close

सबैका लागि उपलब्ध भयो गुगल बार्ड, शब्द लेखेकै भरमा फोटो तयार पारिदिने

टेकपाना टेकपाना

बैशाख २८, २०८० ७:१६

सबैका लागि उपलब्ध भयो गुगल बार्ड, शब्द लेखेकै भरमा फोटो तयार पारिदिने

काठमाडौं । गुगलले च्याटबट बार्डका लागि वेटलिस्ट प्रणाली हटाएको छ । यसअघि परीक्षणकै चरणमा रहेको एआई टुललाई औपचारिक रूपमा सर्वजनिक गर्दै कम्पनीले वेटलिस्ट हटाएको हो । कम्पनीले मंगलबार राति आयोजना गरेको गुगल आई/ओ २०२३ मा बार्डको वेटलिस्ट सिस्टम हटाएको घोषणा गरेको छ ।

कम्पनीका अनुसार अब गुगल बार्डले जापनिज तथ कोरियन भाषा पनि सपोर्ट गर्नेछ । बार्डमा भएका टेक्स्टलाई प्रयोगकर्ताले सहजै गुगल डक्स, जिमेल भिज्युअल सर्चमा एक्सपोर्ट गर्न सक्नेछन् ।

कम्पनीले बार्डमा भएको वेटलिस्ट हटाउँदै एआई टुललाई विश्वका १८० देशमा उपलब्ध गराएको छ । त्यस्तै कम्पनीले भविष्यमा बार्डमा एडोबओ, ओपन टेबल तथा इन्स्टाकार्ट जस्ता थर्ड पार्टी वेब सर्भिस इन्ट्रिगेट गरेर तस्वीर तयार पार्ने सकिने उल्लेख गरेको छ । यसको अर्थ बार्डले फोटो समेत सपोर्ट गर्नेछ ।

त्यति मात्र नभई केही जवाफ फोटोकै रूपमा उपलब्ध गराउने कम्पनीको भनाइ छ । त्यस्तै तपाईंले बार्डमा कुनै फोटो राखेर त्यसका लागि फोटोसँग सम्बन्धित विभिन्न कुराहरू सोध्न सक्नुहुन्छ । अहिले गुगल सर्चमा परीक्षण भइरहेको यो टुल केही महिनापछि उक्त प्लेटफर्ममा समेत उपलब्ध गराउने कम्पनीको योजना छ ।

गुगलले आफ्नो एआई टुल बार्ड करिब दुई महिनाअघि अमेरिका, बेलायत, क्यानडा जस्ता देशमा उपलब्ध गराएको थियो । यद्यपि अहिले पनि गुगलको यो प्लेटफर्म अन्य च्याटबटसँग कडा प्रतिस्पर्धामा रहेको छ । 

कम्पनीले यस्ता प्लेटफर्मसँग प्रतिस्पर्धा गर्नका लागि थप फिचरहरू उपलब्ध गराउने जनाएको छ । यसमा कम्पनीले समावेश गर्न लागेको पाल्म टु (PaLM 2) ल्याङ्ग्वेज मोडेल नै सबैभन्दा आकर्षक फिचर भएको कम्पनीको दाबी छ । यसले उत्तरहरू बढी सटीक र प्रयोग गर्न अनुकूल हुने कम्पनीको भनाइ छ ।

गुगलले बार्डलाई उत्कृष्ट बनाउनका लागि एडोबी फायरफ्लाई जस्ता टुलसँग सहकार्य गरेको छ । यसको अर्थ तपाईंले बार्डमा आफूलाई जस्तो तस्वीर आवश्यक पर्‍यो, त्यसको बारेमा थोरै चर्चा गरेर बार्डलाई तस्वीर तयार पार्न भन्नुभयो भने बार्डले क्षणभरमै तपाईंले सोचेजस्तै फोटो बनाउने कम्पनीले उल्लेख गरेको छ । यसलाई निबन्ध लेख्ने, कविता लेख्नका लागि मात्र नभई विभिन्न प्रोग्रामिङ ल्याङ्ग्वेजमा कोड लेख्नका लागि पनि उत्तिकै उपयोगी हुनेछ ।

जसरी गुगल लेन्सले फोटो पहिचान गरी त्यससँग सम्बन्धित सूचना उपलब्ध गराउँछ, बार्डले पनि त्यसरी नै तस्वीर पहिचान गरेर त्यसलाई प्रयोगकर्ताले चाहे अनुसार व्याख्या गर्न, एडिट गर्न वा मोडिफाइ गर्न सकिनेछ ।

यो टुललाई प्रयोगकर्ताले गुगलका अन्य विभिन्न प्लेटफर्ममा प्रयोग गर्न सक्नेछन् । यी सबै फिचर कहिलेबाट उपलब्ध हुन्छन् भन्नेबारे कम्पनीले जानकारी दिएको छैन । 

 

पछिल्लो अध्यावधिक: बैशाख २८, २०८० ७:१६