close

सेकेन्ड ह्यान्ड ईभी खरिद गर्दै हुनुहुन्छ ? ख्याल गर्नुहोस् यी कुरा

टेकपाना टेकपाना

असार १८, २०८० ११:१९

सेकेन्ड ह्यान्ड ईभी खरिद गर्दै हुनुहुन्छ ? ख्याल गर्नुहोस् यी कुरा

काठमाडौं । प्रविधिको बढ्दो प्रयोगले आज जीवाष्म इन्धन (फोसिल फ्युल) को माग बढ्दो छ । प्राकृतिक अवस्थामा सीमित मात्रामा मात्र पाइने तर खपत असीमित भएकाले इन्धन सकिने जोखिम उत्तिकै छ ।

आजको दिनमा दैनिक रुपमा जति इन्धन वा प्राकृतिक ग्यास खपत भइरहेको छ त्यही दरमा यसको खपत बढिरह्यो भने सन् २०६० सम्म संसारमा भएको सबै सञ्चित इन्धन सकिने विभिन्न विज्ञहरूले बताउँदै आएका छन् । त्यसैले विश्लेषकहरूले इन्धनमा हुने निर्भरता घटाउनमा जोड दिन्छन् ।

कार्बन उत्सर्जन तथा वातावरणीय प्रदूषण कम गर्न र सञ्चित इन्धन भावी पुस्ताका लागि जोगाउने सवालमा विद्युतीय सवारी उपयुक्त हुने विज्ञहरूको तर्क छ ।

यसो त कतिपय देशमा इन्धनकै प्रयोग गरी विद्युत उत्पादन गरिन्छ । तर, पनि तुलनात्मक हिसाबले विद्युतमा निर्भर हुनु फाइदाजनक मानिन्छ । त्यसैले मानिसहरूको रोजाइ विद्युतीय सवारीमा छ ।

पछिल्लो समय विद्युतीय सवारीको माग पनि बढ्दै गइरहेको छ । यद्यपि यसको उत्पादन अझै पनि व्यापक हुन नसक्दा विद्युतीय सवारीको मूल्य महँगो नै छ ।

यस्तोमा सेकेन्ड ह्यान्ड विद्युतीय सवारी धेरैको रोजाइमा पर्नसक्छ । आज हामी सेकेन्ड ह्यान्ड विद्युतीय सवारी खरिद  गर्दा के कस्ता कुरामा ध्यान दिनुपर्छ भन्ने विषयमा चर्चा गर्दैछौँ । 

१) ब्याट्री हेल्थ 

स्टाटिकाका अनुसार गाडीको कूल मूल्यको ३० देखि ५० प्रतिशत मूल्य त्यसको ब्याट्रीको पर्छ । त्यसैले तपाईंले खरिद गर्न लागेको ईभीको ब्याट्री हेल्थ कति छ भन्ने कुरा थाहा पाउनुपर्छ ।

त्यही अनुसार गाडीको भ्यालुएसन गर्नुपर्ने विज्ञहरूको धारणा छ । प्रयोग गरेको अवधि बढ्दै जाँदा ब्याट्रीको क्षमता पनि ह्रास हुँदै जान्छ । त्यसैले आफूले चाँडै ब्याट्री परिवर्तन गर्नुपर्ने हो वा कति समयपछि परिवर्तन गर्दा उपयुक्त हुन्छ भन्ने कुरा ख्याल गरेर मात्र विद्युतीय गाडी खरिद गर्नुपर्छ ।

गाडीलाई आवश्यक पर्ने ब्याट्री अनुसार मूल्य पनि भिन्नाभिन्नै हुन्छ । ब्याट्री हेल्थ कसरी जाँच गर्ने भन्ने पनि धेरैको जिज्ञासा हुन्छ ।

सामान्यतः गाडीमा ब्याट्री हेल्थ जाँच गर्ने सुविधा हुँदैन । तर, कक्स अटोमोटिभले भने चाँडै ईभीको मूल्याङ्कन गर्ने टुल सार्वजनिक गर्ने घोषणा गरेको छ ।

जसको सहायताले ईभी खरिद गर्ने व्यक्तिहरूले अनलाइनबाट गाडीको ब्याट्री हेल्थ जाँच गर्न सक्नेछन् । अहिलेलाई गाडीको ब्याट्री हेल्थ वा भनौं ब्याट्रीको अवस्था बुझ्न सर्भिस सेन्टरमै जानुपर्ने हुन्छ । 

२) चार्जिङका पूर्वाधारहरू 

प्रयोग भइसकेको ईभी खरिद गर्दै हुनुहुन्छ भने तपाईँले आफ्नो क्षेत्रमा उक्त गाडीलाई उपयुक्त हुने चार्जिङ स्टेसन छ वा छैन ख्याल गर्नुपर्छ ।

त्यससँगै तपाईं दैनिक ओहोरदोहोर गर्ने बाटोमा चार्जिङ स्टेसन छन् वा छैनन् निश्चित गर्नुपर्छ । त्यस्तै फास्ट चार्जर भएका चार्जिङ स्टेसन छन् भने ढुक्कले खरिद गर्दा हुन्छ ।

यससँगै गाडी खरिद गर्दा पाएको चार्जर कत्तिको ठीक अवस्थामा छ भन्ने कुरा पनि ख्याल गर्नुपर्छ । यस्तो हुँदा गाडी चार्ज गर्दा दुःख पाइँदैन । 

३) मर्मत सम्भार 

गाडीलाई कत्तिको व्यवस्थित गरेर राखेको छ भन्ने कुराले पनि त्यसको मूल्य निर्धारण गरेको हुन्छ । यदि व्यवस्थित गरेर राखेको छैन वा गाडी राम्रो अवस्थामा छैन भने तुलनात्मक रूपमा सो गाडीको मूल्य कम पर्छ ।

ईभीमा केही सीमित मुभिङ पार्टहरू हुन्छन् । जसमा भएको तेल बारम्बार परिवर्तन गरिरहन पर्दैन । त्यस्तै जति बढी मर्मत भएको छ त्यति नै गाडीमा बारम्बार समस्या आइरहन्छन् भन्ने बुझिन्छ ।

तसर्थ कत्तिको मर्मत गरेको हो, त्यसमा हाल के-कस्ता समस्या छन् भन्ने कुराहरू पनि ख्याल गर्नुपर्छ । 

४) गाडीको इतिहास र अनरशिप

अनरशिप शब्दले त्यो गाडी कुन समयमा कसको थियो भन्ने कुरा जनाउँछ । त्यसैले सेकेन्ड ह्यान्ड वा भनौं प्रयोग भइसकेको ईभी खरिद गर्दै हुनुहुन्छ भने उक्त गाडीको अनरशिप रेकर्ड हेर्नुपर्ने हुन्छ ।

उक्त गाडी प्रयोग गरेको व्यक्तिले त्यसलाई कसरी चार्ज गरेको थियो भन्ने कुराले पनि गाडी खरिद गर्ने वा नगर्ने भन्ने निर्णय लिन सहज बनाउँछ ।

त्यस्तै कुनै समय गाडी दुर्घटना परेको रहेछ भने आफूले कानूनी झमेला बेहोर्नुपर्ने हुन्छ । त्यसैले सेकेन्ड ह्यान्ड ईभी खरिद गर्दा यी कुराहरू ख्याल गर्नुपर्छ । 

५) वारेन्टी

ईभी बिक्रेताले गाडीको ब्याट्री र मोटरमा सीमित अवधिको वारेन्टी दिएका हुन्छन् । त्यसैले गाडीमा भएका पाटपुर्जाको वारेन्टी कति बाँकी छ भन्ने कुराले पनि गाडीको मूल्य निर्धारण गर्न सहज बनाउँछ ।

त्यस्तै वारेन्टी बाँकी हुँदा पनि ब्याट्री वा मोटर मर्मत गरिसकेको छ भने वारेन्टी लागू नहुन पनि सक्छ । त्यसैले ईभी खरिद गर्दा त्यसमा कति वारेन्टी बाँकी छ, बाँकी भएको वारेन्टी लागू हुन्छ वा हुँदैन भन्ने कुरा ख्याल गर्नुपर्छ । 

६) कर बाँकी भए नभएको निश्चित गर्नुहोस् 

तपाईंले प्रयोग भइसकेको ईभी खरिद गर्ने अन्तिम निर्णय लिइसकेपछि अन्तिममा उक्त सवारीको कर बाँकी छ वा छैन ख्याल गर्नुपर्छ ।

सवारीको कर कति समयदेखि तिरेको छैन भन्ने कुराले पनि गाडीको मूल्य निर्धारण गर्न सहयोग गर्छ ।

तपाईंले आफूले प्रयोग नगरेकै बेलादेखिको कर तिर्नु राम्रो होइन । तसर्थ कर तिरेको निश्चित गरेर मात्र सेकेन्ड ह्यान्ड ईभी खरिद गर्नुहोस् । 

 

पछिल्लो अध्यावधिक: असार १८, २०८० १२:१