close

टेलिकम प्रयोगकर्तालाई ६० दिनसम्म १०० जीबी डेटा दिने भन्दै ठगी धन्दा, तपाईँ फस्नुभयो कि ?

टेकपाना टेकपाना

माघ २३, २०८० १६:१६

टेलिकम प्रयोगकर्तालाई ६० दिनसम्म १०० जीबी डेटा दिने भन्दै ठगी धन्दा, तपाईँ फस्नुभयो कि ?

काठमाडौं  । ६० दिनका लागि १०० जीबी डेटा निःशुल्क पाइने भन्दै ठगी गिराेहले नेपाल टेलिकमका ग्राहकलाई झुक्याउन थालेका छन् । टेलिकम स्थापनाको २०औं वर्ष पूरा भएको मौकालाई लक्षित गर्दै यस्ताे गिराेह ठगीमा सक्रिय रहेकाे पाइएको हो ।

अफरमा पाँच हजार रुपैयाँ क्रेडिटका साथै अन्य डेटा पाइने भन्दै स्क्याम लिङ्क राखेर ‘निःशुल्क पुरस्कारहरू’ नामको पेजबाट पोस्ट विज्ञापन गरिएको छ ।

“नेपालको दूरसञ्चार कम्पनीले सबै व्यक्तिलाई १०० जीबी नि:शुल्क इन्टरनेटको निःशुल्क पुरस्कार प्रदान गरेको छ,” पोस्टमा लेखिएको छ, “र, ५००० नेपाली रुपैयाँ फ्री क्रेडिट ६० दिनसम्म मान्य । अब यो लिङ्क मार्फत आफ्नो पुरस्कार प्राप्त गर्नुहोस् ।”

यति लेखेर एउटा लिङ्क राखिएको छ । उक्त पोस्टमा करिब दुई हजार कमेन्ट छन् । त्यसमा पनि अधिकांश नक्कली अकाउन्टबाट ‘मैले उपहार पाएँ’ भनेर कमेन्ट गरिएको छ । त्यसलाई सयौं अकाउन्टबाट शेयर गरिएको छ, जसमा केहीले आशंका व्यक्त गरेका छन् भने केहीले उक्त पोस्ट सही भएको बुझेका छन् ।

स्क्यामरले पठाएको लिङ्क खोल्दा नेपालको झण्डा र तल स्टाटस राखिएको छ । उक्त पेजमा केही प्रक्रिया अपनाएपछि पुरस्कार पाइने आश्वासन दिइएको छ । पोस्टमा नै प्रयोगकर्तालाई अर्को वेबसाइटमा रिडाइरेक्ट गर्ने बताइएको छ । त्यसपछि प्रयोगकर्ताले नेटवर्क छानेर नम्बर राख्ने र त्यसमा आएको ओटीपी कोड राख्नुपर्ने भनिएको छ ।

त्यसको तल ‘तपाईंको निःशुल्क पुरस्कारहरू दावी गर्नुहोस्’ लेखिएको बटन राखिएको छ । उक्त बटनमा ट्याप गर्दा साइट रिडाइरेक्ट हुन्छ र एउटा टेस्ट गराउने पेज खुल्छ । उक्त पोस्टमा प्रयोगकर्तालाई विभिन्न अप्सन छान्न भनिएको हुन्छ ।

 

 

त्यसपछि ‘मेगास्ट्रोम प्रो’ नामको साइट खुल्छ । उक्त साइटमा नेपाल टेलिकम, एनसेल र स्मार्टसेलको लोगो राखिएको हुन्छ । त्यसमध्ये कुनै एउटा अप्सन छान्यो भने ‘गिफ्ट पाउन लिङ्क क्लिक गर्नुहोस्’ भनिएको हुन्छ । कतिपय अवस्थामा बैंकबाट उपहार प्राप्त भएको भनिएको हुन्छ, कतिपय अवस्थामा एक्सटेन्सन डाउनलोड गर्न भनिएको हुन्छ । हरेक पटक फरक-फरक लिङ्कमा रिडाइरेक्ट गराइरहेको देखिन्छ । 

यस्ता लिङ्कलाई ‘रोटेटिङ रिडाइरेक्ट लिङ्क’ वा ‘रोटेटर लिङ्क’ भनिन्छ । सामान्यतः एफिलियट प्रोग्राम वा अनलाइन मार्केटिङका लागि यस्ता लिङ्क प्रयोग गरिन्छ । कतिपयले यस्ता लिङ्क मार्केटिङ गर्न प्रयोग गर्छन् भने कतिपयले प्रयोगकर्तालाई फिशिङ लिङ्कमा पुर्‍याउन प्रयोग गर्छन् ।

त्यस्तो हुँदा अनावश्यक सब्स्क्रिप्सन प्याकेज खरिद हुने, असान्दर्भिक लिङ्कमा पुगिने सम्भावना उच्च हुन्छ । यो लिङ्कमा पनि स्क्यामरले एफिलियट मार्केटिङ गर्न यस्तो लिङ्क प्रयोग गरेको देखिन्छ ।
 

पछिल्लो अध्यावधिक: माघ २३, २०८० १६:१६