काठमाडौं । शुक्रबार प्रदर्शनमा आएको चलचित्र 'छक्का पञ्जा ४' का क्लिपहरू सामाजिक सञ्जालमा भाइरल भएपछि टिमले कानुनी सहायता लिने भएको छ ।
रिजिल भए लगतै फिल्ममा क्लिप सामाजिक सञ्जाल टिकटक, युट्युब र फेसबुकमा आउन थालेपछि त्यसलाई नियन्त्रण गर्न निर्माता टिम कानुनी प्रक्रियामा जाने भएको हो ।
उक्त फिल्ममा अभिनय गरेका हाँस्यकलाकार केदार घिमिरे (माग्ने बुढा) ले सामाजिक सञ्जाल फेसबुकमा पोस्ट राख्दै कानुनी झमेलाबाट बच्न भिडिओ डिलिट गर्न अनुरोध गरेका छन् ।
"कानुनी प्रक्रियाका लागि ओएसआर (OSR) र अन्य व्यक्तिहरू (cyber)प्रहरीमा जाँदैछन् भन्ने सूचना भर्खरै पाएँ," उनले लेखेका छन्, "कृपया आफूले अपलोड गरेको चलचित्रको भिडियो डिलिट गरी कानुनी झमेलाबाट बच्नुहोला ।"
यसबारे टेकपानासँग कुरा गर्दै फिल्मका निर्माता दिपकराज गिरीले यसको समाधानका लागि साइबर ब्युरोसँग छलफल गरिरहेको जानकारी दिएका थिए । "हामीले यस विषयमा साइबर ब्यूरोसँग पनि छलफल गरेका छौँ । उहाँहरूले कारबाही अगाडि बढाउने कुरा त राख्नुभएको छ," उनले बताए ।
यद्यपि यस्तो अवस्थामा साइबर ब्युरोले प्राविधिक सहयोग मात्र गर्न सकिने विभागका सूचना अधिकारी प्रहरी उपरीक्षक पशुपति कुमार रायको भनाइ छ । उनले सो टिमलाई जिल्ला प्रहरी परिसर वा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी दिन सुझाव दिएका छन् ।
प्रतिलिपि अधिकार ऐन, २०५९ मा यसरी बिनाकुनै अनुमति भिडिओ प्रसारण गर्ने व्यक्ति वा संस्थामाथि कारबाही हुने व्यवस्था छ ।
यस व्यवस्था अन्तर्गत हलभित्र चलचित्र प्रदर्शन भइरहेको समयमा भिडियो खिच्ने र अनधिकृत रुपमा टिकटक तथा अन्य सामाजिक सञ्जालमा प्रयोग गर्ने/गराउनेलाई सो ऐन बमोजिम कसूरको मात्रा अनुसार दश हजार रुपैयाँ देखि एक लाख रुपैयाँसम्म जरिवाना वा ६ महिनासम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।