close

टेकपानाको आजको बहस दूरसञ्चारको फ्रिक्वेन्सीमाथि

टेकपाना टेकपाना

जेठ ८, २०७८ १५:१

टेकपानाको आजको बहस दूरसञ्चारको फ्रिक्वेन्सीमाथि

काठमाडौं । टेकपाना मिडियाले गत ३० चैतदेखि सुरु गरेको दूरसञ्चार नीतिगत बहस श्रृङ्खलामा आजको कार्यक्रम फ्रिक्वेन्सी व्यवस्थापनमाथि केन्द्रित हुने भएको छ । हरेक हप्ता दूरसञ्चारका फरक फरक विषयमा हुँदै आएको यो कार्यक्रम टेकपानाको युट्युव च्यानल, फेसबुक पेजमा लाइभ प्रसारण हुनेछ ।

आजको बहसमा नियामक नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक अम्बर स्थापित, सीजी टेलिकमका प्रबन्ध निर्देशक निर्वाण चौधरी र नेपाल टेलिकमका उपप्रबन्धक निरोल कोजू प्यानलिस्टको रुपमा रहनेछन् । कार्यक्रमको मोडेरेसन भने टेलिकम इन्जिनियर केशव ज्ञावालीले गर्नेछन् ।

कार्यक्रममा फ्रिक्वेन्सीको पर्याप्तता, फोरजी भीओएलटीई डिभाइस इकोसिस्टम, यसले सेवामा पार्ने प्रभाव र दूरसञ्चार सेवाको अनुमतिपत्र लगायतका विषयमा चर्चा हुनेछ ।

कार्यक्रमको प्यानलिस्टको रुपमा रहने स्थापित सन् १९९८ देखि नेपाल दूरसञ्चार प्राधिकरणमा सेवारत छन् । त्यसयता नेपालको दूरसञ्चार फ्रिक्वेन्सी व्यवस्थापनमा प्रत्यक्ष रुपमा संलग्न हुँदै आएका उनी हाल फ्रिक्वेन्सी महाशाखाको नेतृत्व सम्हालिरहेका छन् । उनले इन्जिनियरिङमा पोस्ट ग्र्याजुएट गरेका छन् ।

त्यस्तै सीजी टेलिकमका प्रबन्ध निर्देशक चौधरी नेपालको सबैभन्दा ठूलो व्यवसायिक घराना चौधरी ग्रुपका समेत प्रबन्ध निर्देशक हुन् । योङ्ग ग्लोबल लिडर फोरम, नेपाल उद्योग परिसंघ, बीआरआई एसडीजी, युनाइटेड नेसन्स ग्लोबल कन्ट्याक्ट आदि जस्ता संस्थामा समेत संलग्न उनले काठमाडौं विश्वविद्यालयबाट बीबीए गरेका हुन् ।

त्यसबाहेक एमआईटी एन्ड लन्डल बिजनेस स्कुल अफ आन्ट्रपेनरशिप एजुकेसनबाट उनले स्नातकोत्तर डिग्री हासिल गरेका छन् ।

वि.सं. २०५९ सालमा इन्जिनियरको रुपमा नेपाल टेलिकम प्रवेश गरेका निरोल कोजूले त्यसयता लगाता रुपमा कम्पनीको मोबाइल सेवामा काम गर्दै आएका छन् । पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट इलेक्ट्रोनिक्स कम्युनिकेसनमा बीई तथा इन्फरमेसन कम्युनिकेसन इन्जिनियरिङमा मास्टर पुरा गरेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१