close

कम्प्युटर भाइरससँग जोडिएको ३२ सय वर्षअघिको रोचक कहानी

टेकपाना टेकपाना

बैशाख २३, २०८० १७:२

कम्प्युटर भाइरससँग जोडिएको ३२ सय वर्षअघिको रोचक कहानी

काठमाडौं । संसारको सबैभन्दा खतरनाक भाइरस के हाेला ? तपाईँले ‘वानाक्राई’ (wannacry) को नाम सुन्नुभएकाे छ हाेला । याे एउटा ट्राेजन भाइरस हाे, जसले १५० देशका दुई लाख ३० हजार बढी कम्प्युटरमा आक्रमण गरिसकेको छ ।

यो ट्रोजन हर्स भाइरस सन् २०१७ मा मात्र पत्ता लगाइएको थियो । तर, त्यो बेलासम्म यो भाइरसले चार अर्ब डलर बढी क्षति गरिसकेको थियो ।

ट्रोजन हर्स यस्तो भाइरस हो, जुन ह्याकरले झुक्याएर हाम्रो कम्प्युटर वा मोबाइल डिभाइसमा प्रवेश गराउँछन् ।

यहाँ बुझ्नुपर्ने कुरा यस्तो भाइरसलाई ट्रोजन हर्सको नाम किन दिइयो ? ट्रोजन हर्सको वास्तविक अर्थ के हो ? संसारको पहिलो ट्रोजन हर्स सन् १९७५ मा निर्माण गरिएको थियो ।

तर, यसको सुरुवात आजभन्दा ३२ सय वर्षअघि प्राचीन ग्रीस (जहाँ अहिले टर्की रहेको छ) बाट सुरु भएको मानिन्छ । प्राचीन ग्रीसमा एउटा ‘ट्रोय’ (Troy) नामको सहर थियो ।

प्राचीन समयमा सहरलाई आक्रमणबाट जोगाउन त्यसको वरपर कडा किसिमको पर्खालले घेरिएको हुन्थ्यो । यसले गर्दा दुश्मनले हमला गरेपनि त्यति सजिलै भित्र प्रवेश गर्न सक्दैनथे । त्यही ट्रोय सहरमा बस्ने मानिसहरूलाई ट्रोजन भन्ने गरिन्थ्यो ।

यो सहर एजियन समुन्द्रको किनारामा अवस्थित थियो । त्यस्तै समुन्द्रको अर्को भागमा (जहाँ अहिले ग्रीसको राजधानी एथेन्स छ) एकियन (Achaean) नामको एक सभ्यता थियो । यसलाई आज ग्रीक सभ्यता नामले चिन्ने गरिन्छ ।

भनिन्छ, यी दुवै सहरका शासकबीच कुनै कुरामा पनि विचार मिल्दैनथ्यो । यसको प्रमाण स्वरुप 'एकियन' अर्थात् ग्रीक नागरिकले समुन्द्र पार गरे र ‘ट्रोय’ सहरलाई कब्जा गर्न पुगे । त्यसबेला ग्रीक सेना आफ्नो जङ्गी क्षमताले परिचित थिए । उनीहरूलाई ट्रोय सहर कब्जा गरेर पुनः आफ्नो सहरमा फर्किन सकिन्छ भन्ने विश्वास थियो ।

तर, कैयौं दिनसम्म मेहनत गरेर लडाइँ गर्दा पनि उनीहरू ट्रोय सहर कब्जा गर्न सकेनन् । त्यसपछि उनीहरूले यस्तो योजना बनाए, जसले उनीहरूलाई ट्रोय सहर कब्जा गर्न सहयोग गरोस् । त्यसपछि उनीहरूले ट्रोय सहरको सिमानालाई घेर्ने योजना बनाए ।

यसो गर्दा ट्रोय सहरभित्र भित्रिने खाद्यान्न लगायत अन्य सामग्रीको अभाव हुन्थ्यो । र, खानाको अनिकाल भएपछि ट्रोजन अर्थात् ट्राेयका बासिन्दा आत्मसमर्पण गर्दै बाहिर आउन बाध्य हुन्छन् भन्ने उनीहरूको विश्वास थियो ।

दिनहरू बिते, महिना बिते र वर्ष पनि बिते । ग्रीसको ट्रोयभित्र प्रवेश गर्ने प्रयास १० वर्षसम्म असफल भयो । जति प्रयास गरेपनि ट्रोय सहरभित्र प्रवेश गर्ने उनीहरूको योजना कुनै न कुनै रूपमा विफल भइरहेको थियो ।

अर्कोतर्फ ट्रोयका सेना अर्थात् ट्रोजन सेना आफ्नै गढमा बसेर सहरलाई सुरक्षा दिइरहेका थिए । यतिका वर्षसम्म उनीहरूलाई कुनै पनि असर परेको थिएन ।

तर, ग्रीक सेना भने आफ्नो सहरभन्दा टाढाको सहरमा आक्रमण गर्न निस्किएका थिए । त्यतिका वर्षसम्म परिवारभन्दा टाढा हुनुको पिरले उनीहरूलाई सताइरहेको थियो ।

हरेक योजना विफल हुँदा ग्रीक सेनाले हार मानिसकेका थिए । उनीहरूको आत्मविश्वास दिनानुदिन घट्दै गइरहेको थियो । कैयौं सेना आफ्नो घर फर्किने मनस्थितिमा पुगिसकेका थिए ।

जब ग्रीक सेनाले आफ्नो हारलाई नजिकैबाट नियालिरहेका थिए, त्यहीबेला .सेना प्रमुखको मस्तिष्कमा एउटा विचार आयो । त्यसपछि उनीहरूले काठको एउटा ठूलो घोडा बनाउन सुरु गरे ।

उनीहरूको यो तरिका देख्दा ट्रोजन सेनाले आफूलाई ग्रीसले नयाँ तरिकाले हराउन खोजेको अनुमान लगाइसकेका थिए । तर, ट्रोजन सेनालाई ग्रीक सेनाले घोडा बनाउनुको वास्तविक कारण भने थाहै थिएन ।

केही महिनाको कडा मेहनतले ग्रीक सेनाले बडेमानको काठको घोडा तयार पारे । र, एक साँझ ट्रोजन सेनालाई एक सन्देश छोड्दै आफूहरू सधैका लागि उक्त सहर छोडेर जान लागेको खबर पठाए ।

त्यही रात ग्रीक सेना घोडा त्यहीँ छोडेर आफ्नो सहरतिर लागे । बिहान ट्राेजनहरू बाहिर निस्किँदा त्यहाँ १० वर्षदेखि देख्दै आएका ग्रीकहरू थिएनन् । उनीहरूले उपहार स्वरूप उक्त घोडा त्यही छोडेर गएका थिए ।

ट्रोजनका लागि यो खुसीको कुरा थियो । एक त उनीहरूले आफ्नै दुश्मनबाट ठूलो घोडा उपहार पाएका थिए । अर्कोतर्फ १० वर्षदेखि सिमानामा ढुकिरहेका ग्रीक सेना आफैं बाटो लागेका थिए ।

यति देखेपछि ट्रोजनले उक्त घोडा सहजै स्वीकारे । र, उल्लास मनाउँदै बडेमानको काठको घोडा पर्खालभित्र लगेर गए । त्यही समयमा ट्रोजनका एक वृद्धले उनीहरूलाई घोडा भित्र नलग्न सुझाव दिएका थिए । तर, ट्रोजन ती वृद्धको कुरा सुन्ने पक्षमा थिएनन् । बरु उल्टै उनीहरूले हाँसी खुसी घोडालाई उपहार सम्झी आफ्नो सिमानाभित्र लगेर गए ।

त्यस रात ट्रोजन धेरै नै खुसी थिए । १० वर्षसम्म लगातार भएको युद्ध सम्पन्न भइसकेको थियो । उनीहरू नाचगान, भोजभतेरमा मस्त थिए । यसरी रमाएपछि जब उनीहरू थाके, त्यसपछि त्यही घोडाको भित्रबाट सेनाहरू निस्किए ।

वास्तवमा ग्रीक सेनाले ट्रोजनलाई धोका दिएका थिए । यता घोडाबाट निस्किएका सेना त छँदै छन् । तर, जो बाहिरबाट गइसके भनिएका सेनाहरू थिए, उनीहरू पनि आफूलाई पायक पर्ने ठाउँमा लुकेर बसेका थिए ।

काठको घोडाबाट निस्किएका ग्रीक सेनाले सिमानामा लगाइएको ढोका खोले । त्यसपछि लुकेका आफ्ना साथीहरूलाई भित्र प्रवेश गर्ने इसारा दिए ।

यति गरेपछि रातको समय पारेर ग्रीक सेनाले १० वर्षको पर्खाइको आडम्बर निकाले र सबै ट्रोए सहरमा आगो लगाइदिए । हो, यही घटनाबाट ट्रोजन हर्सको अवधारणाको जन्म भएको थियो ।

त्यही प्रकृतिको ट्रोजन हर्स तीन हजार दुई सय वर्षपछि पनि आज मोबाइल फोन वा कम्प्युटरमा प्रवेश गर्ने विभिन्न बाटो खोजिरहेको हुन्छ ।

तपाईंलाई कसैले झुक्याएर वा तपाईंले कुनै सङ्क्रमित यूएसबी डिभाइस प्रयोग गर्नुभयो भने तपाईंको डिभाइसमा ट्रोजन हर्स मालवेयर फैलिने जोखिम बढी हुन्छ । नेपालमा केही समयअघि चर्चामा आएको 'नेपाली गर्ल' एप पनि ट्रोजन मालवेयरको उदाहरण हो ।

त्यसमा प्रयोगकर्तालाई अश्लील गतिविधिका लागि युवतीहरूसँग जोड्न सघाउने भन्दै प्रयोगकर्ताको डिभाइसमा भाइरस प्रवेश गराइएको थियो ।

'नेपाली गर्ल' ट्रोजन हर्स मालवेयरका कारण आर्थिक वर्ष २०७९/८० को पुष महिनासम्म २८ लाख रुपैयाँ ठगी भएको निवेदन परेको थियो । विभिन्न कम्पनीको वार्षिक उत्सवमा उपहार परेको, नम्बर छानिएर लट्री परेको भन्दै पठाइएका लिङ्कहरू ट्राेजन भाइरसका उदाहरण हुन् ।

यस्ता लिङ्कमा क्लिक गरिसकेपछि ती भाइरस तपाईँको डिभाइसमा प्रवेश गर्छन् । र, ह्याकरले तपाईंको डिभाइसलाई आफ्नो नियन्त्रणमा लिएर चाहे जसरी त्यसको दुरुपयोग गर्छन् । यस्ता ट्रोजन हर्स मालवेयरका कारण तपाईं क्षणभरमै करोडपतिबाट रोडपतिमा झर्ने सम्भावना उच्च हुन्छ ।

सन् १९९७ मा बनाइएको सबैभन्दा पहिलो ट्रोजन हर्स भाइरसको एनिमल नामले परिचित छ । यो एकदमै साधारण र हानिकारक नहुने ट्रोजन भाइरस थियो, जो वास्तवमा एउटा गेम थियो ।

यस गेममा २० ओटा प्रश्न राखिएको थियो, जसको उत्तर प्रयोगकर्ताले दिनुपर्ने हुन्थ्यो । जब कोही प्रयोगकर्ता यस गेममा सोधिएका प्रश्नको जवाफ दिन खोज्थ्यो तब पछाडिबाट यो गेम त्यही नेटवर्कमा जोडिएको अर्को कम्प्युटरमा स्वतः कपी हुन्थ्यो । हेर्दा यो सामान्य किसिमको मजाक थियो । जसमा एउटा गेम प्रयोगकर्ताको अनुमति नै नलिएर स्वतः अर्को कम्प्युटरमा कपी हुन्थ्यो ।

तर, १९ जनवरी १९८६ मा ट्रोजन हर्स मजाक नभएर एउटा संवेदनशील भाइरस भइसकेको थियो ।

पाकिस्तानमा जन्मिएका दुई दाजुभाइले राम्रै नियतले संसारको पहिलो हानिकारक भाइरस तयार पारे । हुन त उनीहरूले एउटा मेडिकल सफ्टवेयर बनाएका थिए । प्रयोगकर्ताले उक्त सफ्टवेयरको अनाधिकारिक भर्सन प्रयोग गर्ने गर्थे । यो अनाधिकारिक सफ्वेयर प्लपी डिस्कमार्फत कपी  गरिन्थ्यो ।

उनीहरूले आफ्नो सफ्टवेयर गैरकानूनी रूपमा कपी हुनबाट रोक्न एउटा भाइरस बनाए, जुन उनीहरूको सफ्टवेयरसँगै फ्लपी डिस्कमा कपी हुन्थ्यो । त्यसपछि उक्त सफ्टवेयर जुन कम्प्युटरमा राख्योऽ त्यो कम्प्युटरको सम्पूर्ण प्रणाली नै उथलपुथल हुन्थ्यो ।

समय बित्दै जाँदा ट्रोजन हर्स मालवेयर खतरनाक स्पाइवेयरका रूपमा इन्टरनेटभर फैलियो । सन् २०१० मा इजरायलका तीन जनाले एउटा कम्पनी स्थापना गरे । जसलाई उनीहरूले 'एनएसओ' (NSO) नाम दिए ।

उनीहरूले यस्तो सफ्टवेयर बनाए, जहाँ टेक सपोर्ट सिस्टममा काम गर्ने कर्मचारीले आफ्ना ग्राहकको अनुमतिले उनीहरूको सिस्टममा पहुँच पाउन सक्थे । यो सफ्टवेयर ग्राहकलाई सेवा दिनका लागि तयार पारिएको थियो ।

तर, युरोपियन इन्टेलिजेन्स एजेन्सीले यो सफ्टवेयरमा ग्राहकको अनुमति बिनै उनीहरूको सिस्टममा पहुँच पाउने गरी निर्माण गर्न अनुरोध गर्‍याे ।

त्यसपछि उनीहरूको यही सफ्टवेयर स्पाइवेयर ह्याकिङमा बदलिसकेको थियो । जसलाई उनीहरूले पेगासस (PEGASUS) को नाम दिए । त्यही

समयदेखि एनएसओले यो स्पाइवेयर सफ्टवेयरको पहुँच सरकारलाई मात्र दिने मान्यता राख्यो । जसले गर्दा विभिन्न अपराध तथा आतङ्ककारी घटनाको जानकारी पाउन सकियो ।

देख्दादेख्दै यो स्पाइवेयर यति शक्तिशाली बन्यो किऽ अहिले इजरायलले यो सफ्टवेयरलाई आफ्नो साइबर हतियार मान्दै आएको छ । र, यो स्पाइवेयरको वितरण त्यो देशमा मात्र गरिन्छ, जहाँ इजरायल दिन चाहन्छ ।

चाहे आईफोन होस्, एन्ड्रोइड वा अन्य कुनै अपरेटिङ सिस्टम भएको डिभाइस होस्, यसमा मोबाइल नम्बर राखेकै भरमा प्रयोगकर्ताको डिभाइसलाई आक्रमण गर्न सकिन्छ ।

फोनमा यो स्पाईवेयरले आक्रमण गर्नुको अर्थ हो, ह्याकरले यसमा भएको ग्यालरी, क्यामेरा, माइक्रोफोन, कन्ट्याक्ट, फोन, मेसेज, लाइभ लोकेसन जस्ता फिचरमा पहुँच पाउँछन् । र, आक्रमणकारीले प्रयोगकर्तालाई सहजै ट्रयाक गर्न सक्छ । चाहे प्रयोगकर्ताले लोकेसन सर्भिस बन्दै नै गरेको किन नहोस् ।

सन् २०१७ मा एनएसओ ग्रुपमा ५०० कर्मचारी थिए । एक वर्षमा उक्त सङ्ख्या बढेर ७५० पुगेको थियो । भन्नुको अर्थ उक्त कम्पनीले बजारमा राम्रै प्रभाव पारिरहेको छ ।

ह्वाट्सएप, एप्पल जस्ता प्रविधि कम्पनी यही स्पाइवेयरका कारण यति दिक्दार छन् कि, सन् २०१९ मा उनीहरूले एनएसओविरुद्ध अमेरिकी अदालतमा मुद्दा दायर गरेका थिए ।

ह्वाट्सएपका अनुसार उक्त प्लेटफर्मका १४०० प्रयोगकर्तामाथि पेगासस स्पाइवेयर प्रयोग गरिएको थियो । जसमा मानव अधिकारकर्मी, पत्रकार, सेना तथा नागरिक अधिकारीहरू रहेका छन् ।

पेगासस, जसलाई अपराधका लागि प्रयोग गर्न निर्माण गरिएको थियो । त्यसलाई अहिले राजनीतिक तथा राष्ट्रिय स्तरमा जासुसी गर्नका लागि पनि प्रयोग गर्न थालिएको छ ।

साउदी अरेबियाका पत्रकार जमल खसोग्गीको हत्याका लागि पनि पेगासस स्पाइवेयरको प्रयोग गरिएको भन्ने मान्यता छ । जहाँ खसोग्गीको साउदी दूतावासमा जान लागेको सूचना पेगाससका माध्यमबाट पहिले नै लिक भइसकेको थियो ।

जब यो काण्ड निकै नै ठूलो हुँदै गयो, त्यसपछि एनएसओले साउदी सरकारलाई दिएको पेगाससको एक्सेस बन्द गरेको थियो । यति मात्र नभई सन् २०१९ मा द गार्डियनले प्रसारण गरेको रिपोर्टमा पेगाससको सहायताले पाकिस्तानका उच्च ओहदाका सेनामाथि निगरानी गरिएको उल्लेख थियो ।

इजरायलले यही टुलको प्रयोग गर्दै आफ्नै कूटनीतिक सम्बन्धलाई विस्तार गरिरहेको छ । यसको जल्दोबल्दो उदाहरणका रूपमा रुस र युक्रेनमा भइरहेको युद्धलाई लिन सकिन्छ । जहाँ इजरायलले युक्रेन र इस्टोनियालाई पेगाससको एक्सेस दिन अस्वीकार गरेको थियो ।

किनभने पेगाससको सहायताले युक्रेनले रुसी सेनामाथि निगरानी गर्थ्यो । जसले गर्दा इजरायल र रुसको सम्बन्ध बिग्रिन जान्थ्यो । रुससँगको आफ्नो सम्बन्ध बिग्रिन नदिन इजरायलले पेगाससको एक्सेस दिन अस्वीकार गरेको थियो ।

तीन हजार दुई सय वर्षअघि एउटा मात्र ट्रोजन हर्सले जन्म लिएको थियो । तर, आज करोडौंको सङ्ख्यामा ट्रोजन हर्स इन्टरनेटको संसारमा फैलिएर आफ्नो अर्को शिकार पर्खिरहेका छन् । त्यसैले झुक्यानमा पार्ने वा लोभ देखाउने किसिमका सफ्टवेयर वा लिङ्क प्रयोग नगर्नु नै यसबाट बच्ने उच्चतम उपाय हो ।

पछिल्लो अध्यावधिक: बैशाख २३, २०८० १७:२