काठमाडौं । अमेरिकाकी कोरल अमायीले सन् २००७ मा एउटा डिजिटल क्यामेरा किनेकी थिइन् । ओलम्पस स्टाइलस ७९० एसडब्लू मोडेलको उक्त क्यामेरा त्यो समयको स्तरीय क्यामेरा मानिन्थ्यो । उनी आफ्नो क्यामेरा लिएर विभिन्न ठाउँमा घुम्न जान्थिन् ।
क्यामेरा खरिद गरेको तीन वर्षपछि अर्थात् सन् २०१० मा उनी संयुक्त राज्य अमेरिकाको कोलोराडो नदीमा र्याफ्टिङ गर्न गएकी थिइन् । र्याफ्टिङ गर्न जानु ठीक अघि उनले साथीहरूसँग बसेर रक्सी पिएकी थिइन् ।
साथीहरूसँग र्याफ्टिङ गर्ने क्रममा अमायीको क्यामेरा पानीमा खस्यो । उनका साथीहरूले उक्त क्यामेरा फेला पार्ने कैयन् प्रयास गरे, तर भेटिएन ।
उनको क्यामेरा त हरायो, तर त्यो भन्दा पनि मूल्यवान उनले खिचेका फोटोहरू गुमाउन पुगिन् । त्यसमा स्नातकोत्तर पढ्दै गर्दा खिचेका फोटो, साथीको बिहेमा खिचेका फोटो, घरमा भएको कुकुरको फोटो उनका लागि निकै महत्त्वपूर्ण थिए ।
क्यामेरा हराएपछि उनलाई आफ्नो जीवनको मूल्यवान वस्तु हराएको अनुभूति भयो । "क्यामेरा हराएपछि म रुन थालेँ," उनले फक्स टेलिभिजनसँगको एउटा अन्तर्वार्तामा भनेकी छिन्, "मेरो प्रेमी मसँग रिसाइरहेका थिए । तर, मैले पिएको भएर त्यति धेरै वास्ता गरेन । म क्यामेरा हराएको कुरा सम्झेर त्यसबेला रोइरहेँ ।"
उनी मार्च २०२३ सम्म पनि उनले सबै कुरा गुमाइसकेको महसुस गर्थिन् । सौभाग्यवश हराएको क्यामेराका बारेमा फेसबुकमा नोटिफिकेसन आउन थाल्यो । १३ वर्ष बितिसकेको थियो । उनी बेलाबखत हराएको क्यामेरा सम्झेर टोलाइरहेकी हुन्थिन् ।
झन्डै १३ वर्षपछि स्पेन्सर ग्राइनर भन्ने व्यक्ति उक्त नदिमा माछा मार्न गएका थिए । उनले नदीको किनारमा थुप्रिएको माटोमा फोहोरसँगै त्यो क्यामेरा फेला पारे । उनले उक्त क्यामेरा केही काम लाग्छ भन्ने सोचेकै थिएनन् । तर, पनि क्यामेरामा केही भेटिन्छ कि भनेर घरमा लगे । आश्चर्यजनक कुरा के भने क्यामरामा भएका फोटो र भिडिओहरू बिग्रिएका थिएनन् ।
उक्त क्यामेराको मालिक फेला पार्न त्यसबाट रिकभर गरेका फोटो ती व्यक्तिले फेसबुक ग्रुपमा राखे । "कसैले १२ जुन २०१० मा डुराङ्गो क्षेत्रमा बिहे गरेको थियो ?," ग्राइनरले फेसबुक ग्रुपको पोस्टमा लेखेका थिए, "यी फोटोमा भएका मध्ये तपाईंले कसैले चिन्नुहुन्छ ?"
उक्त फेसबुक ग्रुपका एक सदस्यले अमायीलाई उक्त पोस्टको कमेन्टमा मेन्सन गरे । "मैले क्यामेरा हराउँदा जो साथी हामीहरूसँगै र्याफ्टिङ गरिरहेको थियो, उसले मलाई फेसबुकमा अपलोड भएको फोटोमा तलपट्टि देख्यो," अमायीले फक्स टेलिभिजनलाई भनिन्, "उसले मेरो क्यामेरा हराएको सम्झेर मलाई मेन्सन गरेको रहेछ ।"
क्यामेरा भेटिएको थाहा पाएपछि अमायी दङ्ग थिइन् । खुसीले उनी बाथरूममा गएर नाच्न थालिन् । उनी भन्छिन्, "म त खुसीले हावामै उडेँ नी ।"
अमायीले क्यामेरा हराएपछि फोटोग्राफीको प्रचलनमा नै परिवर्तन आइरहेको थियो । उनी अहिले पनि फोनको क्यामेराबाट फोटो खिच्ने गर्छिन् । यसमा परिवर्तन नभएको भनेको उनको क्यामेरामा कैद भएका फोटो र साथीहरूसँग बिताएका स्वर्णीम पलहरू थिए ।
उनी क्यामेरा भेटेर फेसबुक ग्रुपमा पोस्ट गर्ने ग्राइनरलाई सधैं सम्झी रहन्छिन् । ग्राइनर जस्तै मान्छेका कारण संसार सुन्दर भएको उनी बताउँछिन् । अमायीले भने अनुसार उनले पनि सन् २०१३ मा अरिजोनाको नदिमा औँठी भेटाएकी थिइन् ।
आफूले हराएको क्यामेरा फेला पार्दा जस्तो अनुभव गरिन्, उक्त औँठी हराउने व्यक्तिले पनि त्यस्तै अनुभव गर्न पाओस् भन्ने उनको चाहना छ ।