काठमाडौं । भारतकाे बिहार राज्यमा अब अनलाइनबाटै प्रहरी कार्यालयमा गुनासो दर्ता गर्न सकिने व्यवस्था सुरू भएकाे छ । बिहार प्रहरीले आफ्नो वेबसाइट अपडेट गरेसँगै अब पीडितहरूले आफ्नो गुनासो अनलाइनबाटै दर्ता गराउन मिल्ने भएको हो ।
पीडितले वेबसाइटमा रहेको ‘अनलाइन पुलिस कम्प्लेन्ट इन बिहार’ भन्ने अप्सनमा गएर आफ्नो गुनासो दर्ता गराउन सक्ने छन् ।
त्यस्तै एन्ड्रोइड र आईफोन दुबै प्रयोगकर्ताले बिहार प्रहरीको मोबाइल एप डाउनलोड गरेर सो एपबाट पनि गुनासो दर्ता गराउन सक्नेछन् ।
गुनासो दर्ता भइसकेपछि सो दर्ता सम्बन्धित निकायसम्म जान्छ । गुनासो गर्ने व्यक्तिले आफ्नो गुनासोमा के कति काम भइरहेको छ भनेर पनि वेबसाइट अथवा मोबाइल एपबाट ट्रयाक गर्न मिल्छ ।
त्यस्तै उक्त गुनासोमा प्रहरीले कस्तो कारबाही गर्यो भनेर पनि मोबाइलमा म्यासेजमार्फत जानकारी गराइने स्थानीय मिडियाले जनाएका छन् ।