close

नविल डिजी बैंकः डिजिटल बैंकिङको ‘पायोनियर’

रन्जन कोइराला रन्जन कोइराला

असोज ७, २०७७ १८:४७

नविल डिजी बैंकः डिजिटल बैंकिङको ‘पायोनियर’

काठमाडौं । प्रविधिको विकाससँग सबैभन्दा नजिक रहेर अगाडि बढिरहेको एउटा क्षेत्र बैंक पनि हो । आज जसरी हामी मोबाइलबाटै कारोबार गरिरहेका छौं, त्यसको श्रेय बैंकलाई नै जान्छ ।

प्रविधिको बैंकिङ पाटोलाई फिनटेक (वित्तीय प्रविधि) को रुपमा चिनिँदै आएको छ । फिनटेकलाई सँगै अगाडि बढाउन र त्यसको छुट्टै पहिचान दिन बैंकिङ क्षेत्रले खेलेको भूमिका निश्चय नै सराहनीय छ ।

यो अभ्यास पछ्याउने मामिलामा ३५ वर्ष पुरानो नविल बैंकले बजारमा आफूलाई फरक रुपमा उभ्याएको छ । आफूसँग सँगसँगै यात्रा गर्ने सहयात्रीहरुलाई पनि नयाँपन दिने योजनाका साथ बैंकले ‘डिजी बैंक’ को सुरुवात गर्‍याे ।

नविल बैंकको ‘डिजी बैंक’ को परिकल्पना पुरा भएको खण्डमा अबको पाँच/सात वर्षपछि क्यासलेस, चेकलेस र पेपरलेस बैंकिङको सपनाले सार्थकता पाउने आशा गर्न सकिन्छ ।

त्यसो त यो सपनाको सार्थकता पुरा गर्ने नविल बैंकको सुरुवात आजको भने होइन । बैंकले यसअघि पनि डिजिटल बैंकको रुपमा काम गर्दै आएको हो ।

किन भने नेपालमा मास्टर कार्ड अक्वायरिङको सुरुवात गर्ने, ईकमर्स सुरु गर्ने, बजारमा पस मसिनको सुरुवात गर्ने, क्रेडिट कार्डको सुरुवात श्रेय पनि नविललाई नै जान्छ ।

त्यतिमात्र होइन, नविल बैंक कन्ट्याक्टलेस कार्डको सुरुवात गर्ने नेपालकै पहिलो बैंक पनि हो । सँगै हाल बजारमा उपलब्ध सम्पूर्ण डिजिटल बैंकिङ सेवा पनि बैंकले आफ्ना ग्राहकलाई उपलब्ध गराउँदै आएको छ ।

‘यसको सुरुवात धेरै पहिले नै भएको थियो,’ नविल डिजी बैंकका प्रमुख निरज शर्मा भन्छन्, ‘आज आएर त्यसको एउटा विस्तृत र एकीकृत योजना मात्रै सार्वजनिक गरेका हौं । प्रविधिसँग नजिक रहेर काम गर्ने युवा पुस्तालाई सहज बैंकिङको अनुभूति दिलाउनकै लागि यसको सुरुवात गरिएको हो ।’

यसका लागि ग्राहकको बैैंकसँगको पहुँचको विषय मात्र होइन, ग्राहकलाई सेवा दिने बैंकभित्रको आन्तरिक प्रक्रियालाई पनि समेट्न जरुरी छ ।

‘त्यसैले हामीले हाम्रो कार्यक्षमता, काम गर्ने तौर तरिकामा पनि परिवर्तन ल्याउन आवश्यक छ । हामीले ग्राहकलाई प्रडक्ट दिने तर, बैंककाे इन्टरनल प्राेसेसमा अटोमेसन छैन भने त्यसको कुनै अर्थ रहँदैन । त्यसैले हामीले आफूभित्रका सेवालाई एकीकृत गर्दै लगेका हौं । ताकि ग्राहकले लिने सेवा छिटाे र सुलभ हाेस,’ शर्मा भन्छन् ।

सामान्यतयाः बैंकभित्र पनि विभिन्न विभाग हुन्छन् । कार्डको आफ्नै विभाग । सिस्टमको छुट्टै विभाग । तर, यसरी फरक फरक रुपमा भन्दा पनि एउटै घेराभित्र रहेर काम गर्नुपर्छ भन्ने अभिप्राय डिजी बैंकले राखेको छ ।

फरक फरक रुपमा जाँदा उद्देश्य हासिल गर्न नसकिने देखेरै यसरी अघि बढेको शर्माको भनाइ छ । उनी अगाडि भन्छन्, ‘यसका लागि हामीले अन्य मुलुकहरुका बैंकले अपनाएका कामको पनि अध्ययन गर्‍यौं । अनि यसरी डिजिटलमा केन्द्रीत भएर बैंकभित्रको डिजिटल बैंकको रुपमा अगाडि बढ्नुपर्छ भन्नेमा पुगेका हौं ।’

बैंकले यसलाई अबको आवश्यकताको रुपमा आत्मसाथ गरिसकेको छ । त्यसैले पनि यसलाई माथिल्लो तहबाट नै नेतृत्व प्रदान गरिएको छ ।

बैंकका डेपुटी सीईओ विनयकुमार रेग्मीको नेतृत्वमा झन्डै ७० जनाभन्दा बढी यो समूहमा छन् । जसअन्तर्गत कार्ड, आईटी विभाग लगायत सबैलाई राखिएको छ ।

‘यसको उद्देश्य नेपालको डिजिटल बैंकिङको क्षेत्रमा पायोनियरको रुपमा स्थापित हुने भन्ने नै हो,’ शर्मा भन्छन्, ‘यसका लागि चार/पाँच वर्षसम्म लाग्न सक्छ । किनभने यो भनेको आजको भोलि सम्भव हुने कुरा पनि होइन ।’

यसका लागि डिजी बैंकले ग्राहकलाई नयाँ नयाँ प्रडक्टका साथै भएका सर्भिसलाई कसरी राम्रो बनाउने भन्नेतिर काम गरिरहेकाे छ ।

त्यस्तै बैंकभित्रको प्रक्रियालाई अटोमेसन गर्ने अर्काे पाटाे छ । यसका लागि प्रविधि प्रयोगसँगै ग्राहक र कर्मचारीलाई आवश्यक तालिम तथा जानकारी दिने काम पनि डिजीमार्फत नै सञ्चालन गरिने शर्मा बताउँछन् ।

उनी भन्छन्, ‘ग्राहकले कुनै पनि बैंकिङ सेवा सुविधा लिनु पर्दा बैंकमा पुग्नु नपरोस् भन्ने हाम्रो लक्ष्य हो । मोबाइल तथा अनलाइनबाटै अनुरोध भएर त्यहीँबाट समाधान होस् भन्नेतर्फ हामीले काम गरिरहेका छौं ।’

सुरुवात गरेको छोटा समयमै धेरै काम अघि बढिसकेको छ । जसमा एनजेन खाताको सुरुवात एउटा हो । त्यो भनेको अनलाइनबाटै खाता खोल्न सकिने र एक लाखसम्मको कारोबार अनलाइनबाटै गर्न सकिने सुविधा रहेको छ ।

अर्को कर्पोरट ग्राहका लागि ‘ई–एट नविल’ भन्ने कर्पोरेट इन्टरनेट ब‌ै‌ंकिङ सेवा खाताको सुरुवात हो । जसमार्फत कर्पोरेट ग्राहकले घरमै बसेर कर्मचरीको तलब, भेन्डरलाई पेमन्ट गर्ने लगायतका काम गर्न सक्ने सिस्टमको सुरुवात भएको छ ।

त्यतिमात्रै होइन, यसबीचमा बैंकले मोबाइल बैंकिङमा अर्को नयाँ सुविधा थपेको छ । यस अघिसम्म कुनै प्रयोगकर्ताले मोबाइल बैंकिङको पिन नम्बर बिर्सिँदा बैंकमै पुग्नु पर्ने बाध्यता रहेको थियो । अब त्यसको अन्त्य भएको छ ।

ग्राहकले माेबाइल एपबाट नै पिन परिवतर्न गर्नसक्ने सुविधा बैंकले ल्याएको छ । त्यस्तै यस अघिसम्म बैंकले एटीएम कार्डमा ‘पिन मेलर’ दिने गरको थियो ।

शर्मा भन्छन्, ‘त्यसलाई बन्द गरेर प्रयोगकर्ताले स्वयम् कार्ड लिएर एटीएम बुथबाट आफैले पिन सेट गर्न मिल्ने सुविधा उपलब्ध गराएका छौं ।

त्यतिमात्रै भएन । एटीएम कार्डको पिन बिर्सिएको खण्डमा निवेदन दिएको दुई तीन दिनसम्म कुर्नुपर्ने झन्झटको पनि अन्त्य गरेका छौं ।’

अब नविल बैंकका ग्राहकले एटीएमबाटै पिन परिवर्तन गर्न सक्छन् । मोबाइलमा आएको ओटीपीमार्फत उक्त पिन परिवर्तन गर्न सकिने व्यवस्था बैंकले गरेको छ ।

नबिल बैंकले नेपालमै पहिलो पटक फोनबाट ऋण लिने सुविधा पनि ल्याएको छ । यो सुविधा अन्तर्गत बैंकमा स्यालरी/पेराेल खाता भएका ग्राहकहरुले आवश्यकताअनुसार एक लाख रुपैयाँसम्मको ऋण मोबाइलबाटै लिन पाउनेछन् ।

नविल स्मार्ट बैंकिङ अन्तर्गत निवेदन दिएको केही मिनेटमै ग्राहकको ‘भर्चुअल क्रेडिट कार्ड’ मार्फत खातामा ऋण उपलब्ध गराइन्छ ।

‘त्यतिमात्रै नभएर ऋण प्रक्रियालाई अटोमेसनमा लान हामीले लोन अटोमाइजेसन सिस्टम खरिद गरि सकेका छौं । त्यो अबको चार/पाँच महिनामा लागू हुन्छ,’ शर्मा सुनाउँछन् ।

उनी अगाडि भन्छन्, ‘यसरी ग्राहकले अब अनलानबाटै ऋणका लागि आवश्यक प्रक्रिया पुरा गर्न सक्छन् । ग्राहकले बुझाएको डकुमेन्टको आधारमा सिस्टमले अध्ययन गरेर र त्यसलाई स्वीकृत गर्नेसम्मको काम गर्नेछ । त्यो पुरा भएपछि अहिले सात दिन लाग्ने काम केही घण्टामै हुनेछ ।’

यो विशेष गरी कर्पोरेट ग्राहक लक्षित हुने उनले जनाए । यो शटटर्म लोन हो । जुन नियमित रुपमा बैंकमा तलब आउने ग्राहकको क्षमतालाई अध्ययन गरेर उपलब्ध हुनेछ । त्यसका लागि बैंकले डिसिजन एनालिटिक्स नामक आर्टिफिसियल इन्टेलिजेन्समा आधारित एउटा इन्जिन बनाएको छ ।

उक्त इन्जिनले ग्राहकलाई कतिसम्म ऋण दिन मिल्छ भनेर विश्लेषण गर्छ । सोही विश्लेषणको आधारमा बै‌ंकका कर्मचारीले सिस्टमकै माध्यमबाट ग्राहकलाई सीमित ऋण लिने सुविधा दिइन्छ ।

उक्त सिस्टमले यदि कुनै व्यक्ति यस्तो ऋणका लागि योग्य छ भने मोबाइल बैंकिङ खोल्दाकै बखत तपाईं यति ऋण लिन योग्य हुनुहुन्छ भनेर मोबाइलमै जानकारी दिनेछ ।

यो त थियो ग्राहक पक्षका कुरा । अर्कोतर्फ बैंकभित्रको प्रविधिलाई पनि परिस्कृत गर्ने योजना उत्तिकै महत्वपूर्ण छ ।

सीआरएम, ओम्नी च्यानल, एमआईए, बिग डेटा आदिलाई कसरी खेलाउने भन्ने तिर बैंक अग्रसर भई रोडम्याप नै तयार भइसकेको शर्मा सुनाउँछन् ।

उनी अगाडि भन्छन्, ‘प्रविधिको कोणबाट बैंक कस्तो हुनुपर्छ भनेर हामीले अहिले काम गरिरहेका छौं । त्यसको एउटा प्रारुप तयार पारेर त्यसैअनुसार अघि बढ्ने योजनामा छौं ।’

अहिले बैंकसँग डेटा माइनिङ गरेर ग्राहकको व्यवहार अध्ययन गर्नसक्ने प्रविधि छैन । तर, यो पनि डिजी बैंकको एउटा परियोजनाभित्रकै विषय हो । ग्राहकले गर्ने कारोबारका आधारमा उनीहरुलाई विभिन्न सेवामा जोड्दै लैजाने सिस्टमको रुपमा यसले काम गर्नेछ ।

‘यसका लागि हामी विश्व बैंकिङ क्षेत्रमा काम गरिसकेको ह्वावे, इन्फोसिस जस्ता कम्पनीसँग परामर्श लिने चरणमा छौं । प्राप्त सल्लाह र प्रविधिको माध्ययमबाट बैकिङ प्रविधिलाई परिस्कृत गर्न सकिन्छ,’ शर्मा भन्छन् ।

बैंकले क्यासलेस (नगदरहित), चेकलेस (चेकरहित) र बैंकमा पेपरलेस (कागजरहित) कारोबार गर्ने योजनाका साथ डिजी बैंकको रणनीति अगाडि बढाएको छ । यो योजनाले युवा र पुराना दुवै पुस्तालाई समेट्न सकिने बैंकले ठानेको छ ।

यो प्रविधिको प्रयोग राजधानी काठमाडौंबाट सुरु भएपनि गाउँगाउँसम्म प्रविधिमा आधारित बैंकिङ सेवा पुर्‍याउने योजना छ । जहाँ शाखा छ, त्यहाँ सेवा पुग्ने नै भयो । जहाँ शाखा छैन, त्यहाँ एजेन्टमार्फत भए पनि बैंकको सेवा लग्ने बैंककाे याेजना छ । यसरी डिजी बैंकमार्फत गाउँगाउँसम्म पुग्ने आकांक्षा नविल बैंकले राखेको छ ।

सुरक्षा सतर्कता कस्तो छ ?

बैंकिङ सुरक्षाको हिसाबले लामो समयदेखि निरन्तर काम गर्दै आएको शर्मा बताउँछन् । ‘हामीले प्रयोग गर्ने प्रविधि भनेको विश्व बैंकिङ उद्योगमा प्रयोग भइरहेको उत्कृष्ट प्रविधि नै हो ।

कस्तो खालको हार्डवयर सुरक्षित हुन्छ, फायरवाल कस्तो जरूरी छ, नेटवर्कको सुरक्षा कसरी गर्ने आदि जस्ता पक्षमा पनि सँगसँगै काम गरिरहेका छौं,’ उनले सुनाए ।

प्रक्रियामा आउनसक्ने सुरक्षा जाेखिमलाई सधैं न्यूनिकरण गरेर बैंक अघि बढिरहेको छ । यसका लागि आवश्यक परेकाे खण्डमा तेस्रो पक्षीय परामर्शदाता पनि नियुक्त बैंकले गरेको छ । वार्षिक आइटी अडिट पनि बैंकले गर्दै आएको छ ।

कहाँ छ नेपालको डिजिटल बैंक ?

बैंकमा जुन प्रविधि भित्रिएको छ, जुन रुपमा फिनटेक कम्पनीहरुले लगानी गरिरहेका छन्, त्यो आफैंमा एउटा ठूलो उपलब्धि हो । तर, देशमा आवश्यक राष्ट्रियस्तरको पूर्वाधारमा भने कतै न कतै चुकिरहेको देखिन्छ ।

केन्द्रीय रुपमा डेटा भेरिफाइ गर्ने कुनै माध्यम छैन । हेरक ठाउँमा नयाँ केवाईसी भर्नुपर्ने झन्झट अझैं कायम छ । डिजिटल सिग्नेचरकाे प्रयोग सहज छैन ।

यतिसम्म कि हाम्रो देशमा नेशनल पेमेन्ट स्विचसमेत छैन । अहिलेसम्म घरेलु कारोबारका लागि पनि भिसा र मास्टर कार्डको नेटवर्क प्रयोग भइरहेको छ ।

यदि त्यस खालको पूर्वधार देशमै हुने हो भने खर्च कम हुने थियो र ग्राहकले सुलभ दरमा सेवा उपभोग गर्न पाउने थिए । यदि एकीकृत रुपको डेटा हुने हो भने केवाईसी भेरिफाई गर्न सजिलो हुने थियो ।

यस्ताे खालको प्रविधि हुने हो भने ग्राहक बैंकसम्म पुग्नुपर्ने वाध्यताको अन्त्य हुने थियो । तर, त्यसो नुहँदा अहिले एक पटकको लागि भएपनि बैंकमा पुग्नैपर्ने बाध्यता कायम छ ।

यदि सरकाले पूर्वाधारमा लगानी गर्ने हो र निजी क्षेत्रलाई प्रविधिमा लगानी गर्न प्रोत्साहन गर्न सक्ने हो भने छोटो समयमै ठूलो परिवर्तन सम्भव छ । अबको बैंक भनेको मोबाइल नै हो ।

नेपाल दुरसञ्चार प्राधिकरणको तथ्याङ्कलाई हेर्ने हो भने नेपालको जनसंख्याभन्दा बढी मोबाइल सब्सक्रिप्सन छ । इन्टरनेको पहुँच पनि ५५ प्रतिशतभन्दा बढी पुगिसकेको छ ।

अर्को कुरा एपको प्रयोग त्यही रुपमा बढ्दै गएको छ । जनसंख्याको तथ्याङ्कलाई हेर्ने हो भने पनि हाम्रो युवा पिँढी नै बढी छन् । त्यसैले पनि प्रविधियुक्त बैंक अबको बैंक हो भन्नेमा नै नविल बैंक अगाडि बढेको हो ।

अझ यो कोभिडले मोबाइल बैंकिङ र अनलाइन कारोबारलाई बढावा दिने काम गरेको छ । त्यसैले प्रविधिको प्रयोग गर्ने यो नै सही समय हो ।

बाध्यताले मान्छेलाई सिकाउँछ । त्यसै अवसरलाई पछ्याउँदै आफूहरु डिजी बैंकको दिशामा अगाडि बढेको शर्मा बताउँछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०