close

च्याट जीपीटीका कारण २९ अर्ब डलर पुग्यो ओपन एआई कम्पनीको मूल्य

टेकपाना टेकपाना

पुस २४, २०७९ १८:४४

च्याट जीपीटीका कारण २९ अर्ब डलर पुग्यो ओपन एआई कम्पनीको मूल्य

काठमाडौं । गत नोभेम्बर २९ मा सार्वजनिक भएको ओपन एआई च्याटजीपीटीको मूल्य २९ अर्ब डलर कायम भएको छ । छोटो समयमै टुलले पाएको लोकप्रियताका कारण ओपन एआई कम्पनीले उल्लेखनीय मूल्य कायम गरेको हो ।

द वाल स्ट्रिट जर्नलमा प्रकाशित एक रिपोर्ट अनुसार भाइरल च्याटजीपीटी निर्माण गर्ने कम्पनी ओपन एआईले २९ अर्ब डलरमा शेयर बिक्री गर्ने प्रस्ताव राखेको छ । सन् २०२१ मा सम्पन्न टेन्डर प्रस्तावबाट ओपन एआई कम्पनीको मूल्याङ्कन लगभग १४ अर्ब डलर रहेको थियो ।

अहिले कम्पनीको मूल्य दोब्बरले बढेर २९ अर्ब पुगेको हो । भेन्चर क्यापिटल फर्म थ्राइभ क्यापिटल र फाउण्डर्स फन्डसँग सम्झौताका लागि छलफल भइरहेको बताइएको छ ।

यदि यो छलफल सम्पन्न भएको खण्डमा ओपनएआई अमेरिकाको सबैभन्दा मूल्यवान स्टार्टअपहरू मध्येको एक बन्नेछ । कम्पनीको मूल्यमा उल्लेखनीय वृद्धि हुनुको कारण च्याट जीपीटीको लोकप्रियतालाई मानिएको छ ।

उक्त प्लेटफर्म सार्वजनिक भएको पहिलो पाँच दिनमा दश लाख बढी प्रयोगकर्ता जोडिएका थिए । ओपन एआईको उक्त प्लेटफर्म च्याटजीपीटी अहिले निःशुल्क उपलब्ध छ ।

निःशुल्क उपलब्ध यो प्लेटफर्मका कारण कम्पनीको मूल्य बढेकोमा विश्लेषकहरू अचम्मित छन् । ओपन एआईले डेभलपरलाई आफ्नो एआई सफ्टवेयर बिक्री गरी लाखौँ डलरको आम्दानी गर्छ ।

उदाहरणका लागि आपोन एआईले हाल माइक्रोसफ्टलाई क्लाउड सेवा प्रदान गरिरहेको छ । उक्त क्लाउड सेवाले प्रयोगकर्ताहरूलाई सरल निर्देशनहरू प्रयोग गरेर पाठ सिर्जना गर्न र कोडिङ गर्न सघाउँछ ।

एक अनुसन्धान संस्थाको रूपमा रहेको ओपन एआईलाई सन् २०१५ मा नाफामुखी संस्थाको रूपमा स्थापना गरिएको थियो । तर, उक्त कम्पनी सन् २०१९ बाट सीमित नाफामा चल्न थाल्यो ।

अर्थात् उक्त कम्पनी नाफा त कमाउँछ, तर त्यसको नाफा सीमित मात्रामा हुन्छ । नाफा भएको उक्त रकम ओपन एआईले विभिन्न ठाउँमा अनुदानको रूपमा वितरण गर्छ ।

ओपन एआईलाई माइक्रोसफ्ट, एलन मस्क र साम अल्टम्यान जस्ता धनाढ्य कम्पनी र व्यक्तिले आर्थिक सहयोग गरिरहेका हुन्छन् । सन् २०१९ मा माइक्रोसफ्टले ओपनएआईमा एक अर्ब डलर लगानी गरेको थियो ।

अहिले माइक्रोसफ्टले एआई व्यवसायमा सम्भावित ठूलो लगानीको विषयमा आन्तरिक छलफल चलाएको छ । सम्भवतः ओपन एआईमा दशौं अर्ब डलरको लगानी हुन सक्नछ ।

थप लगानी पाउनासाथ ओपन एआईले आफ्नो एआई प्रविधिलाई माइक्रोसफ्टका अन्य उत्पादनहरूसँग जोड्न सक्छ । यो हप्ता माइक्रोसफ्टले आफ्नो बिङ सर्च इन्जिनमा च्याटबटबाटको रूपमा ओपन एआईको च्याटजीपीटी प्रविधि समावेश गर्ने योजना बनाएको द वाल स्ट्रिटको रिपोर्टमा उल्लेख छ ।

बिङमा कुनै पनि कुरा सर्च गर्दा अहिले लिङ्कहरू देखाउँछ । प्रयोगकर्ताले आफ्नो आवश्यकता अनुसार विभिन्न लिङ्कमा जानुपर्ने हुन्छ । तर, च्याटजीपीटी जोडिएपछि बिङबाटै च्याटजीपीटीको सेवा पाउन सकिनेछ ।

यो वर्षको मार्च अन्त्यसम्ममा सो फिचर बिङमा उपलब्ध हुने अपेक्षा गरिएको छ । यसले माइक्रोसफ्टलाई गुगलभन्दा बढी लाभ पुर्‍याउने विज्ञहरूले बताएका छन् ।

पछिल्लो अध्यावधिक: पुस २४, २०७९ १८:४४