काठमाडौं । विदेशबाट फर्किँदा साथमा दुई ओटासम्म फोन ल्याउँदा भन्सार महसुल नलाग्ने सुविधा वैदेशिक रोजगारमा गएका कामदारले मात्रै पाउने भएका छन् । भन्सार विभागले आइतबार एक सूचना प्रकाशित गर्दै नयाँ नियम सम्बन्धी व्यवस्था स्पष्ट पारेको हो ।
मन्त्रिपरिषद्को २६ वैशाख २०८० को निर्णयअनुसार श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गई कम्तीमा लगातार छ महिना काम गरी फर्केका नेपाली नागरिकले दुई थानसम्म मोबाइल फोन ल्याएमा कुनै पनि महसुल लाग्ने छैन । तर यात्रुहरूले आफ्नो साथमा ल्याउन र लैजान पाउने निजी प्रयोगका मालवस्तु सम्बन्धी आदेश २०७७ बमोजिम विदेशबाट फर्कने यात्रुहरूले आफूले प्रयोग गरिरहेको एक थान मोबाइल फोन महसुल नतिरी ल्याउन पाउने व्यवस्था छ ।
नेपालमा मोबाइल फोनको नियमन गर्न नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) कार्यान्वयनमा ल्याएको छ । उक्त प्रणालीमा समावेश नभएका मोबाइल फोन नेपालमा सञ्चालन हुन नसक्ने भन्दै विभागले स्पष्टताका लागि सूचना जारी गरेको हो ।
यसको अर्थ श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका व्यक्तिहरूलाई फर्किने क्रममा दुई ओटा फोन महशुल नतिरी ल्याउन पाउने सुविधा प्राप्त हुनेछ । त्यसरी ल्याइएका फोन सम्बन्धित व्यक्ति स्वयम्ले नेपाल दूरसञ्चार प्राधिकरणको एमडीएमएसमा अनलाइन माध्यमबाट दर्ता गर्नुपर्नेछ ।
तर अध्ययन, भ्रमण वा अन्य प्रयोजनका लागि विदेश गएका नेपालीहरूले भने साथमा एक थान मोबाइल मात्र महसुल नतिरी ल्याउन पाउने छन् र त्यसको घोषणा भन्सार कार्यालयमा गर्नुपर्ने छैन ।