काठमाडौं । चीनमा पढ्दै गर्दा राजविक्रम महर्जनलाई डीजेआई (दा जियांग चुआंगसिन) को सबैभन्दा ठुलो ड्रोन सगरमाथा क्षेत्रमा उडाउँछु भन्ने सायदै लागेको थियो । तर, चीनबाट नेपाल फर्केको ६/७ वर्षपछि त्यो काम भ्याएका छन् ।
उनको एअरलिफ्ट टेक्नोलोजी नामक कम्पनीले सगरमाथाको आधार शिविरदेखि क्याम्प वनसम्म गत वैशाखमा डीजेआईको फ्लाइकार्ट ३० को सफल उडान भर्यो । उडान मात्र नभएर आधार शिविरदेखि क्याम्प वनसम्म सामान लाने र क्याम्प वनदेखि आधार शिविरसम्म फोहोर ल्याउने काममा समेत यसले सफलता हात परेको छ ।
अहिले महर्जन कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को भूमिकामा छन् । फ्लाइकार्ट ३० ‘डी’ वर्गमा पर्ने हेभी लिफ्ट ड्रोन हो, अर्थात् गह्रौं सामानहरू ओसारपसार गर्ने ड्रोन ।
ब्याट्री नराख्दा सामान्यतः यस ड्रोनको तौल ४५ केजी हुन्छ । १०/१० केजी तौल भएका दुई ब्याट्री राख्दा यसको पूर्ण तौल ६५ केजी पुग्छ । एअरलिफ्ट टेक्नोलोजीले काठमाडौंमै प्रारम्भिक परीक्षण गर्दा यो ड्रोनले ३० केजीसम्मको तौल उठाउन सकेको थियो । त्यसो हुँदा भारसहित उडान भर्दा यस ड्रोनको कूल तौल ९५ केजी हाराहारी पुग्छ ।
यस ड्रोनमा ३८ हजार एमएएच क्षमताका दुई ओटा ब्याट्री छन् । तिनलाई साढे सात किलोवाटको फास्ट चार्जरले २० मिनेटमा फुल चार्ज गर्न सकिन्छ । अनि एकपटकको फुल चार्जपछि ड्रोनले २० किमिसम्मको रेञ्ज दिन्छ । तर यो अवस्था परिस्थिति अनुसार फरक फरक हुन सक्छ ।
यसमा फोरजी भिडिओ ट्रान्समिसन र डुअल अपरेटर मोडेल हुने भएकोले विपरीत दिशामा रहेका दुई जना ड्रोन पाइलटले पालोपालो उडाउन सक्छन् । तर, यस ड्रोनबाट अन्य ड्रोन जसरी फोटो/भिडिओ भने खिच्न मिल्दैन ।
अहिले यस ड्रोनलाई हिमालमा हुने फोहोर सङ्कलन गर्ने तथा त्यहाँ सामानहरू पुर्याउने माध्यमको रूपमा प्रयोग गर्न सकिन्छ कि भनेर परीक्षण गरेर हेरिएको छ । चिसो मौसम र हाई अल्टिच्युडमा काम गर्न सक्छ कि सक्दैन र सामानहरू कतिसम्म बोक्न सक्छ भन्ने कुरा त्यस क्रममा हेरिएको हो ।
यसको पछाडि खुम्बु पासाङल्हामु गाउँपालिका र एसपीसीसी (सगरमाथा प्रदूषण नियन्त्रण समिति) को भूमिका महत्त्वपूर्ण छ । उनीहरूको साथ पाएरै एयरलिफ्ट टेक्नोलोजीले काम थालेको थियो । जसलाई पूरा गर्न डीजेआईले पनि सहयोग उपलब्ध गराएको छ ।
यसअघि यत्तिको उचाईंमा कसैले पनि कुनै ड्रोनलाई काममा लगाएका थिएनन् । सगरमाथा आधार शिविर ५,३६४ मिटर र क्याम्प वन ६,०६५ मिटरको उचाईंमा अवस्थित छन् । जहाँ तापक्रम ऋणात्मकमा झर्ने गर्छ ।
यस्ता प्राकृतिक चुनौती त छँदै छन् । सँगसँगै अन्य प्राविधिक चुनौती पनि थिए । उदाहरणका लागि, ड्रोनको ब्याट्री चार्ज गर्न आधार शिविरमा विद्युत्को राम्रो व्यवस्था छैन । त्यहाँ बिजुलीको स्रोत भनेको जेनेरेटर हो । तर, त्यसलाई सञ्चालन गर्न आवश्यक पर्ने इन्धन भने तलैबाट बोकेर लानु पर्ने हुन्छ । जसको मूल्य त्यहाँ पुग्दा प्रति लिटर एक हजार रुपैयाँसम्म पर्न जान्छ ।
फोहोर सङ्कलनमा ड्रोन प्रयोग गर्ने सोच
यसबारे बुझ्न हामी सन् २०१५ तिर फर्कनु पर्ने हुन्छ । त्यतिखेर महर्जन भर्खरै आफ्नो एरोनटिकल इन्जिनियरिङ सकाएर चीनबाट फर्केका थिए । तर त्यही साल महाभूकम्प आयो । पहाडी क्षेत्रका सहरी मात्र नभएर विकट ठाउँतिर पनि भूकम्पले ठुलै क्षति पुर्यायो । ड्रोन प्रयोग गरेर ती ठाउँमा सहयोग पुर्याउन सकिन्छ कि भनेर महर्जनले एअरलिफ्ट अन्तर्गत अनुसन्धानको काम थाले ।
त्यस्तैमा नेपालमै बसेर ड्रोन सम्बन्धी काम गरिरहेका सुरज पौडेल पनि त्यसमा जोडिए । अहिले उनी कम्पनीको प्रमुख प्राविधिक अधिकृतको भूमिका छन् । यसपछि ड्रोनलाई लिएर अघि बढ्न उनीहरू झनै सक्रिय भए ।
त्यस समयमा हिमालमा भएको फोहोरको समस्या समाधान गर्न ड्रोन प्रयोग गर्न सकिन्छ भन्नेमा पनि उनीहरूको विश्वास थियो । त्यही कामलाई पूरा गर्न केही ड्रोन आफैंले पनि बनाइरहेका थिए । तर नेपालमा ड्रोन सम्बन्धी ऐन कानून बनिसकेका थिएनन् । उनीहरूकै भनाइमा त्यस बेला ड्रोन प्रयोग गर्नु करिब गैरकानूनी बराबर नै थियो ।
अनि नेपालमै ड्रोन उत्पादन गर्न भनेर विदेशबाट सामान ल्याउँदा अनेकन् समस्या भोग्नु पर्थ्यो । प्रशासनिक र आर्थिक दुवै खाले अप्ठ्यारा आइपर्थे । तर उनीहरू भने थाकेनन्, काममा निरन्तर तल्लिन रहे ।
त्यही सिलसिलामा उनीहरू खुम्बु पासाङल्हामु गाउँपालिकासँग जोडिन पुगे । गाउँपालिकाले लुक्लादेखि आधार शिविरसम्मको ट्रेललाई ३६० डिग्रीमा हेर्न मिल्ने गरी भर्चुल रूपमा उतार्न उनीहरूलाई काम दिएको थियो । उनीहरूले त्यसमा सफलता हात पारे । त्यसपछि गाउँपालिकासँग मिलेर हिमालको फोहोरमैला पनि ड्रोनबाट सङ्कलन गर्नेबारे उनिहरूको कुरा अघि बढ्यो । जुन उनीहरूले पहिल्यै सोचेका पनि थिए ।
सोचेकै क्षेत्रमा काम गर्न प्रस्ताव आएपछि उनीहरूले नाइँ भन्ने कुरा नै थिएन । त्यसपछि त्यहाँ उपयुक्त हुने ड्रोनको खोजीमा उनीहरू जुटे । उनीहरूले दक्षिण कोरिया, अमेरिका, युरोप र चीन सबै तिरका ड्रोन हेरे । ती मध्ये उनीहरूले फ्लाईकार्ट ३० रोजे । यो विकट ठाउँहरूमा सामान पुर्याउन उपयोगी हुने ड्रोन थियो । यो ड्रोन उनीहरूका लागि ढुङ्गा खोज्दा देउता भेटे जस्तो भएको थियो ।
त्यसपछि आफ्नो कामको योजनासहित उनीहरूले डीजेआईलाई प्रस्ताव पठाए । जब कि त्यस बखत डीजेआईले उक्त ड्रोनको घोषणा मात्र गरेको थियो । कम्पनीले अन्तर्राष्ट्रिय बजारमा सार्वजनिक भएपछि सहयोग गर्ने बताएको उनीहरू बताउँछन् । त्यसको केही समयपछि उक्त ड्रोन विश्वबजारमा सार्वजनिक पनि भयो ।
उनीहरूले डीजेआईलाई पुन: ईमेल गरे । यसपटक डीजेआई आफैंले उनीहरूको बारेमा एकसरो अध्ययन गर्यो । अनि सहकार्य गर्न सकिने करिब निश्चित भए पछि कुराकानी अघि बढ्यो ।
चीनबाट ड्रोनको नेपाल यात्रा
उनीहरूसँग डीजेआईकै म्याभिक थ्री इन्टरप्राइज ड्रोनहरू पनि थिए । म्यापिङको काम गर्न उनीहरूले ती ड्रोन मगाएका थिए । त्यस क्रममा भन्सारमा भोगेको झमेला उनीहरूले बिर्सिएका थिएनन् । यसैले यो हेभी ड्रोन ल्याउन उनीहरूले अर्को एक नेपाली कम्पनीसँग सहकार्य गरे ।
खासमा डीजेआईले उनीहरूलाई फ्लाईकार्ट ३० प्रायोजन गरेको ड्रोन हो । त्यसैले ड्रोन किन्नकै लागि उनीहरूले डीजेआईलाई पैसा तिर्नु भने परेन । विश्वबजारमा यो ड्रोनको मूल्य ४० देखि ५० हजार अमेरिकी डलर छ ।
नेपालमा भने अहिलेसम्म कसैले पनि यो ड्रोन खरिद गरेर भित्र्याइसकेको छैन । तर, खरिद गरेर ल्याउँदा यसको मूल्य भन्सार, बीमा, ल्याउँदाको खर्च र अन्य सरकारी कर गरी करिब एक करोड रुपैयाँ हाराहारी पर्नसक्ने अनुमान गर्न सकिन्छ ।
यसरी उनीहरूले नेपालमा ड्रोन ल्याउन सफल भए । अनि नागरिक उड्डयन प्राधिकरणमा दर्ता गर्ने, बीमा गर्ने लगायतका अन्य सरकारी निकायमा हुने कागजी काम पूरा गरे । सगरमाथा लानु अघि उनीहरूले पुल्चोक क्याम्पस, ललितपुरको मैदानमा परीक्षण यसलाई गरे । त्यहाँ ड्रोनले सामान पनि बोक्यो र राम्रैसँग काम गर्न सक्ने विश्वास दिलायो ।
सगरमाथामा ड्रोन
प्रारम्भिक परीक्षण सकेर महर्जनको कम्पनीको छ जनाको प्राविधिक टोली काठमाडौंबाट रामेछाप एयरपोर्टतिर हानियो । त्यहाँसम्म उनीहरू बसमा गए । त्यहाँबाट भने प्लेन चढेर उनीहरू लुक्ला एयरपोर्ट झरे । त्यसपछि ट्रेकिङ गरेर आधार शिविरसम्म गह्रुङ्गो ड्रोन बोकेरै लगे ।
त्यहाँ पुगेपछि पनि उनीहरूले थप कागजी काम गर्नु पर्यो । जे होस्, त्यहाँ पुगेर उनीहरूले पुन: एक पटक ड्रोनको प्रारम्भिक परीक्षण गरि हेरे । ड्रोनको ब्याट्रीले कति समय होभरिङ दिन्छ, कति लोड थेग्न सक्छ, जस्ता कुराहरूको परीक्षण गरे । त्यस परीक्षणमा ब्याट्रीले १८ मिनेटसम्मको उडान भर्यो । त्यो एक सकारात्मक सूचक थियो ।
त्यसपछि उनीहरूले ड्रोनको सिग्नल परीक्षणहरू गर्न थाले । डीजेआईले यसमा २० किलोमिटरसम्मको रेञ्ज रहेको बताएको छ । जुन एउटा निश्चित भूगोलका आधारमा निर्धारण गरिएको हुन्छ । तर सगरमाथा आधार शिविरमा भने जम्मा ३/४ किलोमिटरको मात्र सिग्नल ट्रान्समिसन पाए । पहाडी भूभाग भएकाले सिग्नल ट्रान्समिसनमा असर परेको थियो । तर, त्यो बेसक्याम्पबाट क्याम्प वनसम्मका लागि पर्याप्त थियो ।
यसरी उनीहरूले सगरमाथा क्षेत्रमा जम्मा भएको फोहोर ल्याउन गत १७ वैशाखदेखि ड्रोन प्रयोग गर्न सुरु गरे । त्यसक्रममा उनीहरूले आधार शिविरबाट क्याम्प वनसम्म अक्सिजन सिलिन्डर पुर्याए । क्याम्प वनमा रहेको फोहोर आधार शिविरसम्म ल्याए ।
उनीहरूले यो काम बिहानैदेखि थालेका थिए । तापक्रम चिसो हुने भएकाले उनीहरूका लागि त्यो चुनौतीपूर्ण थियो । अत्यन्त चिसो तापक्रमले गर्दा ब्याट्रीले आफ्नो वास्तविक क्षमता अनुसार काम गर्न सकिरहेको थिएन । चिसो मौसममा पनि काम गर्न सक्षम बनाउन ड्रोन आफैंले ब्याट्री तताउने फिचर राखेको छ ।
उनीहरूका अनुसार बिहानपखको तापक्रम -१ देखि ७/८ डिग्रीसम्मको थियो । दिउँसो १२/१३ डिग्रीसम्म पुग्थ्यो । तर, हावाको गति अर्को चुनौती थियो । त्यहाँ हावाको गति प्रति मिनेट १६ मिटर थियो । ड्रोनले प्रति मिनेट २० मिटर गति भएको हावामा पनि काम गर्न सक्ने डीजेआईले जनाएको छ । तर, त्यत्रो उचाईंमा त्यो हावाको गति बढी नै भएको उनीहरू बताउँछन् ।
यस्ता कठिन चुनौतीका बाबजुद उनीहरूले सगरमाथा क्षेत्रमा फ्लाईकार्ट ३० को परीक्षण सफल तरिकाले सम्पन्न गरे । यसले आगामी दिनमा सम्भावनाको नयाँ ढोका खुलेको छ ।
सगरमाथामा ड्रोनको भविष्य
आरोहण बाक्लिएसँगै हिमाल फोहोर हुँदै गइरहेको छ । जुन अहिलेको ठुलो चुनौतीको विषय पनि हो । त्यहाँको फोहोरलाई सजिलै तल ल्याउन सकिँदैन ।
हालै मात्र सगरमाथा क्षेत्रलाई सफा राख्न ‘पुपब्याक’को अवधारणा ल्याइएको छ । यसअन्तर्गत कुनै पनि आरोहीले शिखर चुमेर फर्कदा आफ्नो दिशा आफैं बोकेर ल्याउनु पर्छ । तर, उचाईंबाट शिविरसम्म फोहोर ल्याउनु चुनौतीपूर्ण हुने गर्छ । त्यति मात्र नभइ स्वास्थ्यलाई समेत त्यसले जोखिम पारिरहेको हुन्छ ।
अब आगामी दिनमा ड्रोनको तौल वहन गर्न सक्ने क्षमता, ब्याट्री क्षमता, सञ्चालन खर्च आदिमा सुधार गरेर सो कुराको समाधान गर्न सकिने एयरलिफ्टको विश्वास छ । यस कुराको पुष्टि हालैको परीक्षणले गरिसकेको उनीहरूको भनाइ छ ।
त्यस्तै आधार शिविरदेखि क्याम्पहरूमा सामान पुर्याउनु पनि ठुलो चुनौतीको रूपमा रहेको छ । बेलाबेला यस काममा खटिने शेर्पाहरूको ज्यान गइरहेको हुन्छ ।
अहिले खुम्बु आइसफलदेखि क्याम्प वनमा सामान पुर्याउन कम्तीमा छदेखि आठ घण्टा लाग्ने गर्छ । तर त्यसको दूरी भने करिब साढे दुई किलोमिटरमात्र छ । यसो हुँदा त्यो काम ड्रोनले पाँच/दश मिनेटमा गरिसक्छ । यसले समय बचत गर्ने मात्र नभइ थुप्रै व्यक्तिहरूको जीवन पनि बचाउन भूमिका खेल्ने उनीहरू बताउँछन् ।
सामान्यत: विदेशमा दुर्गम ठाउँतिरको विकास निर्माणका काममा फ्लाईकार्ट ३० को प्रयोग भइरहेको छ । नेपालमा भने हिमाल सफा गर्ने, त्यहाँ सामान ओसारपोसार गर्ने जस्ता काममा यस प्रकारको ड्रोन प्रयोग गर्न सकिने उनीहरू बताउँछन् ।
अब यी कामका लागि थप परीक्षण गर्नेसँगै यस प्रकारको ड्रोनको व्यावसायिक प्रयोग गर्न थाल्ने उनीहरूको योजना रहेको छ । यति मात्र नभई अहिले एयरलिफ्ट टेक्नोलोजीले यस्ता ठुला ड्रोन उडाउने जनशक्ति समेत तयार पार्ने काम थालेको छ । जुन विश्वबजारलाई हेरेर अगाडि बढाइएको उनीहरूको भनाई छ ।