकटकको जागिर किन छोडेको भनेर खुलाएका छन् ।

"व्यावसायिक कामलाई सन्तुलन राख्न नसक्ने स्ंस्कृति कम्पनीभर फैलिएको छ । त्यसैले ९९६ नीति जायज होइन," टिकटकमा एड सेल्स अन्तर्गत ग्लाेबल अकाउन्ट डिरेक्टरका रूपमा काम गरेका उनले भने ।

९९६ नीति भन्नाले हरेक दिन बिहान ९ बजेदेखि राति ९ बजेसम्म सातामा छ दिन काम गर्ने नीतिलाई जनाउँछ । अर्थात् कर्मचारीले सातामा ७२ घण्टा काम गर्नुपर्ने हुन्छ ।

यो नीति टिकटकले २०२१ को अन्ततिर ल्याएको थियो । यसअघि कम्पनीमा सोमबारदेखि शुक्रबारसम्म बिहान १० देखि साँझ सात बजेसम्म काम गर्नुपर्ने हुन्थ्यो । यो नीति कर्मचारीको हितमा नभएको भन्दै बारम्बार विवाद आइरहेको छ ।

कम्पनीको नीति गलत भएको भन्दै आवाज उठाउने मार्टिनेज पहिलो कर्मचारी भने होइनन् । उनीभन्दा अघि पनि थुप्रै कर्मचारीले कम्पनीको 'वर्किङ कल्चर' अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप नभएको भन्दै आवाज उठाउँदै आएका थिए ।

सामाजिक सञ्जाल लिङ्क्डइनमा एक पोस्ट गर्दै मार्टिनेजले आफूले दुई लाख २० हजार डलरको बेसिक स्यालरी, ३० हजार डलरको सम्झौता बनोस र ५५ हजार डलर अतिरिक्त बोनस पाउने गरेको उल्लेख गरेका छन् ।

टिकटकको जागिर छोडेको सात महिनापछि उनले उक्त कुरा बाहिर ल्याएका हुन् । यसरी कम्पनीको वर्किङ कल्चरका कारण टिकटक छोडेको कुरा बाहिर ल्याएर आफूले धेरै धम्कीको सामना समेत गरेको उनले बताएका छन् ।

यस घटनाबारे कम्पनीले बोल्न अस्वीकार गरेको विभिन्न सञ्चारमाध्यमले उल्लेख गरेका छन् । यसमा विशेषगरी टाइमजोनको फरकले पनि प्रभाव पारेको हुनसक्ने विश्लेषण गरिएकाे छ । विशेषगरी चीनमा हुने बैठकमा अमेरिकाका कर्मचारी सहभागी हुने समय उचित नहुँदा त्यस्तो समस्या आएको हुनसक्ने अनुमान छ ।

पछिल्लो अध्यावधिक: पुस १०, २०७९ १८:३८