close

त्रिविको विज्ञान तथा प्रविधि संकायकै वेबसाइट असुरक्षित !

टेकपाना टेकपाना

साउन २६, २०८० १२:४४

त्रिविको विज्ञान तथा प्रविधि संकायकै वेबसाइट असुरक्षित !

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको विज्ञान तथा प्रविधि अध्ययन सङ्कायले शुक्रवार बीएससीसीएसआईटी अध्ययन गर्न चाहने विद्यार्थीका लागि प्रवेश परीक्षाको आवेदन खुलाए सूचना प्रकाशित गर्‍यो । उक्त सूचनामा अनलाइन आवेदन दिन विद्यार्थीले https://www.iost.tu.edu.np/ वेब पेज प्रयोग गर्नुपर्ने उल्लेख छ । 

तर, उक्त लिङ्क ब्राउज गर्दा साइट असुरक्षित रहेको चेतावनी देखिन्छ । लिङ्क खोल्ने बित्तिकै होमपेजमा रातो त्रिभुजमा विस्मयादिबोधक चिन्ह भएको आइकन आउँछ । 

सामान्यतः यस्तो आइकनले खतराको सङ्केत दिन्छ । त्यसको तल 'योर कनेक्सन इज नट प्राइभेट' लेखिएको छ । यसको अर्थ तपाईंको कनेक्सन गोप्य छैन भन्ने बुझिन्छ । 

त्यस्तै तलपट्टि तपाईंले सर्च गरेको लिङ्क खोलेर आक्रमणकारीले तपाईंको व्यक्तिगत जानकारी जस्तै पासवर्ड, मेसेज वा क्रेडिट कार्ड नम्बर चोरीको प्रयास गरिरहेका हुनसक्ने चेतावनी जारी गरिएको छ । यदि तल दायाँपट्टि रहेको 'ब्याक टु सेफ्टी' को बटनमा क्लिक गरियो भने हामी ब्राउजरको होमपेजमा पुगिन्छ ।

तर, एन्डभान्समा जाँदा उक्त सर्भरले साइटको (www.iost.tu.edu.np) सेक्युरिटी सर्टिफिकेट tu.edu.np बाट प्रमाणित गर्न नसकिएको भनिएको छ । यसको कारण कन्फिग्रेसन नमिलेर वा ह्याकरले तपाईंको कनेक्सन अवरोध गर्न लागेको हुनसक्ने भनिएको छ ।

झट्ट हेर्दा सर्वसाधारणलाई यो गलत लिङ्कमा पुगियो कि भन्ने डर पैदा हुन्छ । यसको प्रमुख कारण एसएसएल अर्थात् सेक्योर सकेट्स लेयर सर्टिफिकेट नमिलेको देखिएको हुनसक्ने वेबसाइट विश्लेषक बताउँछन् ।

नाम उल्लेख नगर्ने सर्तमा एक एक वेबसाइट डिजाइनरले भने, "यस्तो देखिनुको प्रमुख कारण एसएसल इरर नै हो । सम्भवतः कुनै कन्फिग्रेसन नमिलेको हुनसक्छ । त्यस्तो ठूलो समस्या होइन, सजिलै समाधान हुन्छ ।"

उक्त सबडोमेन (प्रिफिक्स)का लागि प्रयोग भएको एसएसएलको म्याद सकिन अझै सात महिनाभन्दा बढी समय बाँकी छ । सामान्यतः यस्तो एसएसएल तीन चार महिनाको राख्नुपर्ने उनले सुनाए । 

एक वर्षको राखेकाले अपडेट नहुँदा यस्तो समस्या आएको हुनसक्ने उनको विश्लेषण छ । यद्यपि https://www नराखी iost.tu.edu.np मात्र सर्च गर्दा भने कुनै इरर देखाउँदैन । यसको अर्थ https:///www मा एसएसएल सर्टिफिकेट नमिलेको हुनसक्ने आशंका गर्न सकिन्छ । 

यसका लागि http डिसेबल गरेर https://www का लागि एसएसएल सर्टिफिकेट राख्नुपर्ने उनले सुनाए । यही सामान्य त्रुटिले गर्दा सयौं विद्यार्थी अन्योलमा पर्ने सक्ने सम्भावना उच्च छ । 

यसबारे टेकपानासँग कुरा गर्दै त्रिवि सीएसआईटीका विभागीय प्रमुख सर्विन सायमीले तत्कालै यो समस्याको समाधान गर्ने बताए । "हाम्रो साइट अरूले नै बनाएका हुन्," सायमीले भने, "त्यसको एसएसएलमा केही समस्या आएको हुनसक्छ । म तत्कालै समाधान गर्न लगाउँछु ।”

 

पछिल्लो अध्यावधिक: साउन २६, २०८० १२:४४