काठमाडौं । गेमिङ तथा सूचना प्रविधि क्षेत्रमा काम गर्दै आएको यार्सा टेक प्रालिका प्रबन्ध निर्देशक एनजे सुवेदी गत वर्ष आफ्नो पहिलो विदेश भ्रमणमा निस्किएका थिए । उनी ईकमर्स कम्पनीको कार्यक्रमको सिलसिलामा सिङ्गापुर र अर्को एक प्रविधिसम्बन्धी कार्यक्रमका लागि थाइल्यान्ड घुम्ने मौका पाएका थिए ।
घुम्ने क्रममा त्यहाँ प्रयोग भइरहेका स्वचालित प्राविधिक प्रणालीले उनको ध्यान खिच्यो । “सिङ्गापुर र थाइल्यान्ड घुमेर आइसकेपछि सार्वजनिक यातायात कस्तो हुनुपर्छ भन्ने बुझें,” सुवेदी भन्छन्, “पहिलो पटक सिङ्गापुर जाँदा हामीसँग कुनै कार्ड थिएन । साथमा केही डलर थियो । पसलमा गएर एउटा कार्ड किनेर त्यसमा रकम टपअप गरी मेट्रो चढेर २२ किलोमिटर यात्रा गर्यौं ।”
पहिलो पटकको विदेश भ्रमण । त्यसैमा पहिलो पटक बिना कुनै झन्झट सार्वजनिक यातायात प्रयोग गर्न पाएका सुवेदी त्यहाँका डिजिटल प्रणालीबाट थप प्रभावित बने । त्यसपछि उनले नेपालमा आउने विदेशी नागरिकले सामना गर्नुपर्ने झन्झट सम्झिए । “सिङ्गापुरमा गुगल म्याप्स पनि यति एड्भान्स्ड छ कि कुन बाटोमा कुन बस वा मेट्रो कतिबेला आइपुग्छ ठ्याक्कै थाहा हुन्छ,” उनी भन्छन्, “तपाईं कुनै पनि ठाउँबाट हिँडेर मुख्य सडकसम्म पुग्न कति समय लाग्छ, त्यो समयमा कुन स्टेसनमा बस वा मेट्रो आइपुग्छ ठ्याक्कै मिल्छ ।”
कुनै मान्छे पहिलो पटक सिङ्गापुरको कुनै ठाउँमा गएको छ भने उसलाई एक ठाउँबाट अर्को ठाउँमा जाने क्रममा गुगल म्याप्सले नै गाइड गर्छ । विशेषगरी सबैभन्दा पहिले कुन बस वा मेट्रो चढेर कहाँ जाने, कहाँ ओर्लेपछि कुन बस वा मेट्रो आउँछ अनि त्यसमा चढेपछि कसरी व्यक्ति आफ्नो गन्तव्यमा पुग्छ सबै म्याप्समै समेटिएको हुन्छ ।
यस्ता सहजता देखेर सुवेदीको मानसपटलमा नेपालका सरकारी कार्यालयमा हुने झन्झटिला प्रक्रिया झलझली आउन थाले । सेवाग्राहीले सरकारी कार्यालयमा आफूलाई आवश्यक परेको सेवा लिन सबैभन्दा पहिले कहाँ जाने, त्यसपछि कुन कोठामा जाने, कुन कोठामा गएर कस्ता कागजात बुझाउने भन्ने प्रस्ट थाहा नपाउँदा सास्ती पाएको घटना उनको दिमागमा आयो ।
त्यसपछि प्रविधिको सहायताले सरकारी कार्यालयमा प्रयोगकर्ताले ब्यहोर्नु पर्ने सास्ती कसरी कम गर्न सकिन्छ भन्ने विषयमा खोज तथा अनुसन्धान गर्न थाले ।
सुवेदी र उनको टिमले यी कामका लागि स्मार्टवाच जस्तै डिभाइस उपयुक्त हुने निष्कर्ष निकाले । त्यसो त अहिलेका आधुनिक स्मार्टफोन माथि उल्लिखित सुविधा उपलब्ध गराउन पर्याप्त हुन्छन् । तर, स्मार्टफोन सबै नागरिकको पहुँचमा नहुन सक्छ । खरिद गरे पनि प्रयोग गर्न नआउन सक्छ । त्यसैको विकल्पमा उनले यस्तो डिभाइस डिजाइन गर्ने योजना बनाए, जुन सबैले खरिद गर्न सकुन् । सामान्य तरिकाले सबैले सहजै प्रयोग गर्न सकुन् ।
उनले परिकल्पना गरेको डिभाइस यस्तो थियो, जसको सहायताले व्यक्तिले आफ्नो कार्यालयमा डिजिटल हाजिरी गर्न सकोस् । बिरामी हुँदा डाक्टरले उसलाई ट्रयाक गर्न सकुन् । औषधीको विवरण, औषधी प्रयोग गर्ने समय सबै त्यही वाचमा देखियोस् । सबैभन्दा मुख्य कुरा सरकारी कार्यालयमा गइसकेपछि कुन कामका लागि कतिबेला कुन कोठामा जाने भन्ने कुरा घडीले नै दिन सकोस् । त्यसबाहेक पनि आवश्यक कागजात सबै घडीले नै उपलब्ध गराउन सकोस् ।
सुवेदीले सोही प्रयोजनका लागि स्मार्टवाचको खोज तथा विकासको काम थाले र हालै सो स्मार्टवाचको प्रोटोटाइप तयार भयो । उनले त्यस बारे सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् ।
“यो त्यस्तो स्मार्टवाच हो, जसमा व्यक्तिका रहेक डेटा इन्ट्रिगेट भएका हुन्छन्,” स्मार्टवाचको विशेषता बुझाउँदै सुवेदीले भने, “नागरिकता, शैक्षिक प्रमाणपत्र, ब्लुबुक, लाइसेन्स, एक्सपिरियन्स लेटर लगायतका जति पनि कागजात छन्, ती सबै यसैमा राख्न सकिन्छ । कसैलाई आफ्नो सम्पर्क विवरण उपलब्ध गराउनु पर्यो भने स्मार्टवाच स्क्यान गरे पुग्छ । अस्पतालमा आफ्नो रिपोर्ट बुझाउनु पर्दा त्यही स्मार्टवाच प्रयोग गर्न सकिन्छ । बैंकमा आवश्यक कागजात बुझाउनु पर्यो भने पनि घडीले नै गरिदिन सक्छ ।”
यो स्मार्टवाचमा प्रयोगकर्ताको सबै डेटा हुने तर विभिन्न प्रयोजन अनुसार आवश्यक कागजातको पहुँच मात्र स्क्यान गर्ने व्यक्ति वा संस्थाले पाउने सुवेदी बताउँछन् । “तपाईं कुनै कार्यालयमा जागिरका लागि जानुभयो भने स्मार्टवाचले सीभी, शैक्षिक कागजात मात्र उपलब्ध गराउँछ,” उनी भन्छन्, “उदाहरणका लागि त्यहाँ तपाईंको नागरिकता आवश्यक नपर्न सक्छ । घडीमा नागरिकता हुन्छ । तर सो संस्थाले आवश्यक नभएको कागजातमा पहुँच पाउन सक्दैन । यो प्रणाली नै त्यसरी विकास गरिएको हुन्छ ।”
यो स्मार्टवाचको प्रयोग प्रयोजन (युज केसेस) धेरै भए पनि सुरुवाती अवस्थामा सरकारी कार्यालयलाई लक्षित गरेर स्मार्टवाच तयार पारिरहेको उनले सुनाए । सुवेदी भन्छन्, “सरकारी कार्यालयमा उपभोक्ताको काम छिटो र सजिलो बनाउनका लागि पहिलो चरणमा त्यतातिर केन्द्रित छौं ।”
उनले सरकारी कार्यालयका लागि सो डिभाइस २०२४ को सुरुवातमा सार्वजनिक गर्ने योजना बनाएका छन् । “अहिले हामीले बनाएको डिभाइसको आकार केही भद्दा जस्तो देखिएको छ । त्यसलाई मध्यम आकारको बनाउन खोजिरहेका छौं,” उनी अगाडि भन्छन्, “सानो ब्याट्री, सानो स्क्रिन प्रयोग गरेर अलि पातलो बनाउन खोजिरहेका छौं र एक हजार वा १५ सय जतिको सस्तो मूल्यमा उपलब्ध गराउन सकिने गरी तयारीमा जुटेका छौं ।”
उक्त स्मार्टवाच सपोर्ट गर्ने एनएफसी रिडर पनि कम्पनी आफैले उपलब्ध गराउनेछ । उक्त डिभाइसकै सहायताले बैंक, सार्वजनिक सवारी साधन, अस्पताल, सरकारी कार्यालय, विभिन्न ट्याक्सी तथा राइड शेयरिङले स्मार्टवाच स्क्यान गर्नेछन् । वा फोनमा एनएफसी फिचर छ भने पनि त्यसले सो स्मार्टवाच स्क्यान गर्न सक्नेछ । र, भुक्तानी लिनुपर्ने भए भुक्तानी लिनेछन्, सम्पर्क नम्बर वा अन्य आवश्यक कागजात लिनुपर्ने संस्थाले स्क्यान गरेको छ भने आवश्यक कागजात मात्रै खिच्नेछ । के कस्ता कागजात तथा विवरण लिने भन्ने विषय एनएफसी रिडरमै सेट गर्न सकिनेछ ।
स्मार्टवाचमा डेटा कसरी भण्डारण गर्ने भन्ने कुरामा सुवेदीले उक्त विषय संवेदनशील भएको भन्दै प्रयोगमा आउँदा नै थाहा हुने बताए । उक्त स्मार्टवाच वा भनौं ब्यान्डको नाम सम्भवतः निजी ब्यान्ड हुनेछ ।
डेटा चोरीको जोखिम कत्तिको हुन्छ ?
यो स्मार्टवाचमा समावेश भएका सबै डेटा निकै सुरक्षित हुने सुवेदीको दाबी छ । “त्यसमा भएका कुनै पनि डकुमेन्ट प्लेन टेक्स्टमा हुँदैनन्,” उनी भन्छन्, “जसरी गुगल पासवर्ड मेनेजरले प्रयोगकर्ताको पासवर्ड इन्क्रिप्ट गरी सुरक्षित बनाएर राख्छ, त्यसरी नै यसमा भएका डेटा सुरक्षित हुन्छन् । तपाईंले कसैलाई आफ्नो डेटा दिनुअघि फ्रिङ्गरप्रिन्ट प्रयोग गरी भेरिफाइ गर्नुपर्ने हुन्छ ।”
प्रयोगकर्ताको अनुमति र पासवर्ड, पिन तथा फिङ्गरप्रिन्टबिना कसैले पनि डेटामा पहुँच बनाउन नसक्ने सुवेदीले सुनाए । हातमा लगाएर हिंड्दा पनि कुनै डेटा चोरीको असुरक्षा नहुने किसिमले स्मार्ट वाच डिजाइन गरिएको उनको भनाई छ ।
सरकारी कार्यालयमा कसरी प्रयोग होला यो डिभाइस ?
अहिले यो स्मार्टवाचका केही नमूना बनाएर सीमित व्यक्तिमा परीक्षण गरिरहेको सुवेदीको भनाई छ । “सार्वजनिक रूपमा बाहिर ल्याउनका लागि हामीले नियामक निकायबाट प्रमाणीकरण लिनुपर्ने हुन्छ,” उनी भन्छन्, “अहिले अनुसन्धान र विकासकै चरणमा परीक्षण गरिरहेकाले प्रमाणीकरण लिने तयारी गरेका छैनौं ।”
सुवेदीका अनुसार सबैभन्दा पहिले आवश्यक निकायबाट प्रमाणीकरण लिइने छ । त्यसपछि विभिन्न सरकारी कार्यालयमा स्मार्टवाच र एनएफसी डिभाइस उपलब्ध गराइनेछ । “दिनमा सात आठ सय जना सेवाग्राही आउने संस्थाहरूमा हामी त्यति नै डिभाइस उपलब्ध गराउँछौं,” सुवेदी भन्छन्, “जो सेवाग्राही आउँछ, आफ्नो प्रयोजन छनोट गर्दा त्यसपछि उसले उक्त स्मार्टवाच पाउँछ । त्यस्तै उसले आफ्नो बायोमेक्ट्रिक भेरिफाई गर्दा सबै डेटा उक्त डिभाइसमा आइपुग्नेछन् । त्यसपछि उसको काम अनुसार कुन कोठामा जाने भन्ने घडीले नै जानकारी दिनेछ । यो एउटा अवधारणा हो ।”
उनी अगाडि भन्छन्, “अर्को अवधारणा भनेको पछि जोकोहीले स्मार्टफोन खरिद गरेजस्तै स्मार्टवाच खरिद गर्न सक्ने छन् । उनीहरू हातमै लगाएर विभिन्न कार्यालयमा गइरहेका हुन्छन् । यस्तो बेला सेवाग्राहीको डेटा सबै उनीहरूको घडीमै हुन्छ । त्यस्तै कसैको डेटा पहिले नै भरिसकेको छ भने सो स्मार्टवाच लगाउँदा फ्रिङ्गरप्रिन्टले भेरिफाई गरिसकेपछि सबै डेटा त्यसमा लोड हुन्छ ।”