काठमाडौं । खुला, समावेशी र सुरक्षित इन्टरनेटका लागि युवाहरूलाई सशक्त बनाउने उद्देश्यसहित एक दिने अन्तरक्रियात्मक तथा क्षमता विकास कार्यक्रम आयोजना हुने भएको छ ।
इन्टरनेट गभर्नेन्समा रुचि राख्ने युवाहरूलाई एकै ठाउँमा ल्याई छलफल र नीतिगत तहबाट गर्न सकिने सुधारबारे बहसका लागि आउँदो १४ सेप्टेम्बर ललितपुरको होटल हिमालयमा 'युथ इन्टरनेट गभर्नेन्स फोरम नेपाल २०२४' हुन लागेको हो ।
फेलोशिप कार्यक्रमका लागि सातै प्रदेशका युवालाई आह्वान गरिएको छ । हरेक प्रदेशबाट छनोट भएका दुई जनालाई काठमाडौं आउने जाने तथा दुई रात बस्ने व्यवस्था मिलाइने युथ आईजीएफले जनाएको छ । काठमाडौं उपत्यका बाहिरका युवाहरू मात्रै फेलोशिपका लागि आवेदन दिन योग्य हुनेछन् ।
यस वर्षको कार्यक्रममार्फत फरक-फरक वर्ग र क्षेत्रका युवामाझ इन्टरनेट गभर्नेसका नयाँ मुद्दाहरूमा छलफल गरी समान धारणा विकास गरिने आयोजकको भनाइ छ । यसअन्तर्गत सीमान्तकृत समुदाय, महिला तथा पिछडिएका वर्गका युवाहरूलाई प्राथमिकता दिइने बताइएको छ ।
इन्टरनेट गभर्नेन्सअन्तर्गत डिजिटल डिभाइड, युनिभर्सल एक्सेस, एआई गभर्नेन्स, फ्रिडम अफ एक्सप्रेसन लगायतका सवालमा छलफल हुनेछ । फेलोशिप पाएका युवाले यी मुद्दामा सञ्चालन हुने कार्यशाला, प्यानल डिसकसनसहित विज्ञहरुसँग साक्षात्कार गर्न पाउनेछन् ।
यस कार्यक्रमले युवाको आवाज क्षेत्रीय, राष्ट्रिय हुँदै विश्व मञ्चसम्म पुर्याउन मद्दत गर्ने आयोजकको विश्वास छ ।
फेलोशिपका लागि इच्छुक व्यक्तिले यहाँ क्लिक गरेर ९ अगस्टसम्म आवेदन दिन सक्नेछन् ।