काठमाडौं । आफ्नो श्रीमतीको हत्या लुकाउन खोजेका कजाकिस्तानका पूर्व अर्थमन्त्री कुआन्डिक बिशिमबायेभलाई अदालतले २४ वर्षको जेल सजाय सुनाएको छ । कजाकिस्तानको सर्वोच्च अदालतले १३ मेमा फैसला सुनाउँदै २४ वर्षको जेल सजाय सुनाएको हो ।
उनले आफूलाई निर्दोष साबित गर्न अनेकन् उपाय लगाउँदै आएका थिए । तर सीसीटिभी फुटेजका आधारमा त्यहाँको अदालतले उनलाई मार्च महिनामा दोषी ठहर गरेको थियो ।
बिशिमबायेभले नोभेम्बर २०२३ मा अस्ताना सहरमा रहेको आफन्तको एक रेस्टुरेन्टमा आफ्नी ३१ वर्षीया श्रीमती साल्टनात नुकेनोभालाई मरणासन्न हुनेगरी कुटपिट गरेका थिए । पतिको पिटाइका कारण नुकेनोभाको मृत्यु नै भएको थियो । उनको मृत शरीर सोही रेस्टुरेन्टमा ९ नोभेम्बरका दिन भेटिएको थियो ।
श्रीमती हत्या गरेको अभियोगमा गत फेब्रुअरीमा बिशिमबायेभ विरुद्ध मुद्दा दायर गरिएर मार्चबाट बहस सुरु भएको थियो । तर बिशिमबायेभले आफू निर्दोष भएको बताउँदै आएका थिए । अदालतमा उनले श्रीमतीले रक्सी खाएर शौचालयमा लड्दा टाउकोमा चोट लागी मृत्यु भएको बयान दिएका थिए । तर चिकित्सा परीक्षणले उनको शरीरमा ठूलो मात्रामा मदिरा नभएको देखाएको थियो ।
नुकेनोभाकी आमाले भने बिशिमबायेभले आफ्नी छोरीलाई सीसीटिभी क्यामेरा नभएको भिआईपी बुथमा आठ घण्टासम्म यातना दिएर हत्या गरेको दाबी गर्दै आएकी थिइन् । यसपछि यस घटनामा प्रहरीले अनुसन्धान जारी राख्यो । त्यसक्रममा पूर्ण नभए पनि बिशिमबायेभले आफ्नी श्रीमतीलाई कुटेको र घटनाकाे दिन उनको मोबाइलमा रेकर्ड गरिएका १२ ओटा भिडिओसमेत फेला परेका थिए ।
अदालतले सीसीटिभीका ती फुटेज मार्चमा भएको बहसमा देखाएको थियो । जसलाई प्रत्यक्ष प्रसारण समेत गरिएको थियो । उक्त फुटेजमा बिशिमबायेभले आफ्नी श्रीमतीलाई कपाल तानेर मुक्का र लात हानेको देखिन्छ । त्यस्तै उनको मोबाइलमा रेकर्ड भएको भिडिओमा श्रीमतीलाई गाली गरेको सुन्न सकिन्छ ।
अदालतमा पेस गरिएका यिनै प्रमाणपछि बिशिमबायेभले अन्तत: १ अप्रिलका दिनमा भएको बहसमा श्रीमतीलाई आफूले कुटपिट गरेको र अञ्जानमा मृत्यु भएको स्वीकारेका थिए ।
यिनै आधारमा यातना दिएर हत्या गरेको अभियोगमा अन्तिम फैसला दिँदै अदालतले उनलाई २४ वर्षको जेल सजाय सुनाएको हो । अहिले त्यहाँ महिला र बालबालिकाविरुद्ध हुने घरेलु हिंसाविरुद्धको कानूनलाई समेत कडा बनाइएको छ ।