काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले सञ्चालन गर्ने डिप्लोमा र प्रिडिप्लोमा तहमा विद्यार्थी अभाव हुने देखिएको छ । शैक्षिक सत्र २०८०/८१ का लागि सीटीईभीटीले खुलाएको प्रवेश परीक्षाको आवेदनमा आएका विद्यार्थीको अवस्थाले यस्तो दुर्दशा देखाएको हो ।
गत महिना डिप्लोमा तहमा सशुल्क र छात्रवृत्तिमा गरी कूल ५२ हजार ३२२ विद्यार्थी सिटका लागि आवेदन खुला भएकोमा ४६ हजार ६१८ जनाले मात्र आवेदन दिएका छन् । यसको अर्थ अझै ११.४७ प्रतिशत विद्यार्थी आएका छैनन्, जसमा अधिकांश कोर्षमा विद्यार्थीको आकर्षण कम छ भने नर्सिङ, फार्मेसी, जेनेरेल मेडिसिन जस्ता स्वास्थ्यका विषयमा तुलनात्मक रूपमा विद्यार्थीको रुचि देखिन्छ ।
डिप्लोमा तहमा पढाइ हुने कम्प्युटर इन्जिनियरिङकाे काेटा २३५१ रहेकोमा ९७१ मात्र विद्यार्थीले मात्र आवेदन दिएका छन् । त्यस्तै आईटीमा ११५२ कोटा रहेकोमा जम्मा ६१० जना, इलेक्ट्रोनिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङमा ४०८ रहेकोमा १३२ मात्र आवेदन दिएका छन् । अन्य इन्जिनियरिङ कोर्षहरूको अवस्था पनि दयनीय छ ।
डिप्लोमा तहभन्दा प्रिडिप्लोमा तहमा विद्यार्थीको अवस्था नाजुक देखिन्छ । सीटीईभीटीले यस तहका लागि २५ हजार २४२ कोटा खुलाएकोमा जम्मा छ हजार ७३१ विद्यार्थीले मात्र आवेदन दिएका छन् । यसको अर्थ ७३.३४ प्रतिशत विद्यार्थी अपुग छन् ।
यस तहको आईटी कोर्ष कम्प्युटर इन्जिनियरिङको १८८० सिट रहेकोमा ७३८, कम्प्युटर एप्लिकेसनको ४० सिट रहेकोमा १८, इलेक्ट्रिकल इन्जिनियरिङको २०४० सिट रहेकोमा ४४४ मात्र विद्यार्थीले आवेदन दिएका छन् ।
दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्ने उद्देश्य राखेर विसं. २०४५ देखि सञ्चालनमा रहेको सीटीईभीटीले कृषि, हस्पिटालिटी, स्वास्थ्य र इन्जिनियरिङ गरी चार विधामा शैक्षिक कार्यक्रम सञ्चालन गर्ने गर्छ ।
सीटीईभीटीबाट सम्बन्धन तथा स्वीकृतिप्राप्त ४२२, आङ्गिक ६५, प्राविधिक शिक्षा (टीईसीएस) मोडालिटी अन्तर्गत ६४०, साझेदारी (गाउँ/नगर) मोडालिटी अन्तर्गत ५२ शैक्षिक संस्थाहरूले यी चार विधाका विभिन्न कोर्षहरू सञ्चालनमा गरिरहेका छन् ।
विद्यार्थीको यस्तै अवस्था रहे तीमध्ये धेरै शिक्षालय बन्द हुन सक्नेछन् । कूल भर्ना क्षमताको ५० प्रतिशतभन्दा कम विद्यार्थीहरू आए पठनपाठन नहुने व्यवस्था छ । यसले गर्दा सीटीईभीटीमा विद्यार्थीको गम्भीर अभाव हुने देखिन्छ ।
अब यी कुल विद्यार्थीमध्ये प्रवेश परीक्षामा उत्तीर्ण भएकाहरू मात्र भर्ना हुन पाउँछन् । त्यसबेला यो संख्या अझ कम हुनेछ ।
सीटीईभीटीका परीक्षा नियन्त्रक प्रमोदभक्त आचार्यका अनुसार विद्यार्थीले आफ्नो वृत्ति विकास नहुने ठान्नु, कोरोना अवधिमा नियमित शैक्षिक सत्रमा असर पर्नु, स्नातक तहको पहिलो वर्षमा डिप्लोमाको धेरै विषय दोहोरिनु आदिले विद्यार्थीको संख्या घटेको विश्लेषण गर्छन् ।
उनी विद्यार्थीकाे आकर्षण नहुनुमा सीटीईभीटीकाे पनि कमजोरी रहेको स्वीकार्छन् ।
“सीटीईभीटीले पनि विद्यार्थीलाई कोर्षको महत्त्व बुझाउन सकेन । समयअनुसार अपडेट हुन सकेन । विद्यार्थीको चाहना बुझ्न सकेन,” उनी भन्छन्, “पहिले विद्यार्थीको रोजाइको संस्था बनेको सीटीईभीटी अहिलेको अवस्थामा पुग्नुमा अध्ययनका लागि विदेश जाने प्रवृत्ति पनि हो ।”