काठमाडौं । प्रतिस्पर्धाको समय छ । यात्रा लामै छ । यसमा केही ढिला भए निकै पछाडि परिन्छ । यसैकारण आफ्नो क्षेत्रमा सधैं सचेत र सजग हुन आवश्यक छ ।
अहिले सूचना प्रविधि क्षेत्रमा भविष्य राेज्नेहरूकाे संख्या बढ्दाे छ । कक्षा १२ को वार्षिक परीक्षा दिएर बसिरहेका हजाराैं विद्यार्थी पनि विश्वविद्यालयकाे ढाेका उँघार्ने तयारीमा छन् ।
यसै सन्दर्भमा आज हामी बजारमा कस्ता आईटी करियर छन् भन्ने विषयबारे जानकारी दिँदै छौँ:
आईटीमा पनि कुन काम राम्रो ?
आईटी क्षेत्र सुन्दा सानो लागे पनि यसको दायरा फराकिलो छ । सूचना प्रणाली व्यवस्थापनदेखि साइबर सुरक्षा, सफ्टवेयर डेभलपमेन्ट जस्ता काम यसअन्तर्गत पर्छन् ।
कुन काममा बढी कमाइ हुन्छ र ‘करियर ग्रोथ’ कति चाँडो हुन्छ भन्ने कुरामा कामको महत्त्व जोडिने हुन्छ । अनि बढी महत्त्व भएका कामलाई राम्रो भन्ने गरिन्छ ।
आईटी अध्ययन गरेका वा यसमा सीप भएकाले विभिन्न क्षेत्रमा काम गर्न सक्छन् । विशेषत: सफ्टवेयर इन्जिनियरिङ, डेभअप्स इन्जिनियरिङ, क्लाउड इन्जिनियरिङ, साइबर सेक्युरिटी, डेटा इन्जिनियरिङ, मसिन लर्निङ इन्जिनियरिङ, एआई इन्जिनियरिङ आदिलाई आईटी क्षेत्रका आकर्षक काम मानिन्छ ।
तर भविष्यमा यी बाहेक अन्य क्षेत्रहरू उत्कृष्ट बन्नेछन् । किनकि यो द्रुत गतिमा परिवर्तन भइरहेको क्षेत्र हो । आईटी अध्ययन गर्ने विद्यार्थीले कुनै एक क्षेत्रमा विशेषज्ञता बटुल्दा पनि सुरक्षित भविष्य तय गर्न सक्छन् ।
यी सबै क्षेत्रमा याेग्य हुन विश्वविद्यालयकाे शिक्षा आवश्यक मानिए पनि अहिले विभिन्न सीप सिकेर बजारमा आएका जनशक्तिले राम्रै अवसर पाएका छन् ।
सफ्टवेयर इन्जिनियरिङ
धेरैले सफ्टवेयर इन्जिनियरिङलाई आईटी क्षेत्रमा भविष्य बनाउने राम्राे विकल्प भएको बताउने गर्छन् । किनकि आईटी उद्योगमा संलग्न धेरैले सफ्टवेयर इन्जिनियरिङको काम सुरुवाती चरणमा गर्ने गर्छन् ।
यसमा मुख्य काम कुनै पनि प्रकारको सफ्टवेयर तथा एप्लिकेसन बनाउनु हाे । यसरी तयार हुने एप्लिकेसन मोबाइल, डेस्कटप, वेब आदि जुनैमा पनि उपयोग हुनसक्छ ।
सफ्टवेयर इन्जिनियरिङ आफैंमा वृहत् छ । त्यस्तै यसभित्र पनि धेरै प्रकारका काम हुने गर्छन् । ती आफैंमा फेरि छुट्टै विधा हुन् । तल यीबारे चर्चा गरिएको छ:
-फ्रन्ट-इन्ड डेभलपर
सामान्यतया यस प्रकारको डेभलपरले एप्लिकेसनको अगाडिको भाग बनाउने गर्छन् । जसलाई प्रयोगकर्ताले ब्राउजर, फोन तथा टिभी स्क्रिनमा देख्ने गर्छन् ।
-ब्याक-इन्ड डेभलपर
एप्लिकेसनको पछाडिको भाग विकास गर्ने डेभलपरहरू ब्याक-इन्ड डेभलपर हुन् । उनीहरूले एप्लिकेसनलाई डेटा सेन्टरसँग जोड्ने, प्रशोधन गर्ने, भण्डार गर्ने लगायतकाे काम गर्छन् ।
-फुलस्ट्याक डेभलपर
एप्लिकेसनको फ्रन्ट-इन्ड र ब्याक-इन्ड दुवै डेभलप गर्ने काम फुलस्ट्याक डेभलपरको हो ।
यस्ता डेभलपरले प्रोग्रामिङ ल्याङ्ग्वेजसँगै डेटावेस आदिमा पनि ज्ञान राख्नुपर्छ ।
-वेब डेभलपर
जसले वेबमा आधारित एप्लिकेसनहरू बनाउँछ, उसलाई वेब डेभलपर भनिन्छ । यस्ता प्रकारका एप्लिकेसन प्राय: ब्राउजरमा आधारित हुने गर्छ ।
-मोबाइल एप डेभलपर
एन्ड्रोइड, आईओएस लगायतका अपरेटिङ सिस्टमका लागि एपहरू बनाउने काम मोबाइल एप डेभलपरले गर्ने गर्छन् । यस प्रकारका डेभलपरले नै मोबाइलमा भएका विभिन्न प्रकारका एप बनाएका हुन् । जुन हामीले प्रयोग गरिरहेका छौं ।
-आईओटी डेभलपर
यस प्रकारका डेभलपरले इन्टरनेट अफ थिङ्स (आईओटी)का लागि चाहिने सफ्टवेयर बनाउने गर्छन् । जस्तै; स्मार्ट होम, स्मार्ट कार आदिका चाहिने सफ्टवेयर उनीहरूले नै बनाउने हुन् ।
प्रोग्रामिङ ल्याङ्ग्वेज
यी काम गर्न तपाईंले कुनै पनि एउटा प्रोग्रामिङ ल्याङ्ग्वेजमा दक्षता हासिल गर्न आवश्यक छ । जस्तो वेब डेभलपमेन्टका लागि एचटीएमएल, सीएसएस, डेटावेस आदि सिक्नुपर्छ ।
माथिका यी क्षेत्रभित्र पनि अझै थप विकल्प हुन्छन् । तपाईंले तीमध्ये कुनैमा अध्ययन गरेर त्यसको विषयविज्ञ बन्न सक्नुहुन्छ । अथवा सबैबारे ज्ञान राखेर फुलस्ट्याक डेभलपर बन्न सक्नुहुन्छ ।
तर सफ्टवेयर इन्जिनियर वा यसका ‘सब क्याटगोरी’हरूका धेरै कुरा भने मिल्न जान्छ । तर तिनका लागि फरक-फरक प्रोग्रामिङ ल्याङ्ग्वेज सिक्नुपर्ने हुन्छ । सबै प्रोग्रामिङ ल्याङ्ग्वेजको सिद्धान्त एउटै हुने हुन्छ । फरक भनेको प्राविधिक पक्ष मात्र हो ।
तर अहिले कुन प्रोग्रामिङ ल्याङ्ग्वेज सिक्ने अन्यौल भए तपाईंले संसारमा चर्चित भएका कुनै एक सिक्न सक्नुहुन्छ । त्यसो हुँदा त्यसमा पोख्त भएको केही समयपछि सम्बन्धित काम भेट्न पनि सजिलो हुन्छ ।
यसरी सिकेको प्रोग्रामिङ ल्याङ्ग्वेज पछि तपाईंलाई नराम्रो पनि लाग्न सक्छ । तर प्रोग्रामिङ ल्याङ्ग्वेज यस्तो सीप हो, जुन एक पटक सिकेपछि जहिल्यै काममा आउँछ । अन्य क्षेत्रहरूमा पनि प्रयोगमा आउँछ, जस्तो; क्लाउड इन्जिनियरिङ र डेटा इन्जिनियरिङ ।
थप क्षेत्रबारे चर्चा गरौँ:
डेभअप्स
पछिल्लो समयमा डेभअप्स इन्जिनियरिङको महत्त्व बढिरहेको छ । यद्यपि यो नवप्रवेशीहरूका लागि बनेको होइन ।
यो एउटा सफ्टवेयर डेभलपमेन्ट सिस्टम (विकास प्रणाली) हो, जसबाट सफ्टवेयर डेभलपर तथा आईटी पेशाकर्मीबीच सञ्चार, सहयोग र एकीकरणको काम हुने गर्दछ ।
क्लाउड इन्जिनियरिङ
सामान्यतः क्लाउड इन्जिनियरले क्लाउडमा पूर्वाधार बनाउने र त्यसको व्यवस्थापन गर्ने काम गर्छन् । कम्पनीहरू क्लाउडमा आधारित हुन थालेपछि यसको महत्त्व झनै बढ्न थालेको छ ।
अहिले अमेजन एडब्लूएस, माइक्रोसफ्टको अज्युर क्लाउड कम्प्युटिङ प्लेटफर्म निकै चर्चित छन् । दुवैमा विभिन्न खालका प्रमाणपत्र पाइन्छ, जसले पछि काम पाउन सहयोग गर्छ ।
सफ्टवेयर क्वालिटी अस्योरेन्स एनालिस्ट एन्ड टेस्टर
सफ्टवेयर क्वालिटी अस्योरेन्स एनालिस्ट एन्ड टेस्टरले सफ्टवेयर प्रोग्रामहरूको समीक्षा गर्ने तथा समस्याहरू पत्ता लगाउने काम गर्छन् ।
सफ्टवेयरको गुणस्तर जाँच गरेर त्यसमा भएको समस्याबारे सफ्टवेयर डेभलपर अथवा सफ्टवेयर इन्जिनियरहरूलाई रिपोर्ट गर्ने काम टेस्टरको हुन्छ ।
साइबर सेक्युरिटी
आईटी क्षेत्रको सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको सुरक्षा हो । जुन क्लाउडदेखि प्रोग्रामिङको कोडसम्म काममा आउँछ । ह्याकरबाट बचाउन, विभिन्न साइबर आक्रमणबाट बचाउनमा साइबर सेक्युरिटीको धेरै भूमिका हुन्छ । अहिले त झन् यसको माग बढिरहेको छ ।
किनकि इन्टरनेटमा डेटा थपिँदै जाँदा त्यसमा ह्याकरहरूले आँखा लाउन थालिसकेका छन् । यहीकारण पछिल्लो समयमा यस्ता जनशक्तिको आवश्यकता र माग दुवै बढ्न गएको हो
सेक्युरिटी इन्जिनियरले फ्रन्ट-इन्ड, ब्याक-इन्ड, डेटावेस सबैमा सुरक्षा निश्चित गर्न प्रयास गर्ने गर्छन् ।
इन्फरमेसन सेक्युरिटी एनालिस्ट
इन्फरमेसन सेक्युरिटी एनालिस्टले महत्त्वपूर्ण डेटालाई साइबर आक्रमणबाट जोगाउन सुरक्षा प्रणालीमा काम गर्ने गर्दछन् । उनीहरूले भविष्यमा आइपर्ने साइबर आक्रमणहरूबाट बच्नको लागि सुरक्षा चुनौतीहरूको अध्ययन, अनुसन्धान तथा विश्लेषण गर्छन् ।
साइबर सुरक्षा विज्ञको हिसाबले उनीहरू साइबर सुरक्षाको नयाँ ट्रेन्ड लगायत सेक्युरिटी अपडेटहरूको विषयमा जानकार हुन्छन् ।
यी लगायत सूचना प्रविधि क्षेत्रमा डेटाबेस एड्मिनिस्ट्रेटर, कम्प्युटर सिस्टम एनालिस्ट, कम्प्युटर प्रोग्रामर, नेटवर्क एन्ड कम्प्युटर सिस्टम एड्मिनिस्ट्रेटर, डिजिटल मार्केटिङ लगायतमा आकर्षक तलबसहित अवसर पाउन सकिन्छ ।
आईटी करियरमा प्रवेश गर्न मुख्य गरेर निम्न तरिका छन्:
विश्वविद्यालय शिक्षा
नेपालमा आईटी क्षेत्रमा छिर्ने सबैभन्दा सजिलो र विश्वसनीय बाटो औपचारिक शिक्षा हो । यसमा विद्यार्थीले विश्वविद्यालयमा गएर अध्ययन गर्ने गर्छन् । विश्वविद्यालय अनुदान आयोग अनुसार नेपालमा ११ विश्वविद्यालय सञ्चालनमा रहेका छन् । थप केही विश्वविद्यालयहरू नेपालमा सञ्चालनमा आउने तयारीमा छन् ।
यद्यपि सञ्चालनमा भएका सबै विश्वविद्यालयले आईटी कोर्ष सञ्चालन गरेका छैनन् । नेपलमा त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय लगायतले आफ्नो विभिन्न सङ्काय अन्तर्गत थुप्रै आईटी विषय अध्यापन गराइरहेका छन् ।
योसँगै विदेशी विश्वविद्यालयका आईटी कोर्ष पनि सञ्चालन भइरहेका छन् ।
अनौपचारिक शिक्षा
विश्वविद्यालय नगई अन्य तालिम प्रदायक शिक्षण संस्थामा गएर वा इन्टरनेटको माध्यमबाट आफैं स्वअध्ययन गरेर पनि यो क्षेत्रमा काम गर्न सकिन्छ ।
यो क्षेत्रमा काम गर्न शैक्षिक प्रमाणपत्रभन्दा हातमा सीप हुनुपर्छ । यो कुरा यसै क्षेत्रका व्यक्तिहरूले स्वीकार गर्ने गर्छन् । यसरी सिकेर तपाईंले फ्रिल्यान्सिङ, आउटसोर्सिङ आदि गर्न सक्नुहुन्छ ।
एउटा समयमा एउटा सीप
आईटी क्षेत्रमा भविष्य बनाउने हो भने सुरुमा तपाईं कुनै एउटा काममा केन्द्रित हुन आवश्यक छ । किनकि धेरै सिद्धान्त त कुराहरू एक-आपसमा मिल्छन् ।
जस्तै; सफ्टवेयर डेभलप गर्न सिकेको प्रोग्रामिङ ल्याङ्ग्वेज डेभअप्स, मसिन लर्निङमा पनि उपयोगी हुन्छ । एकै समयमा धेरै कुरा सिक्न खोज्दा तपाईँले केही नसिक्ने सम्भावना पनि हुन्छ ।