close

अमेरिकाले डिपोर्ट गरेका पीडित नेपालीलाई थप पीडा पुर्‍याउँदै अनुमतिबिनाका फोटो-भिडिओ

रञ्जिता उप्रेती रञ्जिता उप्रेती

जेठ २८, २०८२ १९:३९

अमेरिकाले डिपोर्ट गरेका पीडित नेपालीलाई थप पीडा पुर्‍याउँदै अनुमतिबिनाका फोटो-भिडिओ

काठमाडौँ । अमेरिकाले डिपोर्ट गरेर फिर्ता पठाएका ३७ जना नेपालीहरूलाई चार्टर्ड बिमानमार्फत गएको आइतबार राति नेपाल ल्याइयो । त्यससँगै यस सम्बन्धी समाचार, फोटो तथा भिडिओहरू भाइरल बने । 

भाइरल भिडिओमा अमेरिकाले निष्कासन गरेका नेपाली युवाहरू त्रिभुवन विमानस्थलबाट बाहिर निस्किएदेखि मानव बेचबिखन अनुसन्धान ब्युरोको गाडी चढ्दासम्मका क्लिपहरू राखिएका छन् । आफूहरू तर्फ क्यामेरा तेर्स्याएको देखेर फर्काइएका पीडितहरू निकै असहज मानिरहेको ती क्लिपहरूमा सहजै देख्न सकिनछ । भिडिओ खिचिरहेका पत्रकारहरूले प्रश्न गरिरहेका छन्, “तपाईंहरू मध्ये कोही बोल्नुहुन्छ?” । ब्युरोको गाडी चढेपछि एक पीडितले गाडी भित्रबाटै असन्तोष प्रकट गर्दै प्रतिक्रिया दिन्छन्, “के बोल्ने?”

भिडिओ क्लिपहरूमा मात्र होइन, अमेरिकाले फिर्ता पठाएका नेपाली युवाहरू बाहिरिएको फोटो सहितका समाचार समेत सामाजिक सञ्जालमा निकै शेयर गरिए । “अमेरिकाबाट डिपोर्ट भएका नागरिकहरू बोरा बोकेर फर्किए” भन्दै पडीतहरूलाई थप पीडा महसुस हुने किसिमका शीर्षकसहितका समाचार मूलधारकै मिडियाहरूले लेखेका छन् । 

योहो टेलिभिजनले “पैसाको बोरा बुझाएर अमेरिका पुगेका नेपाली बोरा बोकेर डिपोर्ट भएपछि बिजोग, अझै ७ हजार फर्किँदै, ट्रम्पको आप्रवासी नीतिले वि!ध्वंश” शीर्षकमा भिडिओ रिपोर्ट सार्वजनिक गर्‍यो । त्यसमा अमेरिकाबाट निष्कासित हुँदा लज्जित भएर नेपाल फर्किएको भाष्य सहितको रिपोर्ट छ । 

उक्त रिपोर्टमा भनिएको छ, “मलिन अनुहार लिएर घोसे मुन्टो लगाउँदै फर्किएकाहरू देख्दा यति चाहिँ भन्न सकिन्छ, उडायो सपना सबै डोनाल्ड ट्रम्पको लखेट्याइले । सञ्जालमा कतिपयले चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी भन्ने कुरालाई चरितार्थ गरिरहेका छन् । कतिपयले आँखा फुटेको गोरुले भदौमा पनि हरियो देख्छ भन्दै आलोचना गरिरहेका छन् । अमेरिका पुगे बोटमै टिप्न सकिन्छ जस्तो गरेर नेपालीले करोड बढी रकम बुझाइरहेका छन्” फेसबुकमा सार्वजनिक योहो टीभीको भिडियो रिपोर्टमा भनिएको छ । अर्थ सरोकार, हिमालय टिभी, न्युज इन नेपाल, आनन्द नेपाल लगायतका अनेकौँ मिडिया तथा सामाजिक सञ्जाल ह्यान्डलले पीडितका अनुहार दुरुस्तै देखिने गरी भिडिओ सामग्री राखेका छन् । 

यस्तै अनलाइन खबरले पीडितको अनुहार चिनिने गरी “अमेरिकाबाट बोरा बोकेर फर्किए नेपाली” शीर्षकमा समाचार लेखेको छ । न्युज अफ नेपाल, अर्थ सरोकार, ग्यालेक्सी खबर, क्लिकमान्डु, जनता टाइम्स लगायतका सञ्चारमाध्यमले पनि यस्तै शीर्षकमा समाचार राखेका छन् । सँगसँगै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले पनि अमेरिकाबाट निष्कासित व्यक्तिहरूका बारेमा नकारात्मक टिप्पणी गरेका छन् । त्यसैमा एक प्रयोगकर्ता लेख्छन्, “चोरबाटोबाट जानेहरूलाई ठिक्क पर्‍यो ।” तर सेतोपाटीले भने पीडितको अनुहार छोपिने गरी भिडिओ रिपोर्ट प्रकाशित गरेको छ । 

केही प्रयोगकर्ताले भने निष्कासित भएको पीडामा रहेका व्यक्तिलाई खिसीट्युरी गरेर थप पीडा दिन नहुने प्रतिक्रिया दिएका छन् । भने केहीले “देशको नीति कमजोर हुँदा नागरिकले दु:ख पाउनुपरेको भन्दै सहानुभूति प्रकट गरेका छन् । 

तर सञ्चार माध्यमहरूले पीडितहरूको फोटो र भिडिओ सार्वजनिक गरेर घटनालाई अतिरञ्जित बनाएको र पीडितलाई थप पीडा दिएको त्रिभुवन विश्वविद्यालय,पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका उप प्राध्यापक डा श्रीराम पौडेलको बुझाई छ । उनका अनुसार जुनसुकै सञ्चारमाध्यमले फोटो भिडिओ राख्दा व्यक्तिगत गोपनियताको सम्मान गर्नुपर्छ । 

पत्रकारिताका विद्यार्थीहरूलाई समेत अनुमति लिएर मात्र फोटो खिच्नुपर्ने कुरा पढाइने गरेको उनले बताए । “तर फोटो खिच्ने बेलामा यही मान्यता भङ्ग भइरहेको हुन्छ । यसले व्यक्तिलाई ठुलो चोट पुर्‍याउने अथवा उसको मान, प्रतिष्ठा, आचरण, चरित्रमा समेत असर पारिरहेको हुन्छ ।”

तर “क्लिकबेट” बाट पैसा कमाउने ध्यानमा मिडिया लाग्दा घटनाका मुख्य विषयवस्तुलाई उठान गर्नुभन्दा पनि धेरै ध्यान खिच्ने विषयवस्तुहरूलाई कन्टेन्ट बनाउने गरिएको उनको विश्लेषण छ । सामाजिक सञ्जालमा कन्टेन्ट बिकाउने चक्करमा व्यक्तिको गोपनियतासमेत भङ्ग हुने गरेको उप प्राध्यापक पौडेलको भनाई छ । 

अमेरिकाबाट निष्कासित भएर नेपाल फर्किएका नेपालीहरूको विषयलाई लिएर सामाजिक सञ्जालमा मजाकको विषय बनाउन नहुने उनले बताए । उप प्राध्यापक पौडेल भन्छन् “यसमा लाज मान्नुपर्ने त राज्यले हो । मेरा नागरिकले कसरी दु:ख पाइरहेका छन्, कसरी संरक्षण गर्न सक्छु भनेर सोच्नुपर्नेमा मजाकको विषय बनेको छ ।” पत्रकारितामा "गेट किपिङ" को काम नगरी सेन्सरबिना नै समाचारहरू प्रकाशित हुँदा पनि यस्तो समस्या आइरहेको उनले बताए । यसले भौतिक रूपमा नभएपनि मानसिक रूपमा नागरिकलाई असर पुर्‍याएको छ । 

उक्त विषय सार्वजनिक सरोकारको भएपनि व्यक्तिलाई मजाकको रूपमा प्रस्तुत गरिएको उनको बुझाई छ । यस्तै समाजमा सस्तो मजाका सामाग्री बनाएर प्रचार गर्ने प्रवृत्ति बढेको उप प्राध्यापक पौडेलले बताए । उनले भने, "समाज अर्काको पीडामा रमाउने परपीडक बन्दैछ ।” कुनैपनि घटनालाई गहिरिएर बुझ्नु भन्दापनि भाइरल फुटेज बनाएर सबैभन्दा पहिले हाल्ने हतारो हुने गरेको उनले बताए । 

यस्तै प्रेस काउन्सिलका पूर्व अध्यक्ष तथा शिक्षक मासिकका सम्पादक राजेन्द्र दाहाल ‘मिडियामा देखिने कि नदेखिने’ भन्ने कुरा व्यक्तिको स्वतन्त्रताको कुरा भएको बताउँछन् । कुनै सर्वसाधारण व्यक्तिको फोटो, भिडिओ लिँदा अनुमति लिनुपर्ने उनको भनाई छ । “यदि कुनै मिडियाले आफ्नो फोटो-भिडिओ खिचेको उनीहरूले मन पराइरहेका छैनन् भने जबरजस्ती गर्ने अधिकार प्रेस, पत्रकार कसैलाई पनि छैन,” उनले भने । 

“सार्वजनिक सम्पत्तिमा वा कोही व्यक्तिमा असर नपुर्‍याएका र कुनै पनि आपराधिक क्रियाकलापमा सहभागी नभएका व्यक्तिहरूको मन्जुरी बिना फोटो भिडिओ खिच्नु हुँदैन ।” यसरी जबरजस्ती गरेमा वा सम्बन्धित व्यक्तिलाई आपत्तिजनक लागेमा उजुरी समेत गर्न सकिने बताउँदै दाहालले दर्ता भएका मिडिया भए प्रेस काउन्सिलबाट उजुरी सुरु गर्नुपर्ने सल्लाह दिए । “यदि अरू भएमा सिधै प्रहरी कहाँ गएर उजुरी दिन सकिन्छ,” उनले भने ।

मानव बेचबिखन अनुसन्धान ब्युरोले डिपोर्ट भएर फर्किएका नेपालीलाई पीडितको रूपमा हेरेको छ । प्रहरी उपरीक्षक तथा ब्युरोका प्रवक्ता नरेन्द्र कुँवरका अनुसार डिपोर्ट भएका उनीहरूलाई विमानस्थलबाट सिधै मानव बेचबिखन अनुसन्धान ब्युरोमा ल्याइएको थियो । उनीहरू मानव तस्करीको पीडित हो कि होइन भन्ने विषयमा बुझ्नका लागि ब्युरोमा ल्याइएको उनले जानकारी दिए । 

“मानव तस्करीमा परेको भए उहाँहरूले कसुरदारलाई अनुसन्धान गरेर कानुनी दायरामा ल्याउन मद्दत गर्न जाहेरी दिनुहुन्छ कि भनेर बुझ्न सम्पर्क गरेका थियौँ,” उनले भने । हाल नेपाल फर्किएका पीडितहरू तनावमा नै रहेकाले धेरै कुरा नबताएको उनले प्रवक्ता कुँवरले सुनाए । “उहाँहरू थुनामा बसेर आउनु भएको छ । पछि कसै माथि उजुरी गर्नुहुन्छ कि भनेर प्रतीक्षा गरेका छौँ ।” ब्युरोले नेपाल फर्किएका व्यक्तिहरूलाई सहयोग पुर्‍याउने प्रयास गरेको उनको भनाइ छ । 

प्रेस काउन्सिल भन्छः पीडितलाई थप पीडा पुर्‍याउनु आचार संहिता विपरीत

पत्रकार आचारसंहितामा पीडितलाई थप पीडामा दिने काम गर्न नहुने कुरा उल्लेख गरेको छ । पत्रकार आचारसंहिता (पहिलो संशोधन, २०७६), २०७३” मा पत्रकार र सञ्चार माध्यमले गर्न नहुने क्रियाकलापहरूको बारेमा उल्लेख छ । जसको बुँदा नम्बर ४ मा पीडित वा प्रभावित व्यक्तिलाई थप पीडा हुने गरी सूचनाको सम्प्रेषण गर्न नहुने उल्लेख गरिएको छ । त्यहाँ भनिएको छ, “पत्रकार तथा सञ्चारमाध्यमले विपत्ति वा शोकमा परेका, दुःख-पीडा भोगिरहेका व्यक्ति वा उनका आफन्तजनमा थप पीडा पुग्ने गरी वा सार्वजनिक संवेदनशीलतामा प्रतिकूल असर पर्ने गरी कुनै पनि विवरण, चित्र, सङ्केत लगायतका सामग्री उत्पादन, प्रकाशन, प्रसारण र वितरण गर्नुहुँदैन ।”


 

 

यस घटनालाई प्रेस काउन्सिलले पनि नजिकबाट नियालिरहेको प्रेस काउन्सिलका सह-प्रवक्ता रामशरण बोहोराले बताए । “पीडितको सहमतिबिना फोटो, भिडिओ खिच्न र प्रकाशन गर्न नहुने थियो । तर, सबै कुरा बाहिर आइसकेका छन् । यस घटनामा प्रेस काउन्सिलले के गर्न सक्छ भनेर छलफल गरिरहेका छौँ,” उनले भने ।

उक्त विषयलाई लिएर पत्रकार आचारसंहिता आकर्षित हुने उनले बताए । बोहोराले थपे, “यो विषयमा मानवीय समवेदना पनि जोडिएका हुन्छन् । त्यसैले यस्ता कुरामा ख्याल राख्नुपर्छ ।” कुनैपनि सञ्चारमाध्यमले आफ्ना फोटो, भिडिओ अनुमतिबिना सार्वजनिक गरेमा प्रेस काउन्सिलमा गएर उजुरीसमेत दिन सकिने उनले बताए ।

पछिल्लो अध्यावधिक: जेठ २८, २०८२ १९:३९