close

ह्याकिङका लागि यसरी प्रयोग हुँदैछ ‘च्याटजीपीटी’

टेकपाना टेकपाना

पुस २५, २०७९ ८:३१

ह्याकिङका लागि यसरी प्रयोग हुँदैछ ‘च्याटजीपीटी’

काठमाडौं । पछिल्लो केही महिनामा एआई टुल ‘च्याटजीपीटी’ प्रविधिको दुनियाँमा निकै चर्चामा छ । कुनै पनि प्रश्नको जवाफ होस् या प्रतिवेदन तथा सफ्टवेयर कोड तयार गर्नका लागि नै किन नहोस्, यो निकै प्रभावकारी हुँदै आएको छ । 

अझ यती बेला धोकाधडी पूर्ण क्रियाकलाप फैलाउनका लागि ह्याकरहरुले च्याटजीपीटी प्रयोग गरिरहेको विषय बाहिरिएको छ ।

साइबर सेक्युरिटी अनुसन्धान कम्पनी ‘चेकपोइन्ट’ को एक अध्ययन अनुसार साइबर अपराधीहरुले मालिसियस टुल निर्माणका लागि च्याटजीपीटी प्रयोग गरिरहेको पाइएको छ ।  

साइबर अपराधीहरुले यसैमार्फत इन्फोस्टिलर (डेटा चोरी गर्ने टुल) , इन्क्रिप्सन टुल लगायत निमार्ण गरी ठगि गर्ने लगायतका क्रियाकलाप गरिरहेको पाइएको हो ।

अध्ययनका अनुसार एक जना अज्ञात प्रयोगकर्ताले केही समयअघि ह्याकिङ फोरममा ‘च्याटजीपीटी–बेनिफिट्स अफ माल्वेयर’ नामक प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त प्रतिवेदनमा उनले च्याटजीपीटीको प्रयोग गरी प्राविधिक रुपमा सामान्य जानकारी भएका साइबर अपराधीहरुले समेत टुल निर्माण गर्न सक्ने दाबी गरेका थिए ।

उनको दाबी अन्ततः सावित भएको छ । अनुसन्धानको क्रममा मल्टी–लेयर इन्क्रिप्सन टुल निर्माणका लागि साइबर अपराधीहरुले च्याटजीपीटी प्रयोग गरिरहेको देखिएको हो । 

यसअघि सन् २०२२ को डिसेम्बर २१ मा एक जना साइबर अपराधीले पाइथनको स्क्रिप्ट सार्वजनिक गरेका थिए । अमेरिका सुरक्षा विभागको वेबसाइटमार्फत मालिसियस लिक फैलाउनका लागि उनले उक्त स्क्रिपट तयार पारेका थिए । 

उक्त स्क्रिप्ट सो व्यक्तिले पहिलोपटक तयार पारेको समेत बताएका थिए । जसका लागि उनले च्याटजीपीटीको सहयोग लिएको उनको भनाइ थियो । 

यसका साथै च्याटजीपीटले डार्क वेब मार्केटप्लेस कसरी बनाउने बारेमा समेत जानकारी दिने बताइएको छ । डार्क वेब मार्केटप्लेसमार्फत अवैधानिक कारोबारका साथै चोरी भएको सामान र लागु औषध समेत बिक्रि गर्ने गरिन्छ । यस्तोमा च्याटजीपीटीले यसलाई समेत थप प्रोत्साहन गरिरहेको अध्ययनमा उल्लेख गरिएको छ ।  


 

पछिल्लो अध्यावधिक: पुस २५, २०७९ ८:३१