close

नेपालमा साइबर आक्रमण गरेपछि बदला लिने भन्दै इन्डोनेसियामाथि खनिए नेपाली ह्याकर

टेकपाना टेकपाना

असार १०, २०८१ १४:४०

नेपालमा साइबर आक्रमण गरेपछि बदला लिने भन्दै इन्डोनेसियामाथि खनिए नेपाली ह्याकर

काठमाडौं । इजरायलको समर्थन गरेको भन्दै नेपालमा साइबर आक्रमण गरिरहेका इन्डोनेसियाली ह्याकरमाथि नेपाली ह्याकर खनिएका छन् । ‘फिड्स एक्सप्लोइट’ नामले चिनिने इन्डोनेसियाली ह्याकर समूहले विगत दुई महिनादेखि नेपाली साइबर स्पेसमा आक्रमण थालेको थियो । विशेषगरी डटकम डटएनपी र डटजीओभी डटएनपी साइटमाथि आक्रमण गरेको उक्त समूहले नेपाली नागरिकको संवेदनशील वैयक्तिक विवरण समेत छताछुल्ल पारेको छ । 

त्यसैको प्रतिक्रिया दिंदै नेपाली ह्याकर समूहले आक्रमण थालेको हो । १६ मे २०२४ मा टेलिग्राम च्यानल खोलिएको नेपाली ह्याकर समूहले नेपालका साइटमा आक्रमण थालेपछि त्यसैको बदला लिन नयाँ अभियान थालेको बताएको छ । “अब हामी बङ्गलादेश, इन्डोनेसिया र पाकिस्तानका केही स्किडहरूबाट हाम्रो देशको रक्षा गर्न यहाँ छौं,” उक्त समूहले टेलिग्राममा लेखेको छ, “हामीले यी स्किडहरूले धेरै नेपाली डी ग्रेड साइटहरूलाई डिडस (अत्यधिक बट ट्राफिक ल्याएर साइट डाउन गर्ने आपराधिक गतिविधि) र विकृत गरेको देखेका छौं । त्यसैले अबदेखि हामी हरेक आक्रमणको बदला लिनेछौं ।” 

इन्डोनेसियाली ह्याकर समूहले पाठ्यक्रम विकास केन्द्रमा भएका सर्वसाधारणका संवेदनशील जानकारी बाहिर ल्याएको थियो । त्यसको बदला लिंदै नेपाली ह्याकरको समूहले स्थानीय बैंकका एक लाख बढी ग्राहकको नाम, ईमेल, फोन नम्बर, ठेगाना, जन्म मिति लगायतका संवेदनशील विवरण सार्वजनिक गरेको छ ।

त्यस बाहेक इन्डोनेसियाको सेना र संसद्को साइट डाउन गरेको नेपाली ह्याकर समूहको दाबी छ । “हामी यहाँ हाम्रो देश बचाउन आएका छौं,” एनोनिमस नेपालले लेखेको छ, “बिना कुनै कारण हामी कुनै पनि देशमाथि आक्रमण गर्दैनौं ।”

टेलिग्राममा च्यानलमा ‘एनोनिमस नेपाल’ नाम भएको नेपाली ह्याकर समूहले भारतीय ह्याकरसँग मिलेर इन्डोनेसिया, पाकिस्तान र बङ्गलादेशलाई निशानामा पारेको देख्न सकिन्छ । सो समूहले बङ्गलादेशको सबैभन्दा चर्चित ईकमर्स साइट ‘मिनाबजार अनलाइन’ डाउन गरेको दाबी गरेको थियो । त्यसपछि बङ्गलादेशको अर्को साइट डाउन गर्दै नेपाली ह्याकर समूहले लेखेको छ, “नेपाल साइबर स्पेस छुने हिम्मत नगर्नु ।”

त्यस बाहेक बङ्गलादेशको नगरपालिका, नेसनल युनिभर्सिटी अफ बङ्गलादेश, नेसनल हस्पिटल अफ बङ्गलादेश, राष्ट्रिय क्रिकेट टोली, पर्यटन, ई-कमर्स साइट डाउन गरिएको थियो । त्यसका साथै सहीद स्मृति कलेज, सैन्य एकेडेमी, बिमान एयरलाइन्स लगायतका साइट डाउन गरेको नेपाली ह्याकर समूहको दाबी छ । 

लगत्तै पाकिस्तानलाई निशानामा पारेको सो समूह पछिल्लो समय इन्डोनेसियामाथि खनिएको हो । 

सम्बन्धित समाचारः

इजरायललाई समर्थन गरेको आरोप लगाउँदै नेपालमा साइबर आक्रमण, नागरिकका संवेदनशील डेटा लिक

 

पछिल्लो अध्यावधिक: असार १०, २०८१ १४:४१