close

आईओईले बढायो शुल्क, अब इन्जिनियरिङ पढ्न करिब ८ लाख शुल्क लाग्ने

टेकपाना टेकपाना

भदौ ५, २०८० १३:११

आईओईले बढायो शुल्क, अब  इन्जिनियरिङ पढ्न करिब ८ लाख शुल्क लाग्ने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले स्नातक तह (बी.ई./बी.आर्क.) अन्तर्गत  सबै कोर्षको शुल्क बढाएको छ । प्रवेश परीक्षा तथा क्याम्पस भर्ना सम्बन्धी विस्तृत जानकारी दिँदै संस्थानले आधिकारिक रूपमा शुल्क बढाएको हो ।

योसँगै पूर्ण शुल्कमा पढ्न सात लाख ७५ हजार ४२० रुपैयाँ लाग्ने भएको छ ।  यसअघि तीन लाख १८ हजार शुल्क रहेकाेमा एकैपटक साढे चार लाख रुपैयाँ बढाइएको हो । 

नयाँ शुल्क अनुसार नियमित अथवा छात्रवृत्तिमा पढ्ने विद्यार्थीका लागि चार वर्षको ८३ हजार ४२० रुपैयाँ शुल्क लाग्ने छ । त्यस्तै विदेशी विद्यार्थीका लागि १५ लाख ९९ हजार ३२० लाग्ने छ ।

२०५३ सालमा निर्धारण भएको शुल्क हालसम्म पनि लिइरहेको र त्यसले अध्यापन गराउन आर्थिक भार परेकाले शुल्क बढाउनु परेको आईओईले जनाएको छ । 

हाल आईओई अन्तर्गत पुल्चोक क्याम्पस, थापाथली क्याम्पस, पूर्वाञ्चल क्याम्पस, पश्चिमाञ्चल क्याम्पस र चितवन क्याम्पस गरी पाँच आङ्गिक क्याम्पस छन् । त्यस्तै सम्बन्धनप्राप्त १० ओटा निजी कलेज छन् ।

यी शैक्षिक संस्थाहरूले स्नातक तह र स्नातकोत्तर तहमा कम्प्युटर इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ, आर्किटेक्चर इन्जिनियरिङ, मेकानिकल इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ लगायतका विषय सञ्चालन गरिरहेका छन् ।
 

हेर्नुहोस् आईओईको नयाँ शुल्क विवरण

पछिल्लो अध्यावधिक: भदौ ५, २०८० १३:२४