close

दिउँसै निस्पट्ट अँध्यारो हुने गरी सूर्य ग्रहण लाग्दै, यस्तो छ वैज्ञानिक कारण

टेकपाना टेकपाना

चैत २६, २०८० १७:४२

दिउँसै निस्पट्ट अँध्यारो हुने गरी सूर्य ग्रहण लाग्दै, यस्तो छ वैज्ञानिक कारण

काठमाडौं । आज अमेरिका, मेक्सिको र क्यानडाका विभिन्न भागमा दिउँसै निस्पट्ट अँध्यारो हुँदैछ । त्यसको कारण हो, पूर्ण सूर्य ग्रहण । अन्तर्राष्ट्रिय अन्तरिक्ष एजेन्सी नासाका अनुसार अमेरिकामा दिउसो दुई बजे (नेपाली समय अनुसार राति पौने १२ बजे) पूर्ण सूर्यग्रहण लाग्ने भएको हो । 

आज हामी ग्रहण भनेको के हो, ग्रहण लाग्नुका पछाडिको वैज्ञानिक कारण, र कुनै कुनै ग्रहण किन बिरलै देखिन्छन् भन्ने विषयमा चर्चा गर्दैछौं । 

ग्रहण के हो ?

पृथ्वीले सूर्यलाई घुम्ने गति र चन्द्रमाले पृथ्वीलाई घुम्ने गति समान हुँदैन । यही असमानताले नै ग्रहण लाग्छ । गतिको असमानताले गर्दा समयको संयोगले कुनै समय यी पिण्डहरू (पृथ्वी, चन्द्रमा र सूर्य) एउटै सिधा रेखामा आइपुग्छन् । परिणाम स्वरूप कहिले पृथ्वीको छायाँ चन्द्रमामा, त कहिले चन्द्रमाको छायाँ पृथ्वीमा पर्छ । यसरी छायाँ पर्ने अवस्था नै ग्रहण हो ।

पृथ्वीको छायाँ चन्द्रमामा पर्दा चन्द्रग्रहण र चन्द्रमाको छायाँ पृथ्वीमा पर्दा सूर्यग्रहण लाग्ने गर्छ । पृथ्वीले सूर्यलाई र चन्द्रमाले पृथ्वीलाई परिक्रमा गर्ने क्रममा जब पृथ्वी सूर्य र चन्द्रमाको बीचमा आइपुग्छ, तब सूर्यको प्रकाशलाई पृथ्वीले छेकिदिन्छ । यस्तो अवस्थामा चन्द्रमामा पृथ्वीको छायाँ देखिन्छ । छायाँको यस्तो अवस्था नै चन्द्रग्रहण हो ।

चन्द्रमामा पर्ने घामलाई पृथ्वीले छेकिदिंदा पृथ्वीको छायाँ चन्द्रमा परेको अवस्थालाई खग्रास चन्द्रग्रहण भनिन्छ । त्यस्तै आधा वा केही भाग मात्र ढाकेको अवस्थालाई खण्डग्रास चन्द्रग्रहण भनिन्छ ।

यसैगरी सूर्य ग्रहण भनेको यस्तो अवस्था हो, जहाँ सूर्यलाई पृथ्वीले र पृथ्वीलाई चन्द्रमाले प्ररिक्रमा गर्ने बेला चन्द्रमा पृथ्वी र सूर्यको बीचमा आइपुग्छ । चन्द्रमा सूर्यको बीचमा पर्दा पृथ्वीमा आउने सूर्यको प्रकाश छेकिन्छ र पृथ्वीमा अन्‍धकार हुन्छ । हो यही अवस्थालाई सूर्यग्रहण भनिन्छ । सूर्य ग्रहण तीन प्रकारका हुन्छन् । खण्डग्रास सूर्यग्रहण, वलय सूर्यग्रहण र खग्रास सूर्यग्रहण (पूर्ण सूर्यग्रहण) । 

खण्डग्रास सूर्यग्रहण भनेको चन्द्रमाले सूर्यको प्रकाश आधा जति छेक्दा पृथ्वीमा पर्ने छायाँ हो । यस किसमको ग्रहणलाई दुर्लभ मानिंदैन । साढे एक वर्षको अवधिमा यो ग्रहण देखिन्छ । तर, सोही स्थानबाट खण्डग्रास सूर्यग्रहण देखिनु भनेको दुर्लभ हो । वैज्ञानिकका अनुसार ३७५ वर्षपछि मात्र उही ठाउ‍ँबाट खण्डग्रास सूर्यग्रहण देख्ने अवसर मिल्छ । त्यस्तै वलय सूर्यग्रहणमा चन्द्रमा पृथ्वी र सूर्यको बीच भागमा पर्दा चन्द्रमाको वरिपरि गोलो आगोको बाला जस्तै देखिन्छ । त्यसैले यसलाई वलय सूर्यग्रहण भनिएको हो । 

पूर्ण सूर्यग्रहण वा खग्रास सूर्यग्रहण त्यो समयमा हुन्छ, जब चन्द्रमा पृथ्वीको निकै नजिक भएर पृथ्वी र सूर्यका बीचमा आउँछ र चन्द्रमाले पूर्ण रूपले पृथ्वीलाई आफ्नो छायाँ क्षेत्रमा लिन्छ । फलस्वरूप सूर्यको प्रकाश पृथ्वीसम्म पुग्न सक्दैन र पृथ्वीमा अन्धकार जस्तो स्थिति उत्पन्न हुन जान्छ । पृथ्वीमा पूरा सूर्य देखिन्न । यस प्रकार बन्ने ग्रहणलाई पूर्ण सूर्यग्रहण भनिन्छ ।

पूर्ण सूर्यग्रहण कत्तिको बिरलै देखिन्छ ?

रोयल म्युजियम ग्रिनविशका अनुसार उही स्थानबाट पूर्ण सूर्यग्रहण ४०० वर्षमा एक पटक मात्र देखिन्छ । सूर्य र पृथ्वीको बीचमा चन्द्रमा परेर सूर्यको प्रकाश सटीक तरिकाले छेक्नुपर्ने भएकाले यो निकै दुर्लभ मानिन्छ । विशेषगरी चन्द्रमाले पृथ्वीलाई घुम्ने क्रममा सूर्यको छायाँ त छेक्छ, तर यसरी पूर्ण रूपमा छेकिने अवस्था आउन समय लाग्छ । त्यसो त हरेक वर्ष दुईदेखि पाँच ओटासम्म सूर्यग्रहण लाग्ने गर्छन् । तर, पूर्ण सूर्य ग्रहण भने हरेक १८ महिनामा देखिन्छ । त्यस्तै पूर्ण सूर्य ग्रहणको दृश्य हेर्नका लागि त्यस्तो ठाउँमा हुनुपर्छ, जहाँ छायाँको सबैभन्दा अन्धकार भाग पर्छ । जसलाई ‘अम्ब्रा’ पनि भनिन्छ । यसले पृथ्वीको निकै सानो भाग ओगट्ने भएकाले सबैले यो दृश्य देख्न पाउँदैनन् । 

पूर्ण सूर्य ग्रहणका समयमा आकाश अन्धकार हुन्छ । यदि मौसम अनुकूल भयो भने सूर्यग्रहणको दृश्य हेर्न बसेका मान्छेले सूर्यको बाहिरी वायुमण्डलीय तह ‘कोरोना’ देख्न सक्छन् । अन्य अवस्थामा सूर्यको चम्किलो प्रकाशका कारण त्यो तह देखिंदैन । 

पूर्ण सूर्यग्रहणले गर्दा जीवहरूको समय तालिका बिग्रिन्छ !

बीबीसीका अनुसार नर्थ क्यारोलिना स्टेट युनिभर्सिटीका प्राध्यापक आदम हार्टस्टोन आज फोर्ट वर्थ टेक्ससको चिडियाखानामा आफ्नो दिन बिताउँदैछन् । उनी गोरिल्ला, जिराफ र कछुवाको अनौठो व्यवहार नियाल्नका लागि चिडियाखानामा आफ्नो दिन बिताउन लागेका हुन् । सन् २०१७ को ग्रहणका सयमा कछुवाहरूले दिउसै एक्कासी समभोग सुरु गरेका थिए । 

एक्कासी अन्धकार छाउँदा थुप्रै जनावरले अनौठो प्रतिक्रिया देखाएका थिए ।  “फ्लेमिङ्गो (एक प्रकारको चरा) ले पछिल्लो पटक राम्रो काम गरेका थिए,”  आदम भन्छन्,  “ग्रहण लाग्दै गर्दा, वयस्क फ्लेमिङ्गोले चल्लाहरूलाई बगालको बीचमा जम्मा गरे र आकाशमा हेरे । किनभने उनीहरू हवाई सिकारी तल आउँदैछन् भनेर चिन्तित भएका थिए ।”

त्यस्तै गोरिल्ला त्यही ठाउँमा गए, जहाँ उनीहरू रात बिताउने गर्थे । त्यस्तै रातमा सक्रिय हुने टावनी फ्रगमाउथ (उल्लु)  पनि बिउँझियो र सडेको रूखको टुप्पोमा गएर बस्यो, जहाँ ऊ रातको समयमा पुग्ने गर्थ्यो । यसरी दिउसै अन्धकार हुँदा रातमा सक्रिय हुने वन्यजन्तु दिनमै सक्रिय भए । 

सूर्य ग्रहणको प्रत्यक्ष प्रसारण दिंदै नासा

त्यस्तै अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले सूर्यग्रहणसम्बन्धी प्रत्यक्ष प्रसारण समेत गर्नेछ । नेपाली समय अनुसार राति ११ः१५ देखि लाइभ सुरु हुनेछ । लाइभ हेर्न यहाँ क्लिक गर्न सक्नुहुन्छ ।  

 

पछिल्लो अध्यावधिक: चैत २६, २०८० १७:४२