close

कुन बिजुली भ्यान राम्रोः सीजीको केवाईसी वा दिगोको डीएफएसके ?

टेकपाना टेकपाना

भदौ १०, २०८० १७:२

कुन बिजुली भ्यान राम्रोः सीजीको केवाईसी वा दिगोको डीएफएसके ?

काठमाडौं । सन्तोष अधिकारी डेल्टा इभेन्टस् नामक एउटा कम्पनी चलाउँछन् । कम्पनी सुरु भएको दुई वर्ष जति भयो । 

काम अनुसार हिंडिरहनु पर्ने भएकाले उनको कम्पनीले टाटा विङ्गर भ्यान लिएको थियो । तर बढिरहेको पेट्रोल तथा डिजेलको मूल्यका कारण बिजुली भ्यान किन्ने सोच बन्यो । 

त्यसै अनुसार उनको कम्पनीले चिनियाँ कम्पनी डीएफएसकेको ईसी ३६ मोडेलको बिजुली भ्यान किन्यो । नेपालमा यो भ्यान 'दिगो ग्रुप अफ कम्पनिज'ले बिक्री गरेको छ । 

अधिकारीको कम्पनीले १४ महिना अघि उक्त भ्यान किनेको थियो । त्यस्तै उनको कम्पनीले चार महिना अघि मात्रै केवाईसीको अटो बिजुली भ्यान खरिद गरेको छ । 

यो बिजुली भ्यान भने चौधरी ग्रुप अन्तर्गतको सीजी मोटर्सले नेपाल भित्र्याएको हो । यो भ्यान चिनियाँ चांगन कम्पनीको उत्पादन हो । चार महिना अघि मात्रै खरिद गरिएको केवाईसी १२ हजार किलोमिटर गुडिसकेको छ । 

कम्पनीसँग तीन जना चालक छन् । उनीहरूले नै यी दुई भ्यान चलाउँछन् । सबै चालकको अनुभव फरक फरक छ । 

प्राय: सन्तोष श्रेष्ठ केवाईसी अटो चलाउँछन् । आफूले उक्त गाडीमा दैनिक ५०/६० किलोमिटर यात्रा गर्ने गरेको उनी सुनाउँछन् । उनको अनुभवमा पेट्रोलभन्दा बिजुली गाडी गुडाउन सजिलो छ । तर चार्जिङ भने झन्झटिलो भएको उनको अनुभव छ । 

चालक सन्तोष श्रेष्ठ

“गाडी चार्ज गरिरहेको बेला बत्ति गएर आएपछि चार्ज नै हुँदैन । प्लग निकालेर फेरि चार्ज गर्नुपर्छ । यो समस्याले भने दु: ख दिन्छ ।” उनी सुनाउँछन् । 

तर डीसी चार्जरबाट भने एक घण्टाभित्र फुल चार्ज हुने उनको भनाई छ । उनले दुईतीन दिनको अन्तरमा गाडी चार्ज गरिरहेका हुन्छन् । चलाएकै बेला गाडी सर्भिसिङमा पनि लगेका छन् । 

तर त्यस बेलामा ६/७ हजार रुपैयाँ खर्च भए पनि सञ्चालन खर्च सस्तो भएको उनको बुझाई छ । 

कम्पनीका अर्का चालक हुन्, कुमार दाइ  । उनले यी दुवै भ्यान कुदाउने गर्छन् । उनको अनुभवमा केवाईसीमा एकै पटकमा ब्रेक नलाग्ने समस्या छ । यसकारण ब्रेक लगाउँदा सतर्क हुनुपर्ने उनको सुझाव छ । 

तर डीएफएसकेमा भने ब्रेक ठीक भएको उनी सुनाउँछन् । बिक्रेता दिगोले रेन्ज २५० भनेता पनि आफूले भने १८० किलोमिटर जति मात्र पाइरहेको उनको अनुभव छ । तर कुदाउने शैलीले रेन्जमा फरक पार्ने उनी बताउँछन् । 

१४ महिनामा यो गाडी २७ हजार १८४ किलोमिटर गुडिसकेको छ । यसमा भएको ‍एसी पनि बिग्रिसकेको उनी बताउँछन् । “गाडीको एसीले तातो हावा मात्रै फाल्छ । हामीले सिलिन्डर ग्यास फेरेपनि नयाँमा जस्तो छैन ।” 

“ग्याँस फेरेको केही समयपछि चिसो दिएको थियो । तर फेरि समस्या आयो । सिलिन्डर फेरेको सात/आठ महिना काम गर्नु पर्ने हो ।” उनी भन्छन् ।

चालक कुमार दाइ

दुवै गाडीलाई उनले १० प्रतिशत ब्याट्री हुँदा पनि चलाएका छन् । त्यसो हुँदा समेत समस्या नआएको उनको भोगाई छ । उनका अनुसार गाडीको पिकअप पनि राम्रो छ । 

यो गाडीबाट उनी दुई पटक पोखरा पुगेका छन् । तर पोखरा जाँदा काठमाडौंमा ‍फुल चार्ज गरे पनि बाटोमा चार्ज गर्नुपर्ने उनले बताए । उनले यो गाडीलाई दुई पटक सर्भिसिङमा लगेका छन् । 

उनको अनुभवमा सर्भिसिङ भने अलि नराम्रै छ । एक पटक बिहान १०/११ बजे सर्भिसिङमा जाँदा उनी साँझ ६/७ बजे मात्र ‍फर्किएका थिए । त्यस्तै यही गाडीको ‘मड गार्ड’ नपाएको पनि उनी सुनाउँछन् । 

“गाडीको ‘मड गार्ड बिग्रेको थियो । कम्पनीलाई खबर गरेका थियौंं । गाडी किनेको १४ महिना पुगिसक्यो । तर अहिलेसम्म पाएका छैनौं ।” उनी भन्छन् । त्यस्तै यो गाडीको सिट पनि राम्रो नभएको उनको धारणा छ । धेरै हल्लिने भएकाले एक पटक सबै सिट कसे पनि अवस्था फेरी उस्तै भएको उनी बताउँछन् ।

अधिकारीको कम्पनीले ‍१४ महिना अघि ४४ लाख रुपैयाँमा डीएफएसकेको भ्यान लिएको थियो । केवाईसीको भ्यान भने ४२ लाख ५० हजार रुपैयाँमा लिएको अधिकारी सुनाउँछन् । 

नेपाल आउँदा केवाईसीको मूल्य डीएफएसकेको भन्दा कम हुनु, बजारमा कम्पनीको पहिलेको टाटा विंगरसँग एक्सचेन्ज रेट राम्रो पाउनुले केवाईसी लिएको उनले बताए । अहिले यी दुई बिजुली गाडी प्रयोग गर्दा पेट्रोल खर्च जोगिएर एउटाको किस्ता ‍रकम तिर्न पुगिरहेको उनी बताउँछन् ।

डेल्टा इभेन्टसका सन्तोष अधिकारी 

यी दुवै बिजुली भ्यान ११ सिटे चिनियाँ ब्रान्डका गाडी हुन् । दुवैमा ४२ किलोवाट आवरको लिथियम आयन फस्फेट ब्याट्री र ६० किलोवाटको मोटर रहेको छ । डीएफएसकेको भ्यानलाई एक पटकको फुल चार्जमा २५० र केवाईसीको भ्यानलाई ३०० किलोमिटर चलाउन सकिने कम्पनीको दाबी छ ।


 



 

पछिल्लो अध्यावधिक: भदौ ११, २०८० ११:१