close

हुँदै नभएको डिजिटल ऐनको हवाला दिंदै पशुपति आरतीमा कपिराइटको दाबी !

टेकपाना टेकपाना

पुस २०, २०८० १३:१

हुँदै नभएको डिजिटल ऐनको हवाला दिंदै पशुपति आरतीमा कपिराइटको दाबी !

काठमाडौं । पशुपति क्षेत्र विकास कोष र बुढासुब्बा डिजिटल प्रालिले हुँदै नभएको ऐनको हवाला दिँदै पशुपति आरतीमा कपिराइट सम्झाैता भएकाे पाइएको छ । यी संस्थाले जारी गरेकाे एक सार्वजनिक सूचनामा पशुपति आरती र दीप प्रज्वलनको भिडिओ खिचेर सामाजिक सञ्जालमा राखे ‘डिजिटल कपिराइट ऐन’ अन्तर्गत कारबाही गर्ने चेतावनी दिएको भएपनि नेपालमा त्यस्तो कुनै ऐन नभएको पाइएको हो । 

टेकपानासँग कुरा गर्दै साइबर कानूनका जानकार अधिवक्ता बाबुराम अर्यालले सूचनामा आएको जस्तो कुनै डिजिटल कपिराइट ऐन प्रचलनमा नभएको बताए । “अमेरिकामा डिजिटल मिलिनियम कपिराइट एक्ट छ,” उनले भने, “अर्काको देशको कपिराइट कानून उल्लेख गरेर पशुपतिमा लागू गर्नै पाइँदैन । हुँदै नभएको कानूनलाई तेर्साएर कपिराइट लगाउनु उचित होइन ।”

प्रतिलिपि अधिकार ऐन २०५९ को दफा ४ लाई उद्धरण गर्दै उनले धार्मिक कुरामा प्रतिलिपि अधिकार नलाग्ने जिकिर गरे । सो दफामा लेखिएको छ, “प्रतिलिपि अधिकारको संरक्षण प्राप्त नहुनेः दफा ३ मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै विचार, धर्म, समाचार, संचालन विधि, अवधारणा, सिद्धान्त, अदालतको फैसला, प्रशासनिक निर्णय, लोकगीत, लोककथा, उखान र सामान्य तथ्याङ्क जस्ता कुराहरूलाई व्यक्त वा वर्णन वा व्याख्या गरिए वा कुनै रचनामा समावेश गरिएको भए तापनि यस ऐन बमोजिमको संरक्षण प्राप्त हुने छैन ।”

पशुपतिमा हुने आरती व्यावसायिक प्रयोजनले नभई धार्मिक आस्थासँग जोडिएको विषय भएकाले कुनै प्रतिलिपि अधिकार ऐन लागू गर्न नमिल्ने उनकाे मत छ ‍। “म एक धर्ममा आस्था राख्ने व्यक्ति भएकाले त्यहाँ आरती हेर्न गएको हुनसक्छु,” उनले भने, “म आरतीमा बसिरहेको बेला म खुल्छु र त्यही अनुसारको गतिविधि गरिरहेको हुनसक्छु । मेरो भिडिओ खिचेर कसैलाई व्यावसायिक प्रयोजनका लागि दिनै मिलेन नि । कोषले व्यावसायिक प्रयोजनका लागि प्रतिलिपि अधिकार बेच्दा श्रद्धालुको गोपनीयता पनि हनन् हुन्छ ।”   

व्यावसायिक मर्यादाका कारण नाम खुलाउन नमिल्ने भन्दै एक प्रतिलिपि अधिकार सम्बन्धी काम गर्ने अधिवक्ता भन्छन्, “उनीहरूले दाबी गरेको जस्तो यो प्रतिलिपि अधिकार लाग्ने कुरा होइन । यो विषयमा बुढासुब्बालाई कपिराइटको अधिकार दिन मिल्दैन, किनभने त्यो ठाउँ बुढासुब्बा वा पशुपति क्षेत्र विकास कोषले निजी रूपमा बनाएको होइन ।”

बुढासुब्बाले तयार पारेको कन्टेन्टको सन्दर्भमा त्यसैलाई कपि गरेर आफ्नो सामाजिक सञ्जालमा राखे कपिराइट लाग्ने, तर आफूले पहिलो पटक खिचेको भिडिओ छ भने त्यस्तो कपिराइट नलाग्ने र लाग्छ भन्नु पनि तर्कसङ्गत नभएको उनको भनाइ छ ।

“कपिराइट सिर्जनासँग सम्बन्धित हुन्छ । कसैले सिर्जना गरेको सामग्री छ भने त्यो कपिराइटएबल हुने भयो । तर, सार्वजनिक सम्पत्तिको कपिराइट हुने भन्ने कुरा चाहिं हुँदैन,” उनले भने । 

त्यस्तै पशुपति क्षेत्र विकास कोषको ऐन पनि अध्ययन गरेको र त्यसमा पनि समावेश कर्तव्य र अधिकारमा पनि यसरी प्रतिलिपि अधिकार दिने भनेको नपाइएको उनले सुनाए । 

कसैले पशुपति क्षेत्रमा खिचेको आरती वा अन्य भिडिओ सामग्रीको सन्दर्भमा बुढासुब्बाले प्रतिलिपि ऐन अन्तर्गत कारवाहीका लागि मुद्दा हाले पनि विफल हुने उनको भनाइ छ । कुन ऐन अन्तर्गत पशुपति क्षेत्र विकास कोषले बुढासुब्बालाई प्रतिलिपि अधिकार दियो भन्ने विषयले आफैमा प्रश्न खडा गरेको उनले बताए ।

बिहीवारदेखि सामाजिक सञ्जाल फेसबुकमा बुढासुब्बा डिजिटल प्रालिले पशुपति क्षेत्रमा हुने आरतीका लागि भिडिओको प्रतिलिपि अधिकार पाएको कुराले चर्चा पाइरहेको छ । पशुपति क्षेत्र विकास कोष र बुढासुब्बा डिजिटल प्रालिले जारी गरेको सूचनाले पनि सामाजिक सञ्जालमा चर्को आलोचना खेपिरहेको छ । 

भाइरल भइरहेको सूचनामा लेखिएको छ, “यस पशुपतिनाथ आर्यघाट क्षेत्रको बागमती नदी किनारमा हुने गङ्गा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडियो खिच्न सख्त मनाही छ । यहाँ खिचिएका भिडियो सामग्री फेसबुक, इन्स्टाग्राम, टिकटक तथा युट्युबमा व्यावसायिक प्रायोजनका लागि राखिएको थाहा भएमा ‘डिजिटल कपिराइट ऐन अन्तर्गत’ कारबाही हुने जानकारी गराउँदछौं ।” 

बोलकबोल प्रक्रियाबाट बुढासुब्बालाई प्रतिलिपि अधिकार दिएको विषय सार्वजनिक भएपछि विभिन्न सञ्चारमाध्यम तथा फेसबुक, एक्स लगायतका सामाजिक सञ्जालमा यसको आलोचना भइरहेको छ ।

पछिल्लो अध्यावधिक: पुस २०, २०८० १३:३५