close

एनसीआईटीका अन्तिम वर्षका विद्यार्थीको प्रोजेक्ट प्रदर्शनी एवं करियर फेयर सम्पन्न

टेकपाना टेकपाना

साउन १३, २०८० १८:०

एनसीआईटीका अन्तिम वर्षका विद्यार्थीको प्रोजेक्ट प्रदर्शनी एवं करियर फेयर सम्पन्न

 

काठमाडौं । नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी (एनसीआईटी)मा अन्तिम वर्षका विद्यार्थीले तयार पारेका परियोजनाको एक दिने प्रदर्शनी तथा करियर फेयर सम्पन्न भएकाे छ । बालकुमारीस्थित कलेज परिसरमा भएको उक्त प्रदर्शनीमा स्नातक तहका विद्यार्थीहरूले बनाएका विभिन्न परियोजनाहरू राखिएका थिए ।

प्रवेश निःशुल्क गरिएको प्रदर्शनी गर्नुको उद्देश्य एकेडेमिया र उद्योगबीचको अन्तर कम गर्नु रहेको कलेजका सफ्टवेयर इन्जिनियरिङ विभाग प्रमुख विरेन्द्र विष्टले बताए ।

“विद्यार्थीले महिनाैं लगाएर बनाएका प्रोजेक्ट किन नदेखाउने भनेर यसको आयोजना गरेका हौं । विश्वका ठूला प्रविधि कम्पनी कुनै दिन सुरुमा यस्तै साना परियोजनाहरू थिए,” उने भने, “ हामीले यहाँ राखेका परियोजनाहरू मध्ये भविष्यमा कुनै एउटा त्यस्तै सफल हुन सक्ला । खासमा विद्यार्थीको मेहेनत सबैलाई देखाउनु नै यसको उद्देश्य हो ।” 

त्यस्तै अन्तिम वर्षका विद्यार्थीहरूलाई लक्षित गर्दै उनीहरूको भविष्य तथा आगामी जीवनबारे छलफल गर्न करियर फेयर गरिएको उनले बताए । “अन्तिम वर्षका धेरै विद्यार्थी जागिर गरिरहेका छन् । कोही इन्टर्न गरिरहेका छन् । त्यो भन्दा बाहेक कोही विद्यार्थीले जागिर खोजिरहेका छन्,” उनले भने, “कम्पनीले पनि जनशक्ति खोजिरहेका हुन्छन् । उनीहरूलाई नै मिलाउन करियर फेयर गरेका हौं ।”

प्रदर्शनीमा सूचना प्रविधिसँग सम्बन्धित विभिन्न ५२ ओटा परियोजना राखिएको थियो । जसमा हाइकी - इम्पावरिङ ट्रेकिङ एडभेन्चर, ई-स्वास्थ्य, डिजास्टर न्युज क्लासिफिकेसन, पी-टू-पी लेन्डिङ एप, भर्चुअल फिटनेस कोच, हेल्थ मेट, सानोलगानी, होम अटोमेसन, क्लिनगभ, होस्टल फाइन्डर, क्रप रेकमेन्डेसन सिस्टम लगायतका परियोजनाहरू थिए । 

तीमध्ये आफूलाई राम्रो लागेको कुनै एकलाई भोट गर्न सकिन्थ्यो । यसरी सबैभन्दा धेरै भोट प्राप्त गर्ने परियोजनालाई सम्मान तथा गिफ्ट भौचर दिइने उनले बताए । प्रदर्शनीमा कम्प्युटर इन्जिनियरिङ, सफ्टवेयर इन्जिनियरिङ, आईटी इन्जिनियरिङ र बीसीए अध्ययनरत विद्यार्थीले बनाएका परियोजनाहरू थिए ।

बिहान ११ बजेदेखि सुरु भएको कार्यक्रममा ३७ स्टार्टअपको व्यापारिक योजना समेत प्रस्तुत भएको थियो । यस अगाडि सात हप्तासम्म विश्वविद्यालय अनुदान आयोगको सहयोगमा टेक्नोप्रेनरशिप कक्षा सञ्चालनमा भएको थियो । त्यसैमा सहभागी विद्यार्थीले उक्त प्रस्तुति दिएका थिए । उनीहरूले आयोगबाट ४० लाखसम्म लगानी प्राप्त गर्न सक्ने सफ्टवेयर इन्जिनियरिङ विभाग प्रमुख विष्टले जनाए । 

कार्यक्रममा क्लाउड फ्याक्ट्री, जब्सनिपर, नेपाल ओपेन स्रोस क्लब, भेरिस्क इन्फर्मेसन टेक्नोलोजी, लगपोइन्ट आदि कम्पनीका प्रतिनिधिहरू आएका थिए ।
 

हेर्नुहोस तस्वीरहरू



 

पछिल्लो अध्यावधिक: साउन १३, २०८० १८:०