close

१० महिनामै नेपाल भित्रिए साढे आठ हजार बिजुली गाडी, सरकारलाई नौ अर्ब बढी राजस्व

टेकपाना टेकपाना

जेठ १०, २०८१ १६:२८

१० महिनामै नेपाल भित्रिए साढे आठ हजार बिजुली गाडी, सरकारलाई नौ अर्ब बढी राजस्व

काठमाडौं । आर्थिक वर्ष २०८०/८१ को १० महिनामा नेपालमा २१ अर्ब आठ करोड ८० लाख रुपैयाँ बढीको बिजुली गाडी भित्रिएको छ । भन्सार विभागले हालै सार्वजनिक गरेको तथ्याङ्क अनुसार १० महिनाको अवधिमा सो मूल्य बराबरको कुल आठ हजार ४९७ गाडी भित्रिएका हुन् ।

यो अवधिमा वैशाख महिनामा मात्रै १४०४ बिजुली गाडी आयात भएको छ । निरन्तर उकालो लागेको बिजुली गाडीको आयात सरकारले अर्धवार्षिक समीक्षा मार्फत कर बढाउने हल्ला चल्दा फागुनमा घटेको थियो । फागुनमा नेपालमा २७६ ओटा बिजुली गाडीमात्रै भित्रिएका थिए ।

तर करमा कुनै फेरबदल नभएपछि पुन: बिजुली गाडीको आयात बढ्न थालेको हाे । वैशाखमा ५० किलोवाटसम्मका ५७०, ५१-२०० किलोवाटसम्मका ८१९, १०१-२०० किलोवाटसम्मका १२, २०१-३०० किलोवाटसम्मका तीन ओटा मात्र बिजुली गाडी आयात भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।

आर्थिक वर्ष २०८०/८१ को १० महिना अवधिमा भित्रिएका बिजुली गाडीबाट सरकारले नौ अर्ब ३६ करोड बढी रुपैयाँ बराबरको राजस्व प्राप्त गरेको छ ।

पछिल्लो अध्यावधिक: जेठ १०, २०८१ १६:३०