close

कहिले काहिँ किन स्लो हुन्छ इन्टरनेट ?

टेकपाना टेकपाना

जेठ २४, २०७८ १७:१

कहिले काहिँ किन स्लो हुन्छ इन्टरनेट ?

पुस्कर बडाल/-
कोभिड-१९ को दोस्रो लहरसँगै सरकारले देशव्यापी निषेधाज्ञा जारी गरेको छ । मानिसहरू घरभित्रै सुरक्षित भएर बसिरहेका छन् । यस्ताे बेला कर्मचारीहरू घरबाटै अफिसको काम गरिरहेका छन् । विद्यार्थीहरू घरबाटै अनलाइन कक्षामा सहभागी भइरहेका छन् । सभा सम्मेलन अनलाइनबाटै भइरहेका छन् ।

यस्तो अवस्थामा इन्टरनेटको खपत बढ्नु स्वभाविकै हो । घरमा बढ्दो इन्टरनेट खपतको भार स्वभाविक रुपमा इन्टरनेट सेवाप्रदायकलाई पर्न जान्छ । यसर्थ इन्टरनेट खपतको व्यवस्थापन सेवाप्रदायकका लागि चुनौतीको विषय हाे । तर, यो भन्दैमा इन्टरनेट स्लो हुनुको कारण सेवा प्रदायकको कमजोरीमात्रै पक्कै होइन ।

हाम्रो इन्टरनेट प्रयाेगको शैली परिवर्तन भएको छ । कुनै समय बिहान र बेलुकामात्रै इन्टरनेट प्रयोग गर्ने हामी अहिले २४सै घण्टा इन्टरनेमा जोडिएका हुन्छौं । काेही अफिसकाे काम, काेही अनलाइन क्लास र काेही सामाजिक सञ्जाल चलाउँदै बसिरहेका हुन्छाैं ।

यसरी निरन्तर रुपमा इन्टरको खपत भइरहँदा हामीले सबैभन्दा ध्यान दिनुपर्ने कुरा यो हो कि हाम्रो घरमा जडित इन्टरनेटको लागि चाहिने राउटर अथवा डिभाइस सबै इलेक्ट्रोनिक सामान नै हाे, जसकाे लगातार प्रयोग गर्दा कार्यक्षमता घट्दै जान्छ । यसले गर्दा राउटरले गर्ने कामको गतिमा सुस्तता आउँछ । त्यसैको फलस्वरुप इन्टरनेटको गति सुस्त भएको आभाष हुन्छ । यसरी इन्टरनेको गती सुस्त भएसँगै हामी रिसाउँदै सेवाप्रदायकलाई गुनासो गर्न थाल्छौं ।

त्यसरी फोन गर्दा सेवाप्रदायकको सपोर्टमा बस्ने सम्बन्धित प्रतिनिधिले तपाईंलाई दिने जवाफ भनेको केही समय त्यो राउटर अथवा डिभाइसलाई अफ गरेर अन गर्नु भन्ने नै हो । त्यो गर्दा केही समयको लागि पुनः इन्टरनेट राम्रो गतिमा चलेको महसुस हुन्छ । यसको अर्थ सपोर्टमा बस्ने सम्बन्धित प्रतिनिधिले दिने जवाफमा कुनै गलत छैन ।

त्यो स्वभाविक पनि हो । किनभने यसो गर्दा तातेको डिभाइस विस्तारै सेलाउदै जान्छ र फेरि आफ्नै पुरानो कार्यक्षमता अनुसार काम गर्न थाल्छ । जसले गर्दा इन्टरनेट पूनः राम्रोसँग चल्छ । त्यसैले समय–समयमा इन्टरनेटको राउटर बन्द गर्दै खोल्नु आवश्यक हुन्छ ।

यसका साथै इन्टरनेटको गति सुस्त हुने अर्को कारण हामीले नै प्रयोग गरिरहने मोबाइल, ल्यापटप, ट्याब्लेट, कम्प्युटरलगायतका सामग्रीको कार्यक्षमतामा पनि भर पर्छ । सबै प्रयोगकर्ताको समान क्रयशक्ति हुँदैन, कसैले लाखौं पर्ने सामग्री प्रयोग गरिरहेका हुन्छन भने कसैले सस्ताे मूल्यकाे उपकरण प्रयाेग गर्छन् । मूल्यअनुसार पनि सामग्रीकाे कार्यक्षमता पहिचान गर्न सकिन्छ ।

जसको कार्यक्षमता राम्रो छ, उक्त उपकरणले राम्रोसँग काम गर्छ भने कम क्षमताको डिभाइसले त्यसैअनुसार काम गर्छ । यसले गर्दा जसले कम क्षमताको डिभाइस चलाइरहेका छन्, उनीह रुले त अझबढी इन्टरनेटको गति सुस्त भएको महसुस गर्नु स्वभाविक हो । अब सबैले उच्च गुणस्तरकै मोबाइल, ल्यापटप प्रयोग गर्नुपर्छ भन्न त सकिँदैन, मान्छेको आफ्नो–आफ्नो क्रयशक्तिको कुरा हुन्छ ।

इन्टरनेटको प्याकेज लगायत, स्पीड सबैको लगभग उही नै छ । तर त्यसका प्रयोगकर्ता कोही महिनाको लाखौं, करोडौं कमाउने छन् भने कोही केही हजारमा गुजारा गर्ने पनि हुन्छन । यो यथार्थ हाे ।

अर्को कुरा हामीले प्रयोग गर्ने राउटरमा पनि भर पर्छ । हामी लाखौं रुपैयाँ पर्ने मोबाइल लगायत ल्यापटप किन्छौं । तर अलि राम्रो कार्यक्षमता भएको राउटर किन्न एकदमै कन्जुस्याई गर्छौ । यो कन्जुस्याईले पनि इन्टरनेटको स्लो हुने समस्या भोग्नु परिरहेको छ । यदी हामीले स्मार्टफोनमा लाखौं खर्च गर्दा राउटरमा त्यसको केही अंशमात्रै खर्च गर्ने हो भने पनि इन्टरनेटको गतिमा लगभग ९९ प्रतिशत सुधार आउने छ ।

लेखक इन्टरनेट सेवाप्रदायक संघ नेपालका काेषाध्यक्ष तथा इन्टरनेट सेवाप्रदायक कम्पनी इस्टलिंक प्रालिका सञ्चालक हुन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१