close

थकान मेट्न गुगलका कर्मचारीलाई हप्तामा ३ दिन बिदा

टेकपाना टेकपाना

भदौ २८, २०७७ १४:६

थकान मेट्न गुगलका कर्मचारीलाई हप्तामा ३ दिन बिदा

काठमाडौं । कोभिड–१९ का कारण पछिल्लाे ६ महिनायता घरबाटै कार्यालयकाे काम गर्ने संस्कार बढिरहेकाे छ । विश्वका अधिकांश देशले कामकाे यस्ताे शैली अपनाइरहेका छन् । नेपालमै पनि अहिले सानादेखि ठूला व्यवसायिक कम्पनीहरूकाे काम ‘वर्क फ्रम हाेम’बाट चलिरहेकाे छ ।

घरबाट निरन्तर रुपमा काम गर्दा आफ्नो पारिवारिक जीवन र व्यवसायिक जीवनलाई व्यवस्थापन गर्न असहज भइरहेको छ । बिहानदेखि बेलुकासम्मको काम अनि निरन्तर हुने अनलाइन मिटिङले कर्मचारीलाई घरबाट काम गर्नु नराम्रो सपना जस्तै भइसकेको छ ।

यसले मानिसको जीवनमा समेत नकारात्मक असर पर्ने भन्दै टेक जायन्ट गुगलले आफ्ना कर्मचारीलाई हप्तामा तीन दिन बिदा दिने निर्णय गरेको छ ।

कम्पनीले आफ्ना कर्मचारीलाई कोभिड–१९ को महामारी सम्मका लागि थप एक दिन बिदा दिने निर्णय गरेको हो । यसले कर्मचारीलाई सहज हुने विश्वास कम्पनीले गरेकाे छ । कम्पनीले शारीरिक, मानसिक, भावनात्मक थकान मेट्नका लागि यस्ताे बिदा दिएकाे जनाएकाे छ ।

गुगलले जारी गरेको वक्तव्यमा लेखिएकाे छ, ‘हामी कर्मचारीलाई थप एक दिन बिदा स्वीकार गर्न आग्रह गर्छाै । त्यसका लागि व्यवस्थापकले आवश्यक वातवरण बनाउनुपर्नेछ । यदि कुनै दिन कार्यालयका लागि कर्मचारीकाे आवश्यक भयाे भने उसले अर्को दिन बिदा पाउनेछ ।’

तर, प्राविधिकहरुका हकमा सबै खालको सुविधा भने उपलब्ध हुने छैन। उनीहरु हप्तामा तीन दिन बिदा बस्न सक्ने भएतापनि शुक्रबार भने बिदा लिन पाउने छैनन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०