close

च्याटजीपीटीमा थपिंदै मेमोरी, अब तपाईंले गरेका पुराना कुराकानी पनि सम्झिने

टेकपाना टेकपाना

फागुन ७, २०८० १६:३७

च्याटजीपीटीमा थपिंदै मेमोरी, अब तपाईंले गरेका पुराना कुराकानी पनि सम्झिने

काठमाडौं । च्याटजीपीटी प्रयोगकर्ताका लागि सबैभन्दा विश्वसनीय असिस्टेन्ट अर्थात् सहयोगी बन्ने दिशामा छ । तपाईंले यससँग आफ्नो बारे, तपाईंको रुचि र प्राथमिकता बारे जे कुरा भन्नु हुन्छ, त्यो सम्झिने मात्रै नभएर तपाईंले भविष्यमा गर्ने च्याटमा समेत ती कुराहरू च्याटजीपीटीले यादमा राखेर तपाईंसँग संवाद गर्नेछ ।

यो सानो परिवर्तन जस्तो देखिए पनि त्यसले जेनेरेटिभ एआईलाई अझ बढी मान्छेजस्तै देखिन र जनरल एआईतर्फ अघि बढ्ने मार्ग प्रशस्त गर्नेछ । यसले एआई मस्तिष्कलाई तपाईंको टाउकोमा हुने खैरो पदार्थले जस्तै सञ्चालन गर्न सक्छ ।

हालै ओपनएआईले आफ्नो ब्लग पोस्टमा यसको सीमित स्तरको परीक्षणको घोषणा गरेको छ । जसअनुसार कम्पनीले च्याटजीपीटीको सःशुल्क भर्सन च्याटजीपीटी प्लस र निःशुल्क दुवै भर्सनमा तपाईंले आफ्ना सम्पूर्ण च्याटमा बताउने कुराहरू सम्झिन सक्ने क्षमता परीक्षण गरिरहेको छ ।

च्याटजीपीटीमा मेमोरी हुनुको फाइदा के छ भने अब तपाईंले च्याटजीपीटीसँग गर्ने कुराकानी स्क्र्याचको तहबाट सुरु हुने छैन । यद्यपि एउटा ताजा प्रोम्प्ट भने विषय सन्दर्भको हकमा भने लागु हुन सक्छ ।

ओपनएआईका अनुसार मेमोरी भविष्यका प्रोम्प्टहरूमा लागु हुनेछ । यदि तपाईंले कुनै दिन जिराफ मन पराउने आफ्नो तीन वर्षको बच्चा छ भन्ने कुरा च्याटजीपीटीलाई बताउनु भएको थियो भने जन्मदिनको कार्ड बारेमा विचार गर्दा त्यसले जिराफ सहितको कार्डको आइडिया तपाईंलाई दिन सक्छ ।

च्याटजीपीटीले सामान्य तवरमा केवल सुगा रटाई शैलीमा तपाईंका रुचि र चाहना दोहोर्‍याउने नभई यसले उक्त सूचना तपाईंका लागि प्रभावकारी रूपमा काम गर्न प्रयोग गर्नेछ ।

 

पछिल्लो अध्यावधिक: फागुन ७, २०८० १६:३७