close

एउटै युजरनेम-पासवर्डबाट संसारभर निःशुल्क चल्ने वाईफाई-एडुरोम

प्रदीप ढोडारी

फागुन २८, २०८० १३:२७

एउटै युजरनेम-पासवर्डबाट संसारभर निःशुल्क चल्ने वाईफाई-एडुरोम

युरोपको ट्रान्स-युरोपियन रिसर्च एन्ड एजुकेसन नेटवर्किङ (टेरेना) टास्क फोर्सको पहलमा सन् २००२ मा एडुरोम सेवा तयार पार्ने काम सुरु भयो । त्यसै अनुरूप पहिलो पटक सन् २००३ देखि यो सेवा सञ्चालनमा आएको हो । टेरेना नाफामूलक नभएर एक गैर नाफामूलक संस्था हो । सुरुमा युरोपका छ ओटा देश नेदरल्यान्ड, जर्मनी, फिनल्यान्ड, पोर्चुगल, क्रोएसिया र बेलायत यसमा जोडिएका थिए ।

पछि  युरोपका नेसनल रिसर्च एन्ड एजुकेसन नेटवर्क (एनआरईएन) सङ्गठनहरूका  राय सुझावलाई समावेश गरी पहिलो पटक यसको पूर्वाधार तयार गरिनुका साथै यसको नामाकरण गरी एडुरोम राखियो । सन् २००४ बाट युरोपियन युनियनको आंशिक सहयोगमा यसको विस्तृत अनुसन्धान तथा विकास सम्बन्धी कार्य जीएन २ र जीएन ३ परियोजनामार्फत सुरु गरियो ।

पछि सन् २००७ सेप्टेम्बरदेखि युरोपियन युनियनको पूर्ण आर्थिक सहयोगमा उक्त परियोजना मार्फत यसको सञ्चालन तथा मर्मत सम्भार सम्बन्धी कार्य भयो ।  यो प्रविधिको प्राविधिक आधार भनेको आईईईई ८०२.१ एक्स (I-EEE 802.1X) स्ट्यान्डर्ड र हाइरार्की अफ रेडियस प्रोक्सी सर्भर नै हो । सन् २००४ डिसेम्बरमा युरोप बाहिरका देशमध्ये यो सेवामा सामेल हुने पहिलो राष्ट्र अष्ट्रेलिया थियो । 

एडुरोम दुई ओटा छुट्‍टाछुट्‍टै शब्दहरू मिलेर बनेको छ । यसका अगाडिका तीन अक्षर ईडीयूले एजुकेसन र पछाडिको चार अक्षर आरओएएमले रोमिङ भन्ने बुझाउँछ । वास्तवमा शिक्षा र अनुसन्धानको क्षेत्रमा अनुसन्धान गर्नेहरूका लागि यो एउटा महत्त्वपूर्ण हटस्पट सेवा हो । यो सेवा आज विश्वका धेरै भन्दा धेरै देशका विश्वविद्यालय तथा अनुसन्धान केन्द्रहरूले प्रयोग गर्ने गरेको पाइन्छ । 

सन् २०१० मा ग्लोबल गभर्नेन्स कमिटीको स्थापना भयो । हाल यसका १५ वरिष्ठ प्रतिनिधि रोमिङ अपरेटरको रूपमा एसिया प्यासिफिक, ल्याटिन अमेरिका, उत्तर अमेरिका  र युरोपमा कार्यरत छन् । यसको सचिवालय सहयोग जिएन्ट (गिगाबाइट युरोपियन एकेडेमिक नेटवर्क) ले प्रदान गरिरहेको छ । यही सङ्गठन जिएन्टको समन्वय र सहयोगमा ग्लोबल एजुकेसन गभर्नेन्स कमिटी (जीईजीसी) सञ्चालित छ । यसले प्राविधिक र सङ्गठनात्मक मानक तयार गरी संसारभर यो सेवालाई विस्तार गरी सञ्चालन गरिरहेका छ । 

हाल विश्वभर दश हजारभन्दा बढी एडुरोम हटस्पट सञ्चालनमा छन् । जो विभिन्न विश्वविद्यालय, अनुसन्धान केन्द्र, शिक्षण संस्थाका साथै विश्वका १०० भन्दा बढी क्षेत्रहरूमा फैलिएका छन् । आज यस्ता एडुरोम सेवा सम्बन्धी हटस्पटको विस्तार दिनानुदिन धेरै भन्दा धेरै स्थानहरू जस्तै लाइब्रेरी, म्युजियम, सार्वजनिक स्थान, रेलवे स्टेसन, एयरपोर्ट तथा कफी शपहरूमा भइरहेको छ । यो यस्तो सेवा हो, जुन संसारभर निःशुल्क रूपमा उपलब्ध छ ।

यो सेवा सरल, सजिलो तथा सुरक्षित प्रविधिमा आधारित एउटा नेटवर्क प्रणाली हो । यो विश्वव्यापी रोमिङ पहुँचबाट सञ्चालित हुन्छ र रेडियस सर्भर मार्फत सुरक्षित कनेक्सन स्थापित हुन्छ । वास्तवमा यो सेवा अनुसन्धानकर्ता, शिक्षक, विद्यार्थी र त्यहाँ कार्यरत कर्मचारीहरूका लागि तयार पारिएको हो ।

यस प्रणालीमा प्रयोगकर्ताका प्रमाणहरू सुरक्षित राख्नुका साथै अन्य महत्त्वपूर्ण सूचना कसैलाई पनि शेयर गरिंदैन । केवल ती सूचना प्रयोगकर्ताको आफ्नो गृह संस्थाबाट प्रमाणित तथा भ्यालिडेट हुन्छन् । यसले गर्दा हामी दाबीका साथ भन्न सक्छौं कि अन्य वाई–फाई सेवाको तुलनामा यो अधिक सुरक्षित मानिन्छ । 

यो प्रणालीमा रेडियस सर्भर प्रयोग भएको हुन्छ । यस्ता सर्भरहरू संसारका विभिन्न संस्थाहरूमा राखिएका हुन्छन् । यसले प्रयोगकर्ताको अनुरोधलाई सुरक्षित तवरले गृह संस्थाको सर्भर समक्ष राउट गरिदिन्छ । यसले गर्दा पनि यो सेवा भरपर्दो र विश्वसनीय मानिन्छ ।

 

यसले कसरी काम गर्छ ?

स्रोतः https://eduroam.org/how/

एडुरोम सेवा प्रयोग गर्नको लागि सबैभन्दा पहिला प्रयोगकर्तालाई रेडियस सर्भरको डेटाबेसमा समायोजन गरिनुु पर्दछ । यसरी नाम, ईमेल आईडी, युजरनेम आदि जस्ता प्रयोगकर्ताका सूचना राखिसकेपछि सोही आधिकारिक ईमेलमार्फत प्रयोगकर्तालाई पासवर्ड उपलब्ध गराइन्छ । यो प्रणालीमा यूजरनेमको रूपमा हामीले आधिकारिक ईमेल आईडी प्रयोग गर्दछौं ।

यसरी हामीले प्रयोग गर्ने ल्यापटप, मोबाइल फोन तथा अन्य डिभाइसमा एक पटक युजरनेम र पासवर्ड राखिसकेपछि अथेन्टिकेसन तथा भेरिफिकेसनका लागि रेडिएसन सर्भर समक्ष अनुरोध पुग्दछ । त्यसपछि हामीले दिएका युजर आईडी तथा पासवर्ड म्याच भएमा इन्टरनेट कनेक्सन स्थापित हुन्छ अन्यथा कनेक्सन हुँदैन । यसको मुख्य विशेषता भनेको हामीले वाई–फाईमार्फत इन्टरनेट प्रयोग गर्न प्रत्येक स्थानमा डिभाइस पिच्छे फरक फरक पासवर्ड राख्नुपर्ने हुन्छ ।

तर एडुरोम सेवामा भने संसारभर जुनसुकै स्थानमा यो सेवा प्रयोग गरे पनि एउटै युजरनेम र पासवर्ड भए पुग्छ । अर्थात् यसका लागि एउटै युजरनेम र पासवर्डले संसारका जुनसुकै स्थानबाट पनि यो सेवा प्राप्त गर्न सकिन्छ । यो प्रणालीमा रोमिङ प्रविधि मार्फत सबै काम हुने गर्दछन् । यसका प्रयोगकर्ताहरू आफ्ना डिभाइस मार्फत भ्यालिड एडुरोम एक्सेस प्वाइन्टमा अटोमेटिकल्ली लगइन हुन पुग्छन्  । 

निष्कर्ष

एक पटक यो सेवा प्रयोग गरिसकेपछि चाहे त्यो स्मार्ट फोन होस् अथवा ल्यापटप नै किन नहोस्, अन्यत्र जुनसुकै स्थानमा पनि ती डिभाइसमा स्वचालित रूपमा इन्टरनेट कनेक्सन स्थापित हुन पुग्छ । चाहे स्वदेशमा होस् अथवा विदेशमा नै किन नहोस्, जुन स्थानमा यो सेवा उपलब्ध हुन्छ, त्यस स्थानमा प्रयोग गर्नको लागि कसैसँग पनि यसको पासवर्ड मागिरहनु पर्दैन ।

यदि हामी मध्ये कसैले यो सेवा प्रयोग गर्दै आएका छौं भने कुनै कामको सिलसिलामा विदेश तथा स्वदेश, जुन स्थानमा यो सेवा उपलब्ध छ, त्यहाँ सजिलैसँग बिना झन्झट इन्टरनेट ब्राउज गर्न सकिन्छ । यो सेवा मुख्यतः अनुसन्धान केन्द्र, शिक्षण संस्था, पुस्तकालय लगायतका ठाउँमा उपलब्ध हुने गरेको छ । एडुरोम एक विश्वव्यापी वाई–फाई नेटवर्क हो । यस प्रविधिमा हामीले प्रयोग गर्ने प्रत्येक डिभाइसमार्फत् इन्क्रिप्टेड ट्राफिक उपलब्ध प्राप्त हुन्छ । 

आज यो सेवा यतिमा मात्र सीमित नभएर विश्वका ३६ भन्दा बढी अन्तर्राष्ट्रिय विमानस्थलमा समेत उपलब्ध छ । जसमा अस्ट्रेलिया, स्विजरल्याण्ड, नर्वे, आयरल्याण्ड, लक्जेम्वर्ग, स्विडेन, युनाइटेड स्टेटका अतिरिक्त अन्य देशका विमानस्थलमा समेत यो सेवा पाउन सकिन्छ ।

तिमध्ये पनि सबैभन्दा बढी नर्वे र स्विडेनका अधिकांश विमानस्थलमा यो प्रणाली जडान भएको छ । यसैगरी यस किसिमको प्रणालीलाई नेपालले पनि आफ्ना विमानस्थलहरूमा जडान गरी सञ्चालनमा ल्याउन सकेको खण्डमा एउटा राम्रै सुरुवात हुने कुरामा दुई मत नहोला । 

नेपालको सन्दर्भमा एडुरोम प्रणालीको कुरा गर्दा यसको आधिकारिक सेवा प्रदायक नेपाल रिसर्च एन्ड एजुकेसन नेटवर्क (एनआरईएन) हो । यो संस्थाबाट एडुरोमको प्रवर्द्धन तथा प्रचार प्रसारका अतिरिक्त सेवा जडान गर्नुका साथै सम्पूर्ण प्राविधिक सहयोग प्रदान हुँदै आइरहेको छ । 

उक्त संस्थाको आधिकारिक होमपेजमा राखिएका सूचनाको आधारमा भन्नु पर्दा हालसम्म ४० भन्दा बढी विभिन्न सङ्घसंस्थामा एडुरोम सेवा जडान गरी सञ्चालनमा ल्याइसकिएको र कतिपय संस्थामा जडान प्रक्रिया चलिरहेको जानकारी प्राप्त गर्न सकिन्छ । 

 

(लेखक ढोडारी नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान -नास्टमा सिस्टम एडमिनिस्ट्रेटरको रूपमा कार्यरत छन् ।)

ईमेलः [email protected]

पछिल्लो अध्यावधिक: फागुन २८, २०८० १६:५१