close

फोटो प्रयोग गरी जानकारी पाउन मासिक १२ अर्ब पटक खोलिन्छ गुगल लेन्स

टेकपाना टेकपाना

माघ ४, २०८० ११:४५

फोटो प्रयोग गरी जानकारी पाउन मासिक १२ अर्ब पटक खोलिन्छ गुगल लेन्स

काठमाडौं । फोटोमार्फत विभिन्न जानकारी पाउन मासिक १२ अर्ब पटक गुगल लेन्स प्रयोग हुने गरेको तथ्य बाहिर आएको छ । बुधवार आयोजित सामसङ अनप्याक्ड इभेन्टमा बोक्दै गुगल सर्चकी भाइस प्रेसिडेन्ट क्याथी एडवार्ड्सले यस्तो तथ्य बाहिर ल्याएकी हुन् ।

शब्दका भरमा मात्र आफूले चाहेको जानकारी खोज्न सकिने गुगल सर्चमा कम्पनीले २०१७ मा लेन्स फिचर समावेश गरेको थियो । यसको सहायताले प्रयोगकर्ताले फोटोकै भरमा विभिन्न जानकारी पाउन सक्छन् ।

विशेषगरी बार वा क्यूआर कोडमा भएको जानकारी, फोटोमा भएको टेक्स्ट कपी, अनुवाद वा सर्च गर्न, फोटोबाटै ठाउँ पत्ता लगाउन, फोटोमा देखिने वस्तु खरिद गर्न आदिका लागि गुगल लेन्स प्रयोग हुँदै आएको छ ।

साथै गुगलले सामसङसँगको सहकार्यमा इमेज सर्चको नयाँ तरिका सार्वजनिक गरेको छ । ‘डु मोर विथ गुगल’ नाम दिइएको एक परियोजनाका लागि गुगलले गुगल क्लाउड र जेमनाई एआई मोडेल प्रयोग गरेको छ । अब भने यो फिचर प्रयोग गरी प्रयोगकर्ताले सामाजिक सञ्जालको फिड वा ग्यालरीमै गुगल सर्च प्रयोग गर्न सक्नेछन् ।

उदाहरणका लागि सामाजिक सञ्जालको फिडमा कुनै सेलिब्रेटीले आकर्षक चस्मा लगाएको छ । अब उक्त चस्मा कुन कम्पनीको हो वा कस्तो चस्मा हो भन्ने जानकारी पाउन यसअघि प्रयोगकर्ता सबैभन्दा पहिलो फोटो सेभ गर्ने वा स्क्रिनशट लिने गर्थे । त्यसपछि गुगल लेन्स प्रयोग गरेर उक्त चस्माबारे जानकारी लिन्थे ।

यसरी फिडमा देखिएको फोटोको जानकारी पाउन एप बन्द गरेर पुन: गुगल लेन्स खोल्दा समय बढी लाग्ने र ध्यान केन्द्रित नहुने हुँदा त्यो समस्या कम गर्न फोटो जहाँ छ, त्यहीँबाटै गुगल लेन्स प्रयोग गर्न सुविधा सार्वजनिक गरिएको हाे ।

कम्पनीले यसलाई ‘सर्कल टु सर्च विथ गुगल’ नाम दिएको छ । विशेषगरी ग्यालरी वा सामाजिक सञ्जालको फिडमा भएको फोटोलाई प्रयोगकर्ताले गोलो घेरा, केरमेट वा हाइलाइट गरेपछि त्यो भागबारे गुगलमा भएको जानकारी सोझै फोटोको तल देखिन्छ ।

फोटोका लागि मात्र नभइ यो फिचर भिडिओका लागि पनि उपयोगी हुने बताइएको छ । त्यस्तै त्यही फोटोको बारेमा थप कुराहरू गुगलको जेनेरेटिभ एआई प्रयोग गरेरै थाहा पाउन सकिनेछ ।

सुरुवाती अवस्थामा यो फिचर सामसङ ग्यालेक्सी एस२४ सिरिजमा मात्र उपलब्ध हुनेछ । अन्य डिभाइसमा कहिले उपलब्ध हुन्छ भन्नेबारे गुगलले जानकारी दिएको छैन ।

पछिल्लो अध्यावधिक: माघ ४, २०८० १७:४५