close

रिसर्च आर्टिकल वा पेपर लेख्दै हुनुहुन्छ ? प्रयोग गर्नुहोस् सहयोगी यी ४ एआई टुल

टेकपाना टेकपाना

साउन ७, २०८० १८:४३

रिसर्च आर्टिकल वा पेपर लेख्दै हुनुहुन्छ ? प्रयोग गर्नुहोस् सहयोगी यी ४ एआई टुल

काठमाडौं । आफ्नो लेखन तथा अनुसन्धानमा कतैबाट सहयोग मिलोस् भन्ने चाहना हुनु स्वभाविकै हो । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) एकीकृत गरिएका विभिन्न टुलहरूले तपाईंको त्यस्तो चाहना पूरा गरिदिन सक्छन् । 

यस्ता टुलहरूले विभिन्न शैक्षिक कार्यहरू छिटो र उत्कृष्टताका साथ सम्पन्न गर्न मद्दत गर्छन् । आज हामी तपाईंलाई यस्तै चार एआई टुल बारे जानकारी दिँदै छौं, जसले तपाईंलाई लेख्न वा अनुसन्धान गर्न सहयोग पुर्‍याउन सक्छन् । 

 

च्याटडक्स (ChatDox)

 

यसले व्यक्तिगत प्रशिक्षक जस्तै काम गर्ने बताइन्छ । यसमा तपाईंले आफ्नो अनुसन्धानात्मक पत्र, पाठ्यपुस्तक, विभिन्न लेख अपलोड गरेर त्यस बारे एआईसँग कुराकानी गर्न सक्नु हुन्छ ।

त्यसमा तपाईंले त्यी कागजपत्रमा भएका मुख्य बुँदाहरू, नबुझेका कुनै कुराहरू लगायत विभिन्न सम्बन्धित प्रश्न सोध्न सक्नुहुन्छ । एआईले त्यस्ता प्रश्नको जवाफ केही बेरमा नै दिन्छ ।

यो टुलको सहयोगमा कागजपत्र पूरा पढ्नु पर्ने बाध्यता हट्ने तर्क गरिएको छ । त्यस्तै ती विषयहरूलाई तपाईंले विभिन्न क्लाउड स्टोरेजमा समेत सेभ गर्न सक्नु हुन्छ । यसलाई नि:शुल्क प्रयोग गर्न सकिन्छ । तर सशुल्क भर्सनमा भने अन्य धेरै फिचर दिइएका छन् ।

 

असिसटेन्ट बाई साइट (Assistant by Scite.ai)

 

यसमा भएका केही विशेष फिचरका कारण अन्य एआई टुल भन्दा यो भिन्न देखिन्छ । यसले तपाईंका सन्दर्भ सामग्रीहरूको  रेकर्ड राख्छ । यसमा तपाईंले एउटा प्रश्न सोधेर विषयको अनुसन्धान गर्ने प्रक्रिया सुरु गर्न सक्नुहुन्छ ।

त्यो काम च्याट जीपीटीमा जस्तै गरी गर्न सकिन्छ । तर यसले गुगल स्कलरमा भएका निबन्ध वा ‘लिट्रेचर रिभ्यू’ उपलब्ध गराउँछ । साथै त्यस्ता सामग्रीको लेखकबारे पनि जानकारी दिन्छ । 

यो टुलको एक्सटेन्सन पनि उपलब्ध छ । त्यसलाई इन्स्टल गरेर तपाईंले आफ्नो काम गर्न सक्नुहुन्छ । यसको राम्रो पक्ष भनेकै यसले अनुसन्धानात्मक लेखहरू पाइने प्लेटफर्मबाट सन्दर्भ सामग्री उपलब्ध गराउँछ ।

 

समराइज टेक (Summarize.tech)

यसले युट्युबको भिडिओहरूलाई सारांश गर्ने काम गर्छ । यसका लागि वेबसाइटको तल भिडिओको यूआरएल पेस्ट गर्ने ठाउँ दिइएको छ । त्यसमा लिङ्क पेस्ट गरेको केही बेरमा नै टुलले भिडिओलाई समीक्षा गरेर सारांश लेखिदिन्छ ।

यो फिचर विद्यार्थी, शिक्षक, प्रशिक्षक आदिलाई निकै उपयोगी हुन्छ । यसले लामो भिडिओ हेर्ने समय जोगाउनुका साथै समय पनि बचत गर्छ ।

साथै तपाईंले यो टुलको सहयोगमा गरेका अघिल्ला कामहरू पनि हेर्न सक्नुहुन्छ । सँगसँगै यो टुलले कसरी काम गर्छ भन्ने कुरा समेत तपाईंले हेर्न सक्नुहुन्छ । यसको सशुल्क र नि: शुल्क दुवै प्रकारका प्याकेज छन् । 

 

जेन्नी एआई (Jenni AI)

 

यसको सहयोगमा लेख्ने क्रममा अधुरा रहेका लेख तथा अनुसन्धान प्रतिवेदनलाई तपाईंले अन्तिम रूप दिन सक्नुहुन्छ । यसले तपाईंको अनुसन्धानात्मक लेखका लागि आवश्यक सन्दर्भ सामग्री समेत जुटाइदिन्छ । यो टुल प्राज्ञिक कामका लागि उपयोगी हुने बताइएको छ । 

तपाईंले यसमा केही क्लिकमै आफ्नो काममा सान्दर्भ सामग्रीहरू थप्न सक्नुहुन्छ। अझ टुलको कन्टेन्ट सेक्सनमा विभिन्न उद्धरण र त्यसका प्रशस्त स्रोतहरू उपलब्ध छन् । साथै जेन्नी एआईलाई जोटेरो (Zotero) सँग एकीकृत गरिएको छ, जहाँ थप अन्य सहयोगी सामग्री उपलब्ध छन् ।

पछिल्लो अध्यावधिक: साउन ७, २०८० १८:४४