स्टार्टअप सुरु गर्नु निकै सजिलो काम हो । तर एकै दिन अथवा वर्षमा सफलताको शिखर भने नछुन सक्छ । रचनात्मक नवीन विचारहरू, ब्याकअपमा राखेका पैसा र वर्षौँको धैर्य भए शिखर चुम्न सकिन्छ । स्टार्टअपका लागि एउटा मात्र विचार पर्याप्त हुँदैन ।
परिस्थिति र प्रतिस्पर्धी समय अनुसार स्टार्टअप सुरु गरेकाले आफ्नो उद्देश्यहरू समेत परिवर्तन गर्नुपर्ने हुन सक्छ । यसैले ‘स्टार्टअप कसरी चलाउने’ भन्ने प्रश्नको महत्त्व धेरै छ ।
आज २० प्रतिशत स्टार्टअपहरू मात्र सफल छन् । बाँकी ८० प्रतिशत असफल । यद्यपि आफ्नो नयाँ स्टार्टअप सफल हुने सपना बोकेर युवा पुस्ता जोखिम मोलिरहेकाे छ । नेपाली युवाले खोलेका कम्पनीहरूको स्तर उकास्न सहयोगी र जोखिम मोल्ने क्षमता भएका भेन्चर क्यापिटल (भीसी) हरूको जरुरत छ । यसले भीसी र स्टार्टअपका संस्थापक दुवैलाई फाइदा पुग्छ ।
कुनै भीसीले फरक-फरक क्षेत्रमा गरेको ८० प्रतिशत लगानी डुबे पनि कुनै २० प्रतिशतमा गरेको सफल भए उसको लगानी उठ्छ । तर एउटा स्टार्टअप खोल्नु युवाको जीवन भरको सपना हुन सक्छ ।
नेपालमा पनि थुप्रै स्टार्टअप असफल भएका छन्, भइरहेका छन् । यस्तो हुनुको कारण निम्न छन्:
लगानी अभाव
भीसीहरूले स्टार्टअपमा लगानी गर्ने संस्कार नेपालको मामिलामा सुरुवाती चरणमा नै छ । भीसीहरूले बजारमा उच्च जोखिम मात्र देख्छन् । त्यस्तै तीमध्ये धेरै परम्परागत सोचाइ भएका लगानीकर्ता छन्, जसले कम जोखिम मोलेर लगानीको सुनिश्चितता खोज्छन् ।
तुरुन्तै प्रतिफल खोज्छन्, अथवा अरुको कुरा सुनेर पछाडि हट्छन् । धेरै स्टार्टअपहरूमा संस्थापकहरूले मात्र लगानी गरेका हुन्छन् । यसो हुँदा सीमित पुँजीका कारण उनीहरू लामो समयसम्म टिक्न सक्दैनन् । किनकि लगानीकर्ताबिना स्टार्टअप चल्न सक्दैनन् ।
नेपालमा यो दुई/तीन वर्षको अवधिमा धेरै स्टार्टअप्सहरू बन्द भएका छन् । धैर्य, जगेडा लगानी र दूरदृष्टि भएका संस्थापकहरूले मात्र स्टार्टअपलाई बचाउन सकेका छन् ।
नयाँ विचारको अभाव
उही पुरानो विचार र अरुको नक्कल गर्दा पनि स्टार्टअप सफल हुँदैनन् । राइड शेयरिङ एप, ईकमर्स एप, वालेटको क्षेत्रमा आएका केही स्टार्टअप यो कुराको जल्दो उदाहरण हुन् । के साँच्चै सानो क्षेत्रफलमा फैलिएको काठमाडौंमा १० भन्दा बढी राइड शेयरिङ एप टिक्न सक्ला ? के १० भन्दा बढी वालेट चल्न सक्ला ? के १० भन्दा बढी ईकमर्सले बजार लिन सक्ला ?
मलाई यस्तो हुन्छ जस्तो लाग्दैन । सानो देश, त्यहीमाथि एउटै क्षेत्रमा उही प्रकृतिको यति धेरै स्टार्टअप , ती कालान्तरसम्म बन्द हुने सम्भावना उच्च छ ।
कमजोर प्रविधि
नेपाली स्टार्टअप असफल हुनुको अर्को कारण कमजोर प्रविधि हो । यसो हुँदा यहाँका स्टार्टअपहरूले विश्वमा सफल भइसकेका अन्यसँग प्रतिस्पर्धा गर्न सक्दैनन् । प्रविधि विकास गर्नु सोचेजति सस्तो छैन ।
त्यस्तै कुनै परियोजना सम्पन्न हुने बेलासम्म इन्जिनियरहरूलाई राखिराख्नु अर्को चुनौती छ । स्टार्टअपसँग जोडिने इन्जिनियरहरूले त्यो काम सक्ने प्रतिबद्धता जनाउन सक्दैनन् । यसको अर्थ कुनै पनि परियोजना चलिरहँदा उनीहरू अर्कै ठाउँमा जान सक्छन् ।
विश्वसनीय समूहको कमी
कुनै पनि स्टार्टअपका संस्थापक तथा अन्य सदस्यहरू लामो समयसम्म टिक्दैनन् । यसले स्टार्टअप केही समयमा नै बन्द हुने अवस्थामा पुर्याउँछ । बन्द नभए पनि चलाउन निकै सकस हुन्छ । स्टार्टअप सफल हुन धेरै समय लाग्न सक्छ ।
स्टार्टअप सुरु गर्नेहरूको परिस्थिति परिवर्तन हुन सक्छ, जसले सफलता हात पार्नमा असर पार्छ । यसकारण दिगो र विश्वसनीय समूह बनाउन निकै महत्त्वपूर्ण छ । साथै धैर्यता पनि उत्तिकै आवश्यक हुन्छ ।
यी माथिका कारण केलाउँदा नेपालको प्रविधि उद्योगमा लगानीकर्ता र स्टार्टअपका संस्थापकहरूबीच सहकार्य हुन जरुरत भएको देखिन्छ । जब ग्लोबल भीसीहरू (भेन्चर क्यापिटालिस्ट) ले नेपाली बजारमा छिर्छन्, त्यो दिनदेखि नेपाली प्रविधिको विश्वव्यापी रुपमा परिवर्तन हुनेछ ।
(श्रेष्ठ सफ्टएड ग्रुपका अध्यक्ष हुन् । प्रविधि र शिक्षा क्षेत्रमा उनको लगानी रहेको छ ।)