close

नेपाल आउन चाहने विदेशीले अब अनलाइनबाटै भिसा लिन सक्ने

टेकपाना टेकपाना

माघ २६, २०८० १७:५५

नेपाल आउन चाहने विदेशीले अब अनलाइनबाटै भिसा लिन सक्ने

काठमाडौं । अध्यागमन विभागले ई-भिसा, अफिस अटोमेसन र अनलाइन भुक्तानी प्रणालीको सुरुवात गरेको छ । शुक्रबार एक कार्यक्रम गर्दै विभागले यी प्रणालीको औपचारिक सुरुवात गरेको हो । नेपालमा विदेशीको आवतजावत र बसाइँलाई व्यवस्थित गर्न अनलाइनमा आधारित स्वचालित सेवा सुरुवात गरिएको विभागले जनाएको छ ।

विभागका महानिर्देशक रुद्रसिंह तामाङका अनुसार अध्यागमन विभागले आजैदेखि अफिस अटोमेसन सिस्टमको काम अगाडि बढाएको छ । यससँगै विभागका कर्मचारीले कार्यालयको काम भौतिक उपस्थितिबिनै घरबाटै गर्न सक्नेछन् ।

त्यसका लागि हस्तलिखित हस्ताक्षरको सट्टा डिजिटल हस्ताक्षर प्रयोग हुनेछ । अहिले यस प्रणालीका लागि सिस्टम इन्टिग्रेसनको काम अगाडि बढेको महानिर्देशक तामाङले बताए । 

“अध्यागमन विभागबाट प्रदान हुने सबै सेवा अनलाइनमा आधारित भएसँगै नयाँ भिसा प्राप्त गर्न, भिसाको म्याद थप गर्न, पदयात्रा अनुमति प्राप्त गर्न सेवाग्राही भौतिक रूपमा कार्यालयमा उपस्थित हुनुपर्ने, आवेदन दिएर भुक्तानी गर्न लाइन बस्नु पर्ने अवस्थाको अन्त्य भएको छ,” महानिर्देशक तामाङले भने, “नाता र विवाहको आधारमा गैर पर्यटक भिसा लिने सेवाग्राही बाहेक अन्य सेवाग्राही विभाग आउनु पर्ने छैन । सबै प्रक्रिया अनलाइन मार्फत नै हुने र अन्तिममा भिसा स्टिकर टाँस गर्न मात्र विभाग वा नेपालका जुनसुकै अध्यागमन कार्यालयबाट भिसा स्टिकर टाँस गर्न सकिनेछ ।”

त्यस्तै विभागले लिने सेवा शुल्क, भिसा शुल्क तथा जरिवाना सबै नेपाली बैंकका मोबाइल बैंकिङ एपको क्यूआर तथा वालेट सेवा प्रदायक मार्फत भुक्तानी गर्न सकिनेछ । यसका लागि ईसेवा, कनेक्ट आईपीएस र खल्तीबाट भुक्तानी गर्न सकिने तामाङले सुनाए ।  

यसबाट सेवाग्राहीले अनलाइनबाट भरेको आवेदनको अवस्था तथा भुक्तानीको विवरण अनलाइन प्रणालीमार्फत ट्रयाक गर्न सकिने समेत उनले जानकारी दिएका छन् ।  महानिर्देशक तामाङका अनुसार सेवा प्रवाहको सहजताका लागि ईमेल तथा एसएमएस मार्फत जानकारी दिन गरिएको छ । उनले अगाडि भने, “डिजिटल साक्षरता कम भएका सेवाग्राहीको लागि सूचना प्रविधि शाखाका कर्मचारीहरू तथा अन्य सहायक कर्मचारी मार्फत सहजिकरण गर्ने व्यवस्था मिलाइएको छ ।” 

अध्यागमन विभागको अनलाइन प्रणालीलाई राहदानी विभाग, उद्योग विभाग, कन्सुलर सेवा विभाग, भन्सार विभाग, ईन्टरपोल, वैदेशिक रोजगार विभाग, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र भुक्तानीका लागि महालेखा नियन्त्रक कार्यालय तथा अन्य विभिन्न निकायका अनलाइन प्रणालीसँग अन्तरआवद्धता गरिएको छ । निकट भविष्यमै राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागसँग समेत अन्तरआवद्धता गरिने विभागको भनाइ छ ।

विदेशी नागरिकले विभागबाट लिने सेवाको सेवा शुल्कको भुक्तानीको लागि अन्तर्राष्ट्रिय भुक्तानी प्रदाय (Cross Border Payment) मार्फत विभागको प्रणालीलाई जोड्न महालेखा नियन्त्रक कार्यालयसँग समन्वय भइरहेको महानिर्देशकले सुनाए ।

“क्रस बोर्डर पेमेन्ट सम्बन्धी व्यवस्था भएपछि तत्काल ई-भिसा जारी गर्ने कार्य प्रारम्भ गरिने छ । ई-भिसा लागू गर्ने पूर्व अभ्यासका लागि इलेक्ट्रोनिक्स ट्राभल अर्थराइजेसन (ETA-Electronic Travel Authorization) लागू गरिएको छ,” उनले भने, “ईटीए मार्मत संसारको कुनै पनि ठाउँबाट विदेशी नागरिकले भिसा अवेदान गर्न सक्ने र ई-भिसा सेक्सनको अध्यागमन अधिकृतले आवेदन रुजु गरेपछि आवेदकलाई सेवा शुल्क बापतको भौचर स्वचालित रूपमा आवेदकको ईमेलमा जाने र आवेदकले नेपाली बैंकिङ प्रणालीमार्फत भुक्तानी गरेपछि अध्यागमन विभागको प्रणालीबाट विद्युतीय हस्ताक्षरित ईटीए सम्बन्धित व्यक्तिको ईमेलमा जाने व्यवस्था रहेको छ ।” 

उक्त ईटीए लिएर विदेशी नागरिक नेपालको कुनै प्रवेश बिन्दुमा आई भिसा लिएर नेपाल प्रवेश गर्ने व्यवस्था मिलाइएको उनले सुनाए । विभाग तथा अध्यागमन कार्यालय र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले प्रयोग गर्ने प्रणालीलाई सातै दिन निरन्तर सेवा प्रवाहका लागि प्रणालीको पूर्वाधार स्तरोन्नति गरिएको उनको भनाइ छ । यसका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्राइमरी डेटा सेन्टर (Primary Data Center) र राष्ट्रिय सूचना प्रविधि केन्द्रमा रिकभरी सेन्टर रहनेछ । 

आवश्यकता अनुसार दुबै ठाउँबाट समानान्तर रूपमा प्रणाली सञ्चालन गर्न सकिने गरी प्रणालीको पूर्वाधार विकासको लागि प्राइभेट क्लाउडमा आधारित नियर लाइन डेटा सेन्टर (NLDC) स्थापनाका लागि खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको विभागको भनाइ छ । “प्राकृतिक विपत्ति वा विपद्को समयमा डेटा सेक्युरिटी (Data Security) का लागि हेटौंडामा रहेको डेटा रिकभरी सेन्टर (DRC) मा समेत ब्याकअप रहने व्यवस्था मिलाइएको छ,” उनले थपे । 

हाल विभागले जारी गरिरहेको भिसा स्टिकरलाई स्तरोन्नति गरी नयाँ आधुनिक मुद्रण सुरक्षा सहितको भिसा स्टिकर लागू गर्ने गरी डिजाइन सम्पन्न भएको छ । यो आधुनिक मुद्रण सुरक्षा सहितको भिसा स्टिकर छिट्टै जारी हुने तामाङको भनाइ छ ।

त्यस्तै भिजिट भिसामा यूएई, बहराइन, कुवेत, कतार, ओमन तथा साउदी अरेबिया जाने नागरिकले भर्ने स्वःघोषणा फाराम अब अनलाइनबाट भर्न सकिनेछ । विदेशमा रहने नेपाली नागरिक तथा विदेशी नागरिकको सहजताका लागि भाइबर, ह्वाट्सएप तथा विच्याट जस्ता समाजिक सञ्जाल प्रयोगको लागि प्रोत्साहित गरिएको विभागले जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको पूर्वाधार सुधारको लागि विभागले वर्ल्डलिङ्कसँग सहकार्य गरेको छ । यस अन्तर्गत विमानस्थलको आगमन क्षेत्रमा निःशुल्क वाईफाई सेवा जडान गरिएको छ । 

विभागको सेवा प्रवाह बिहान १० बजेदेखि पाँच बजेसम्म सञ्चालन हुने गरेकोमा अब मङ्गलवारदेखि बिहान आठ बजेदेखि बेलुकी आठ बजेसम्म सञ्चालन हुनेछ । ई-भिसा सुरु भएपछि बिहान सात बजेदेखि बेलुकी नौ बजेसम्म सिफ्ट प्रणालीमा ३६५ दिन नै कार्यालय सञ्चालन हुनेछ विभागको भनाइ छ ।

पछिल्लो अध्यावधिक: माघ २७, २०८० १६:५५