काठमाडौं । विश्व कीर्तिमान राख्न सफल पर्वतारोही निर्मल पुर्जा उर्फ निम्स दाइले सामाजिक सञ्जालमार्फत आइतबार दिउँसो १:५५ मा करिब साढे दुई मिनेट लामो एउटा भिडिओ पोस्ट गरे । उनले उक्त भिडिओ एक्स, फेसबुक, इन्स्टाग्राममा राखेका छन् । यो समाचार तयार पार्दासम्म निम्सले राखेको भिडिओ एक्समा ९१ हजार, फेसबुकमा १७ हजार र इन्स्टाग्राममा ११ लाखले हेरेका छन् ।
भिडिओमा उनले आफू सधैं सकारात्मक हुन चाहे पनि तल झार्न तीन वर्षदेखि मान्छेहरू लागि परेको दाबी गरेका छन् । अनि क्याम्प चारभन्दा माथि रहेको बाल्कोनीमा समिटका लागि अत्यावश्यक पर्ने डोरी कसैले काटिदिएको कुरा उनले सुनाएका छन् । यसका साथै आफूमाथि राजनीति पनि भइरहेको उनको आरोप छ ।
“मैले भर्खरै रेडिओमार्फत मान्छेहरूले साउथ समिट माथि रहेको डोरी काटेको खबर पाएँ । मेरो समूह पनि आरोहणमा जाँदै छ भन्ने मान्छेहरूलाई थाहा थियो,” उनले भिडिओमा भनेका छन्, “यहाँ हिमालमा यति फोहोरी राजनीति भइरहेको छ, जुन मलाई पर्याप्त भइसक्यो । यो उद्योगलाई माथि लान म लामो समयदेखि चुप बसिरहें । तर अब मैले बोल्नु पर्ने अवस्था आएको छ । यो खबर वास्तवमै अत्यन्त घृणित छ ।”
सोही भिडिओमा उनले डोरी कसले काटेको भन्ने कुरा चाँडै थाहा हुने पनि बताएका छन् । भिडिओको अन्त्यमा उक्त सूचना दिने व्यक्ति पिक प्रो माउन्टेनका अध्यक्ष तथा सफा हिमाल अभियानका आङ बाबु शेर्पासँगको कुराकानी भइरहेको देखाएका छन् । सो कुराकानी सम्पादित भए पनि त्यसमा निम्स दाइ र बाबु शेर्पाबिच डोरीको अवस्थाबारे कुराकानी सुन्न सकिन्छ ।
ध्यान दिएर कुराकानी सुन्दा डोरी काटेर तलतिर फालिदिएको र काटिएको हो अथवा हिउँले पुरिएको हो भन्ने निश्चित नभएको सुन्न सकिन्छ । यसका साथै मृत शरीर सङ्कलन गर्ने शेर्पाहरूले क्याम्प फोरमा नभेटेपछि बाल्कोनीको माथिल्लो भागमा जाँदा डोरी नभएर फर्किएको कुराकानी सुन्न सकिन्छ ।
त्यसपछि द हिमालयन टाइम्स र बिजमान्डुले सोमबार दिउँसो निम्स दाइको उक्त भिडिओमा गलत सन्देश रहेको भन्ने समाचार प्रकाशित भएको थियो । द हिमालयन टाइम्सले निम्सले 'फेक भिडिओ मेसेज फैलाएको' र बिजमान्डुले चर्चामा आउन भ्रम फैलाउने काम गरेको शीर्षकमा समाचार लेखेका छन् । यसपछि सामाजिक सञ्जालहरूमा मिश्रित प्रतिक्रिया आउन थाले ।
वास्तवमा डोरी काटिएको विषय के थियो भनेर हामीले विभिन्न पक्षलाई सोधेका छौं । पर्वतारोहण सञ्चालक सङ्घ नेपालका अध्यक्ष डम्बर पराजुलीले वास्तविकता के हो भनेर बुझ्ने कार्य भइरहेको बताए । यसअघि हिमालयन टाइम्सले उनैलाई उद्दत गर्दै निम्सको दाबी निराधार भएको र मानिसहरूको सहानुभूति जुटाउन उक्त चाल अपनाएको जस्तो देखिएको लेखेको थियो । त्यसबारे सोध्दा उनले जवाफ दिए, “ककसले केके लेख्यो थाहा भएन, उहाँ हिमाल चढ्दै हुनुहुन्छ, अरू सूचना केही छैन ।”
त्यसपछि हामीले सगरमाथा आधार शिविरमा रहेको अभियान अनुगमन तथा सहजीकरण क्षेत्र कार्यालयका प्रमुख खिमलाल गौतमलाई यस विषयमा सोध्यौं । उनका अनुसार निम्सले फिल्ड नहेरी सामाजिक सञ्जालमार्फत हल्ला फिंजाएका हुन् । पुष्टि नगरी फैलाइएको उक्त हल्लाले विश्वभर नेपालको पर्वतारोहण क्षेत्रलाई बदनाम भएको छ ।
निम्सको दाबी पायोनियर एड्भेन्चरका दुई जना शेर्पा र भारतीय नागरिक सत्यदिप गुप्ताले १४ जेठको बिहानको १२:४५ मा सगरमाथाको चुचुरोमा पुगेको सफलताले पनि खण्डन हुने उनको भनाइ छ । “भारतका सत्यदीप गुप्ता, र नेपाली नागरिक पस्तेम्बा शेर्पा र निमा उङ्दी शेर्पा १४ जेठको १२:४५ तिरै सगरमाथाको चुचुरोमा पुगेका थिए । फेरि उनीहरूले आज १२ बजे लोत्से पनि चढेका छन् । अहिले उनीहरू बेसक्याम्प फर्किंदै छन् । यसका साथै डोरीको फोटो/भिडिओ पनि खिच्दै छन्,” उनले भने ।
यसपछि हामीले निम्स दाइसँग नजिक रहेका आरोही तथा सेभेन समिट ट्रेक्स प्रालिका अध्यक्ष मिङ्मा शेर्पासँग पनि सम्पर्क गर्यौं । उनले हिमाल आरोहण गर्न गएको टोली फर्केपछि मात्र वास्तविकता थाहा हुने बताए । उनका अनुसार निम्सको टोली सोमबार राति सगरमाथाको चुचुरोमा पुगेको थियो । तर रेडिओ सेटमा पिक प्रमोसनका बाबु शेर्पासँग भने आइतबार निम्सले कुराकानी गरेका हुन् । वास्तविक कुरा टोली फिर्ता आएपछि मात्र थाहा हुने उनको भनाइ छ ।
“निम्सलाई पनि अर्कै समूहले सूचना दिएको हो । तर गलत हो भने किन के कसरी त्यस्तो सूचना दियो केही समयपछि थाहा हुन्छ” उनले भने ।
तर उनी पनि डोरी नकाटिएको हुन सक्ने बताउँछन् । “मैले बुझे अनुसार डोरी काटिएको छैन । किनकी आज बिहान चुचुरोमा पुगे भनेपछि डोरी नकाटिएको हुनु पर्ने हो,” उनी भन्छन् ।
उनी पछि हामीले रेडिओ सेटमा निम्सले कुरा गरेका पिक प्रमोसनका बाबु शेर्पासँग बुझ्ने प्रयास गर्यौं । उनी आफूलाई पनि वास्तविकता थाहा नभएको तर उक्त ठाउँमा डोरी भने नभएको बताउँछन् । “सफा हिमाल अभियान अन्तर्गत हराइरहेका लास लिन टोली जाँदै थियो । त्यहाँ जाँदा शेर्पा टोलीहरूले डोरी नदेखेको र सबै डोरी तल झरेको देखेको सत्य हो । मैले यही कुरा हिजो बिहान कुराकानीका क्रममा निम्सलाई भनेको हो ।”
तर त्यो डोरी काटेको हो भनेर आफूले भन्न नसक्ने र त्यो कुराको ग्यारेन्टी दिन नसक्ने बाबु शेर्पाले बताए । “हामीले डोरी काटिएको भन्न मिल्दैन । डोरी छैन र डोरी नदेखेका मात्र हौं भनेको हो,” उनले भने, “निम्सलाई पनि यही कुरा भनेको हुँ । तर उनले इन्टरनेटमा हालिदिए छन् । त्यसो गर्छन् भन्ने थाहा पाएको भए भन्दिन थें ।”
जहाँ पहिले डोरी हुन्थ्यो, त्यहाँ अहिले नभएको दाबी गर्ने उनी त्यो डोरी काटिएको हो वा हिउँले पुरिएको हो यकिन गर्न नसकेको बताउँछन् ।
अनि हामीले सोमबार बिहान चुचुरो टेक्ने टोलीबारे पनि उनलाई सोध्यौं । त्यसमा भने उनले अरू शेर्पाले डोरी लगेर टाँगेर चढेको बताए । “शेर्पाहरू डोरी टाँग्न सिपालु हुन्छन् । अर्को डोरी टाँगेर नयाँ टोलीले हिमाल चढेको हो,” उनले भने ।
त्यस्तै आफ्नो कुराकानी निम्सले सामाजिक सञ्जालमा राख्दा सम्पादन गरेर राखेको समेत उनले बताए । यसका साथै एकै सिजनमा तीनपटक सगरमाथाको सफल आरोहण गरेर विश्व कीर्तिमान कायम गरेकी पूर्णिमा श्रेष्ठको टोलीले पनि डोरी नदेखेको उनले जनाए । उनका अनुसार श्रेष्ठको टोली फर्किंदा २० मिटर जति डोरी देखिएको थिएन ।
पिक प्रमोसनका बाबु शेर्पाले नयाँ कुरा बताएपछि हामीले आरोही पूर्णिमा श्रेष्ठलाई सम्पर्क गर्यौं । उनले हामीसँग बाबुको कुरा सत्य भएको बताइन् । उनका अनुसार सगरमाथाको बाल्कोनी र साउथ समिटको बिचतिर करिब १० मिटर जति डोरी देखिंदैन । “हामीले जाँदा/आउँदा दुवै पटक उक्त ठाउँमा डोरी देखेनौं । सायद डोरी धेरै पुरानो भएर चुँडिएको हुन सक्छ । तर उक्त ठाउँ डोरी प्रयोग नगरीकन हिंड्न सकिन्छ । हामीले पनि त्यसै गरेका थियौं,” उनले भनिन् ।
त्यसपछि सगरमाथा आरोहण गर्न आवश्यक पर्ने डोरी काटिएको दाबी गर्ने निम्स दाइलाई सामाजिक सञ्जाल ह्वाट्सएपमार्फत सम्पर्क गर्यौं । सोमबार अपरान्ह ४ बजेतिर सगरमाथाको क्याम्प चारमा रहेका उनले पिक प्रमोसनले दिएकै जानकारी आफूले भिडिओमा भनेको दाबी गरे ।
“अस्पतालको आईसीयूमा रहेका भेन्टिलेटरले जस्तै हिमालमा रहेका डोरीले काम गर्छन् । मैले कसैलाई दोष दिन खोजेको थिइनँ,” उनले भने, “उक्त विषय जीवन र मृत्युसँग सम्बन्धित छ । यसकारण मैले प्रतिक्रिया दिनु स्वभाविक थियो । हिमाल खतरनाक ठाउँ हो ।”
यसका साथै आरोहण पछि बाँकी कुरा बताउने पनि उनले सुनाए । यो समाचार तयार पार्दासम्म संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय अन्तर्गत रहेको पर्यटन विभागले पनि आधिकारिक धारणा दिइसकेको छ । विभागले जारी गरेको विज्ञप्तिमा यस सिजनमा सगरमाथा आरोहणको सम्पूर्ण अभियान अन्तिम चरणमा पुगेको र आरोहण मार्गमा टाँगिएको डोरीमा कहीं कतै पनि समस्या नरहेको उल्लेख छ । यसका साथै आरोहण गर्न बाँकी रहेका सम्पूर्ण आरोहीहरूमा ढुक्कसँग सगरमाथा आरोहण अभियानमा लाग्न अनुरोध पनि गरिएको छ ।
दाबी
सगरमाथा चढ्न आवश्यक पर्ने डोरी काटिएको
दाबीकर्ता
निर्मल पुर्जा उर्फ निम्स दाइ
निष्कर्ष
दोरी नकाटिएको, हिउँले पुरिएर नदेखिएको अथवा मक्किएर चुँडिएको हुन सक्ने । तर निर्मल पुर्जाले अतिरञ्जित गरेको ।