close

फेसबुक, इन्स्टाग्रामका कारण ज्यान गुमाएकाहरूको परिवारसँग मार्क जुकरबर्गले मागे माफी

टेकपाना टेकपाना

माघ १८, २०८० १६:२८

फेसबुक, इन्स्टाग्रामका कारण ज्यान गुमाएकाहरूको परिवारसँग मार्क जुकरबर्गले मागे माफी

 

काठमाडौं । मेटाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गले सामाजिक सञ्जालका कारण आफ्ना सन्तान गुमाएका वा गम्भीर असर भोगेका अभिभावकसँग माफी मागेका छन् । 

अमेरिकी संसद्को माथिल्लो सदन सिनेटमा भएको सुनुवाइमा जुकरबर्गले फेसबुक, ह्वाट्सएप, इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालका कारण भएको दुर्घटनाका लागि माफी मागेका हुन् । 

“तपाईँले भोग्नु भएका सबै कुराका लागि म माफी चाहन्छु,” जुकरबर्गले सन्तान गुमाएका अभिभावकसँग भने, “तपाईंहरूका परिवारले जे भोग्नुभयो त्यो परिस्थितिबाट कोही पनि गुज्रिनु नपरोस् ।” 

बीबीसीका अनुसार रिपब्लिकन सिनेटर जोस हलीसँगको सवालजवाफमा जुकरबर्गलाई उनको पछाडि बसिरहेका पीडित परिवारहरूसँग माफी माग्न भनिएको थियो । जुकरबर्ग उठे, दर्शकतर्फ फर्किए र माफी मागे । 

सिनेटमा मेटा, टिकटक, स्न्याप, एक्स र डिस्कर्डका प्रमुखसँग दुवै पार्टीका सांसदहरूले झन्डै चार घण्टा छलफल गरेका थिए । उक्त  छलफलमा सांसदहरूले बालबालिकालाई अनलाइनबाट जोगाउन ती कम्पनीले के गरेका छन् भन्ने प्रश्न सोधेका थिए । उनलाई सांसदहरूले बालबालिकालाई सामाजिक सञ्जालमा यौन शोषकबाट आउने धम्की तथा त्यस्तै गतिविधिबाट जोगाउन पर्याप्त जाँच नगरेको आरोप लगाएका थिए ।

“मिस्टर जुकरबर्ग, तिमीसँग त्यस्तो प्रडक्ट छ, जसले मानिसहरूलाई मारिरहेको छ,” सांसद लिन्डसे ग्राहमले प्रमुख कार्यकारीलाई भनेका थिए ।

जवाफमा जुकरबर्गले भने, “हामीले किशोरकिशोरी र उनीहरूका अभिभावकलाई सहयाेग गर्न कडा परिश्रम गरिरहेका छौं । उनीहरूले सामना गर्ने सम्भावित असरहरू कम गर्न लागिपरेका छौं । इन्टरनेट सुरु भएदेखि नै मानिसहरूलाई अनलाइनमा सुरक्षित राख्ने कुरा चुनौतीपूर्ण बन्दै गइरहेको छ । किनभने अपराधीले समयसँगै विभिन्न नयाँनयाँ तरिकाहरू अपनाइरहेका हुन्छन् । त्यसैले हामी सुरक्षा रणनीति पनि परिमार्जन गर्दै गइरहेका छौं ।”

 उनले एक अध्ययनलाई उद्धरण गर्दै सामाजिक सञ्जाल मानसिक स्वास्थ्यका सन्दर्भमा युवापुस्ताका लागि त्यति खतरनाक नहुने दाबी गरे ।

सुनुवाइका क्रममा पाँच कम्पनीका प्रमुखभन्दा पछाडि ‘सामाजिक सञ्जालमा प्रेषित सामग्री हेरेर आफूलाई हानी पुर्‍याएका वा आत्महत्या गरेका’ बालबालिकाका परिवारजन बसेका थिए । उनीहरूले सुनुवाइको पूरै अवधिभर विभिन्न किसिमले आफ्ना भावना अभिव्यक्त गरेका थिए । सामाजिक सञ्जाल सञ्चालन गर्ने कम्पनीका प्रमुख आइपुग्दा उनीहरूले ठूलो आवाज निकालेका थिए भने सांसदहरूले कडा प्रश्न सोध्दा ताली बजाएका थिए ।

उक्त सुनुवाइ विशेष गरी बालबालिकालाई कसरी अनलाइन यौन शोषणबाट जोगाउने भन्ने विषयमा केन्द्रित थियो । तर, पाँच ओटा सञ्जालका शक्तिशाली प्रमुखहरू सुनुवाइका लागि उपस्थित भएको अवसरको सदुपयोग गर्दै सांसदहरूले विभिन्न प्रश्न गरेका थिए ।

इन्स्टाग्राम,फेसबुक जस्ता चर्चित सामाजिक सञ्जाल मेटाको स्वामित्वमा छन् । मेटाका अनुसार यी प्लेटफर्मले बालबालिकालाई अपरिचित व्यक्तिले डाइरेक्ट मेसेज पठाए ब्लक गर्ने गरेका छन् । डिफल्ट रूपमा १६ वर्ष मुनिका बालबालिकालाई एड भएका व्यक्तिले कुनै ग्रुप च्याटमा एड गर्न वा मेसेज पठाउन सक्छन् । त्यसबाहेक मेटाले आत्महत्या वा आत्महानीबारे छलफल गर्ने पोस्टमा बालबालिकालाई प्रवेश गर्न कडा सतर्कता अपनाउने गरेको बताएको छ ।

पछिल्लो अध्यावधिक: माघ १८, २०८० १६:२८